
काठमाडौं। पोखरा र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा लिँदा आगामी अप्रिलदेखि यात्रुले सेवा शुल्कमा छुट पाउने छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउने भनिएका दुवै विमानस्थलले अपेक्षाकृत बिजनेस पाएका छैनन्। यात्रु आकर्षित भए वायुसेवा कम्पनीहरु पनि उडानका लागि आउने अपेक्षा गर्दै प्राधिकरणले प्रक्रिया अघि बढाएको हो।
यी दुई अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेवा लिने यात्रुका लागि सेवा शुल्क बापतको ३ हजार रुपैयाँ र पर्यटक सेवा शुल्क बापतको १ हजार रुपैयाँ छुट दिने तयारी रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। यसका लागि नेपाल वायुसेवामार्फत अन्तर्राष्ट्रिय हवाई यातायात संगठनमा पत्राचार थालिएको उनले जानकारी दिए।
दुवै विमानस्थलको बिजनेस बढाउन प्राधिकरणले यात्रु आकर्षित गर्न खोजेको हो। यो व्यवस्था लागू हुने विषयमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवालाई गत सोमबार पत्राचार गरिएको भुलले बताए।
‘हवाई टिकटमा यात्रु सेवा शुल्क छुट दिने निर्णय कार्यान्वयनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममार्फत आयटामा पत्राचार गर्नुपर्ने प्रावधान छ। आयटाले ग्लोबल डिस्ट्रिब्युसन सिस्टम (जीडीएस)मा अपडेट गरेपछि मात्र यात्रु सेवा शुल्क छुट हुने हो,’ उनले भने, ‘यसका लागि ६० दिन लाग्छ। हामीले निगमलाई प्रक्रिया सुरु गर्न पत्राचार गरेका छौँ।’
आयटामार्फत जीडीएसमा यो छुट समावेश भएसँगै दुई विमानस्थलबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले जारी गर्दै आएको टिकटमा पर्यटक शुल्क र यात्रु सेवा शुल्क पुर्ण रुपमा छुट हुने जानकारी उनले दिए।
उनका अनुसार आयटाले जीडीएस अपडेट गर्न आफूकहाँ पत्र प्राप्त भएको ४५ दिनको समयावधि लिनेछ। अर्थ मन्त्रालयले हवाई यात्रुका लागि लागू गरिएको १३ प्रतिशत भ्याट छुटको व्यवस्था कार्यन्वयनमा ल्याउन नसक्दा तत्काल यो छुट लागू गर्न नसकिएको उनले बताए।

साउन २८ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्ययोजनामा पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि प्रोत्साहन गर्न हवाई टिकटमा लागू गरिएको भ्याटबारे पुनरावलोकन गरिने उल्लेख छ। अर्थ मन्त्रालयले दुई विमानस्थलको हकमा मात्र भ्याट छुट दिन अस्वीकार गरेको हो।
अर्थले ऐन अनुसार सीमित विमानस्थलमा मात्र भ्याट छुट दिन नमिल्ने र छुट लागू गर्नका लागि ऐन नै संशोधन गर्नुपर्ने जनाउँदै आएको छ। मन्त्रिपरिषद्ले साउन २८ गते स्वीकृत गरेको कार्ययोजनामा पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा ३ हजार रुपैयाँ यात्रु सेवा शुल्क ७ दिनभित्र पूर्णरुपमा छुट दिने उल्लेख थियो। तर, मन्त्रिपरिषद्ले ७ दिन भनेको निर्णय गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ महिना लगाएको हो।
मन्त्रालयले माघ १० गते बल्ल हवाई टिकटमा यात्रु सेवा शुल्क छुट गर्ने निर्णय नेपाल राजपत्रमा प्रकाशित गरेको थियो। यतिखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान थालनी गर्न नेपालको तर्फबाट हिमालय एयरलाइन्स र चिनियाँ वायुसेवा सिचुवान एयरलाइन्सले गृहकार्य सुरु गरिसकेका छन्।
यता गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयर एसिया र जजिरा एयरवेजले नियमित व्यावसायिक उडान गर्दै आएका छन् भने फ्लाइ दुबई र नेपाल वायुसेवा निगमले ‘हप अन हप’ उडान गर्दै आएका छन। फ्लाइ दुबईले दुबई-भैरहवा-काठमाडौं उडान गर्दै आएको छ भने नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा-दुबई उडान गर्दै आएका छन्। छुटको व्यवस्था लागू भएसँगै दुवै विमानस्थलबाट सेवा लिने यात्रु वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ।