दरबारमार्गमा बालेनको पौने ६ करोडको परियोजना, ग्रेनाइटमा हिँड्दा चिप्लिन्छ कि चिप्लिंदैन?

शुक्र गिरी
२०८१ फागुन १ गते २०:०९ | Feb 13, 2025
दरबारमार्गमा बालेनको पौने ६ करोडको परियोजना, ग्रेनाइटमा हिँड्दा चिप्लिन्छ कि चिप्लिंदैन?

काठमाडौं। केही दिनदेखि काठमाडौं महानगरपालिकाले दरबारमार्गमा राखेको ग्रेनाइटले सामाजिक सञ्जाल गर्माइरहेको छ। महानगरका मेयर बालेन साहमाथि आक्रोश पोख्नेदेखि सहानुभूति र समर्थन गर्नेको संख्या पनि उतिकै छ।

Tata
GBIME
NLIC

पक्ष र विपक्षमा किन बहस भइरहेको छ?

किनभने नेपालको फुटपाथमा पहिलो पटक ग्रेनाइट बिछ्याइएको हो। ग्रेनाइट यसअघि निजी घर र होटल लगायत क्षेत्रमा मात्रै राखिएको पृष्ठभूमिमा पहिलोपटक सार्वजनिक स्थलमा प्रयोग गरिएका कारण बहस भएको हो।

सर्वसाधारण हिंड्ने ठाउँमा चिल्लो ग्रेनाइट हालिएकाले पानी परेमा लडेर घाइते हुने कुरा पनि कतिपयले गरिरहेका छन्। फुटपाथमा राखिएको ग्रेनाइटमा चिप्लिएर लड्ने सम्भावना कति छ त ?

ग्रेनाइटको डिजाइनदेखि सबै प्रोजेक्ट हेरिरहेका इन्जिनियर सुरज शाक्य यसरी बिछ्याइएको ग्रेनाइटमा नचिप्लिने जिकिर गर्छन्। उनले अहिले दरबारमार्गको फुटपाथमा बिछ्याइएका ग्रेनाइट घरमा बिछ्याउने भन्दा विल्कुल फरक रहेको बताए।

‘हामीले यहाँ बिछ्याएको ग्रेनाइट विल्कुललै फरक छ। यो पानी पर्दा झन खस्रो हुने ग्रेनाइट हो,’ शाक्यले बिजमाण्डूसँग भने, ‘यसको सर्फेस खस्रो किसिमको छ। जसले गर्दा चिप्लिने प्रश्न नै उठ्दैन।’

शाक्यका अनुसार ग्रेनाइट भनेको सबैभन्दा हार्ड स्टोन हो। ‘यो हत्तपत खिईंदैन। जुन पानीले भिजेको बेलामा त झन् फ्रिक्सन हुन्छ,’ उनले भने, ‘फ्रिक्सन अर्थात घर्षणले ट्रयाक्सन अर्थात कर्षण प्रदान गर्छ जसले गर्दा चिप्लिन दिंदैन। यसले जुत्ता वा चप्पललाई समातेको जस्तो गर्छ। यो अन्य देशहरुमा सफल भइरहेको प्रोजेक्ट हो।’

लामो समय टिक्छ

शाक्यका अनुसार ग्रेनाइट अरुभन्दा टिकाउ हुन्छ। यसअघि बनाइएका फुटपाथको आयु दुईदेखि तीन वर्षभन्दा हुँदैन। आयु सकिएपछि मर्मत गर्नैपर्छ।

‘तर यो हामीले प्रयोग गरेको ग्रेनाइट २० देखि ३० वर्षसम्म पनि टिक्न सक्छ,’ उनले भने, ‘यसलाई मर्मत सम्भार गर्न पनि सजिलो छ। केहीगरी फुटेमा परिवर्तन गर्नुपर्छ। त्यसैले हामीले अहिले बिछ्याइएको ग्रेनाइटको १० प्रतिशत स्टकमा राखेका छौं। यसरी स्पेयरमा राख्नुको कारण भनेको पछि यही किसिमको ग्रेनाइट नपाउने समस्या हुनसक्छ। त्यही समस्यालाई एड्रेस गर्न स्पेयरमा राखेका हौं।’ 

उनका अनुसार होटल र पसल अगाडि भएकाले सजिलै सफा गर्न मिल्ने र हेर्दा आकर्षक हुने भएकाले ग्रेनाइट हालिएको हो। दरबारमार्गमा कुल १ हजार ८७७ वर्गमिटर ग्रेनाइट हालिनेछ। फुटपाथको लम्बाई ८०० मिटरको छ।

धेरै देशले प्रयोग गर्छन् ग्रेनाइट

धेरै देशले फुटपाथमा ग्रेनाइट प्रयोग गरेका छन्। बेलायत, पोर्चुगल, स्पेन, अमेरिका, पोल्यान्ड, जर्मनी लगायत देशका मुख्य सहरका फुटपाथमा ग्रेनाइट बिछ्याइएको छ। जसले सहरलाई प्रिमियम र लक्जरी बनाएको छ।

दरबारमार्ग लक्जरी र नेपालको प्रिमियम सहर भएकाले ग्रेनाइट राखिएको शाक्यले बताए। ‘यहाँ अहिले रहेका बिल्डिङ तथा घरहरु त्यही खालको भएकाले फुटपाथ पनि प्रिमियम देखाउन ग्रेनाइट हालिएको हो,’ उनले भने, ‘हामीले ठाउँको महत्व र आवश्यकता अनुसार पूर्वाधार निर्माण गर्दै गइरहेका छौं। पुरातात्विक क्षेत्रमा त्यस्तै संरचना निर्माण भएका छन्।’

शाक्यले फुटपाथ अपांगमैत्री हुनेगरी नबनाइएको स्वीकार गरे। ‘ह्विलचियरका लागि ठीक छ। तर अपांगता भएका कतिपयका लागि अनुकूल नहुन सक्छ,’ उनले भने।

कतिमा बन्दै छ प्रोजेक्ट?

दरबारमार्गमा ग्रेनाइट बिछ्याउने परियोजना कुल ५ करोड ७९ लाख रुपैयाँको हो। यसमा कुल डेढ करोड रुपैयाँ मात्रै ग्रेनाइट खरिदमा खर्च भएको छ। ग्रेनाइट भारतको राजस्थानबाट आयात गरिएको हो।

परियोजना अन्तर्गत बेस तयार पार्ने, ड्रेनेज बनाउने लगायत धेरै काम छन्।

सडकमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसभन्दा माथि ब्रिक सोलिङ गरिएको महानगरले जनाएको छ। त्यसभन्दा माथि ढलान र ग्रेनाइट बिछ्याइएको छ। ग्रेनाइट १६ एमएमसम्मको छ।

सार्वजनिक खरिद प्रक्रियाबाट यो कामका लागि सदाशिव इन्फ्रा प्रालिले ठेक्का पाएको हो। शाक्यका अनुसार चैतभित्र काम सक्ने योजना छ।