ओडिसा विधानसभामा कालिंगा संस्थापकलाई पक्राउ गर्नुपर्ने माग, ‘न्यायिक जाँच नभए अनसन’

बिजमाण्डू
२०८१ फागुन ६ गते १५:१५ | Feb 18, 2025
ओडिसा विधानसभामा कालिंगा संस्थापकलाई पक्राउ गर्नुपर्ने माग, ‘न्यायिक जाँच नभए अनसन’
FILE PHOTO : PTI

भारतको ओडिसामा संचालित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछिका घटनाक्रम बारे त्यहाँको विधानसभामा प्रश्न उठेको छ।

Tata
GBIME
NLIC

विपक्षी सांसदहरुले घटनाबारे निष्पक्ष अनुसन्धानको माग गरेका छन्। केआईआईटीले नेपाली विद्यार्थीमाथि गरेको अत्याचारका कारण विश्वभर ओडिसाको बेइज्जत भएको भन्दै उनीहरुले सरकारसँग जवाफ मागेका छन्।

कांग्रेसबाट ओडिसा विधानसभा सांसद तारा प्रसाद बहिनिपतिले विश्वविद्यालयले नेपाली विद्यार्थीप्रति गरेको व्यवहार अनुचित भएको भन्दै न्यायिक छानबिनको माग गरेका छन्।

‘भगवान् जगन्नथानका कारण नेपाल र ओडिसाको सम्बन्ध छ। यो प्रकरणले विश्वमा नै ओडिसा लज्जित हुन पुगेको छ। यसबारे न्यायिक जाँच हुनुपर्छ। नत्र म अनसनमा बस्छु,’ उनले विधानसभामा भने।

विपक्षी दलका उपसचेतक प्रताप देवले पनि ओडिसि विश्वमा नकारात्मक तरिकाले प्रचार भइरहेको भन्दै विश्वविद्यालयको रवैयाको आलोचना गरे।

सत्तारुढ भारतीय जनता पार्टीका सांसद बाबु सिंहले केआईआईटीका संस्थापक अच्युत सामन्तालाई पक्राउ गर्नुपर्ने माग नै राखेका थिए।

‘केआईआईटीका कारण ओडिसा लज्जित हुन पुगेको छ। विदेशी देशका विद्यार्थी प्रति गरिएको व्यवहार निन्दनिय छ। यो केआईआईटीका अधिकारीहरुको निर्देशन बिना हुन सक्दैन। यो घटनामा केआईआईटीका संस्थापक अच्युत सामन्तलाई पक्राउ गर्नुपर्छ,’ उनले भने।

केही बिजेपी सांसदले भने अच्युत पहिला बीजेडीबाट लोकसभा सांसद रहिसकेको सम्झाउँदै विषयान्तर नगर्न सुझाएका थिए।

विद्यार्थीहरुले पनि अच्युत सामन्तले आफूहरुलाई आफ्नो सन्तान भन्ने गरेको तर लाचार बनाउँदै सडकमा छोडेको भन्दै उनको आलोचना गरिरहेका छन्।

नेपाली छात्रा प्रकृति लम्सालको होस्टेलमा भएको शंकास्पद मृत्यु पछि नेपाली विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए। त्यसपछि कलेज प्रशासनले सबै नेपाली विद्यार्थीलाई जबरजस्ती बसमा राखेर रेलवे स्टेसनमा अलपत्र छाडेको थियो।

नेपाल सरकारको कूटनीतिक प्रयास र सामाजिक संजालमा बढ्दो दबाबपछि विश्वविद्यालय आफ्नो निर्णयबाट पछि हटेको थियो।