ओलीलाई झस्काउने सुब्रमण्यमको अभिव्यक्ति, ‘कम्युनिष्ट सरकार नफेरेसम्म नेपाल अगाडि बढ्न सक्दैन’

बिजमाण्डू
२०८१ फागुन २६ गते २०:२१ | Mar 10, 2025
ओलीलाई झस्काउने सुब्रमण्यमको अभिव्यक्ति, ‘कम्युनिष्ट सरकार नफेरेसम्म नेपाल अगाडि बढ्न सक्दैन’
डा. कृष्णमूर्ति भेन्कटा सुब्रमण्यम


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक र अनौपचारिक दुवै माध्यम प्रयोग गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रत्यक्ष भेट्न खोजेको धेरै भयो। तर, न ओलीले भारत भ्रमणको निम्तो पाएका छन्, न त टेलिफोन संवादको मौका नै।

Tata
GBIME
NLIC

कम्युनिष्टहरुमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले नेपाली कांग्रेसको ‘च्यानल’ समेत प्रयोग गरिरहेका छन् मोदीलाई भेट्न।

तर, ओलीका कारण मोदीले कांग्रेसका नेताहरुलाई समेत भेट गर्न अस्वीकार गर्दै आएका छन्। मोदीले भेटको समय नदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले महाकुम्भ मेलामा जाने तालिका अन्तिममा स्थगित गरेका थिए।

यस्तोमा मोदीका पूर्व आर्थिक सल्लाहकार डा. कृष्णमूर्ति भेन्कटा सुब्रमण्यमले नेपाल आएर त्यस्तै खालको सन्देश दिए। उनी आइतबार औपचारिक/अनौपचारिक कार्यक्रमहरुमा एउटा महत्वपूर्ण सन्देश दिएर सोमबार वासिङ्टन उडेका छन्।

नेपाल–भारत उद्योग वाणिज्य संघले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शमशेर राणाको सम्झनामा राखेको ‘प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर : लिडरसिप, भिजन एण्ड लेगेसी’ कार्यक्रममा सुब्रमण्यमले पुँजीवाद बिना सफलता हात नपर्ने मात्र बताएनन्, धार्मिक पुँजीवादको पनि प्रवर्धन गरे।

डा. कृष्णमूर्ति भेन्कटा सुब्रमण्यम

आइतबारको कार्यक्रम औपचारिक भएकाले उनले नेपालको शासन प्रणालीबारे सामान्य चर्चा मात्र गरे। उनले त्यहाँ मोदीको नीतिको वकालत मात्र गरेनन्, त्यसैबाट भारतले विश्व मानचित्रमा महत्वपूर्ण स्थान बनाएको समेत बताए।

उनले आइतबार अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पनि भेटेका थिए।

पौडेल र अधिकारीलाई उनले मोदीको पूर्व आर्थिक सल्लाहकारका रुपमा नभइ अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी निर्देशकको नाताले भेटेका थिए। 

गभर्नर महाप्रसाद अधिकारीसँग डा. कृष्णमूर्ति भेन्कटा सुब्रमण्यम

उनी वासिङ्टन उड्नुअघि सोमबार बिहान केही अनौपचारिक भेटघाटमा सहभागी भए। जहाँ उनी निक्कै खुलेर प्रस्तुत भए।उनले देशका प्रमुख ‘थिंक ट्यांक’ संस्थाका प्रमुख/प्रतिनिधिहरुलाई प्रष्टसँग भनिदिए- कम्युनिष्ट सरकार नफेरेसम्म नेपाल अगाडि बढ्न सक्दैन।

उनले यसो भन्न धेरै भूमिका बाँधेनन्। सामान्य जिज्ञासामै उनले खुलेर उत्तर दिए। भेटमा सहभागीहरुका अनुसार डा. सुब्रमण्यम न मोदीको पूर्व आर्थिक सल्लाहकारका रुपमा प्रस्तुत भए न त मुद्रा कोषको कार्यकारी निर्देशकका रुपमै। उनले आफूसँगको भेटमा सहभाहरुको जिज्ञासामा सहजै खुलेर जवाफ दिए।

‘नेपालमा मात्र होइन संसारमै कम्युनिष्टले शासन गरेको ठाउँमा कहाँ विकास भएको छ र ?’ उनको भनाइ उदृत गर्दै एक सहभागीले भने, ‘भारतमै पनि कम्युनिष्टले शासन गरेका राज्यहरुमा विकास भएको छैन।’

डा. सुब्रमण्यम अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ८/९ महिनामा अवकाश हुँदैछन्। त्यसपछि उनी पुन: भारतीय प्रधानमन्त्री मोदीको वरिष्ट आर्थिक सल्लाहकार हुने तयारीमा छन्। सम्भवत शक्तिकान्त दासपछि उनी रिजर्भ बैंक अफ इण्डियाको गभर्नर पनि बन्नेछन्।

भारतीय संस्थापन पक्षले ओली नेतृत्वको सरकारलाई नरुचाएका बेला मोदीका पूर्व सल्लाहकार र फेरि सल्लाहकार हुने तयारीमा रहेका सुब्रमण्यमको जवाफलाई भेटमा सहभागीहरुले अर्थपूर्णरुपमा लिएका छन्।

ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता दिन परराष्ट्रमन्त्री डा. आरजु राणालाई भारत पठाएकै बेला सुब्रमण्यमको जवाफलाई जानकारहरुले सरकारप्रति भारत अझै रुष्ट नै रहेको रुपमा अर्थ्याएका छन्।

सुब्रमण्यम प्रभाकर शम्शेर मेमोरियल लेक्चरको कि नोट वक्ताका रुपमा आए पनि मोदीकै शैलीमा धार्मिक पीठहरुमा पनि गए। उनले पशुपतिनाथ र बुढानीलकण्ठको दर्शन गरे। 

उनलाई सरकारका अन्य मन्त्रीहरुसँग पनि भेट गराउने तय थियो। तर, उनले धार्मिक पुँजीवाददेखि कम्युनिष्टबाट देश नचल्नेजस्ता कुरा गर्न थालिसकेका कारण आयोजक पनि केही हच्किए।

आयोजकहरु महत्वपूर्ण भेटघाटलाई कटौती गर्न तिर लागे। ओलीका आर्थिक सल्लाहकार रहेका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट्ने पूर्व निर्धारित तालिका स्थगितसमेत गरिएको थियो।

सुब्रमण्यमले औपचारिक कार्यक्रममा समावेशी विकास कठिन कार्य रहेको भन्दै भारतले पछिल्लो समयमा समावेशीरुपमा विकास हासिल गरेको उल्लेख गरे।

सही र उच्चतम नैतिकताका साथमा समग्र आर्थिक विकास गर्न सम्भव रहेको भनाइ राखेका उनले भारत पछिल्लो समय उच्चतम नैतिकताका साथ आर्थिक प्रगतितर्फ बढ्दै गरेको उनले बताएका थिए।