चिनी नबिकेर उद्योगीको गोदाममै, अग्रवाल भन्छन्- प्रति किलो ८० रुपैयाँमा बेच्न तयार छौं

बिजमाण्डू
२०८१ फागुन १ गते १८:०४ | Feb 13, 2025
चिनी नबिकेर उद्योगीको गोदाममै, अग्रवाल भन्छन्- प्रति किलो ८० रुपैयाँमा बेच्न तयार छौं


काठमाडौं। उद्योगीहरु चिनी प्रति किलो ८० रुपैयाँमा दिन तयार भएका छन्। बिक्री नभएर स्टक बढेपछि चिनी उद्योगीहरु मूल्य घटाउन तयार भएका हुन्।

Tata
GBIME
NLIC

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले सरकारी कम्पनीहरुलाई भ्याटसहित प्रति किलो ८० रुपैयाँमा बेच्न तयार रहेको बताए।

‘यतिबेला क्रसिङको समय छ।अझै करिब दुई महिना क्रसिङ चल्ने भएकोले उद्योगले उत्पादन गरेको चिनीको परिमाण यकिन छैन। तर बिक्री नभएर स्टक बढेको अवस्था छ,’ अग्रवालले भने, ‘चिनी खरिदका लागि सरकारी कम्पनी आए तुरुन्त दिन्छौं। हामी अहिले भ्याटसहित किलोको ८० रुपैयाँमै दिन्छौं।’

उद्योगीहरुले भारतबाट तस्करी भएर भित्रिएको चिनीका कारण आफ्नो उत्पादन स्टक बसेको बताएका छन्। ‘अहिले बजारमा खपत कम छ। त्यसमा पनि तस्करीको चिनीका कारण हाम्रो उत्पादन स्टक भएको हो,’ अग्रवालले भने।

चालु आर्थिक वर्ष २ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन हुने संघको अनुमान छ। गत वर्ष एक लाख ७८ हजार मेट्रिक टन उत्पादन भएको थियो। उद्योगीका अनुसार नेपालमा वार्षिक २ लाख ५० हजार टन चिनीको माग छ।

बजारमा अहिले चिनीको भाउ घटेको छ। केही महिनाअघि प्रति केजी ११५ रुपैयाँसम्म पुगेको चिनी उपभोक्ताले अहिले ९५ रुपैयाँमा पाइरहेका छन्।