
काठमाडौं। निक्षेपको ब्याजदरमा आएको गिरावटका कारण सेवाग्राही लक्षित कल्याणकारी कार्यक्रमहरू प्रभावित हुने सेनाले बताएको छ।
आइतबार जंगी अड्डामा भएको पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता गौरव कुमार केसीले कल्याणकारी कोषको मुख्य आम्दानी बैंकमा भएको निक्षेपको ब्याज भएकाले यसको दर घट्दा असर परेको बताएका छन्।
हाल सेनाको कल्याणकारी कोषमा ८७ अर्ब १ करोड रुपैयाँ छ। जसमा बैंक तथा वित्तीय सस्थाहरूमा मौज्दात रकम ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ छ। ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ भने विभिन्न आयोजनामा लगानी गरिएको छ।
कोषले सबैभन्दा धेरै नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा २ अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा १ अर्ब ६० करोड ६० लाख रुपैयाँ लगानी गरेको उनले जानकारी दिए।
सेनाको नगद मौज्दात २०८०/८१ मा ४ अर्ब ८५ करोड २७ लाख रुपैयाँले वृद्धि भएर ७५ अर्ब ९० करोड रुपैयाँ पुगेको थियो। ६ महिनामा नै ८७ अर्ब १ करोड पुगेको हो।
संयुक्त राष्ट्र संघमा नेपाली सेनाले भाग लिएर बापत आउने रकम नै कल्याणकारी कोषको मुख्य आय स्रोत हो। त्यस्तै, अर्को मुख्य स्रोत बैंक तथा वित्तीय संस्थामा भएको निक्षेपको ब्याज र विद्यालयहरूको शुल्क पनि हो।