सामुन्द्रिक बीमादर १३ वर्षपछि हेरफेर गरिंदै, प्राधिकरणले निर्देशिका संशोधन गरेर नयाँ प्रडक्ट थप्ने

सुनिल कुँवर
२०८१ फागुन २८ गते ०६:२६ | Mar 12, 2025
सामुन्द्रिक बीमादर १३ वर्षपछि हेरफेर गरिंदै, प्राधिकरणले निर्देशिका संशोधन गरेर नयाँ प्रडक्ट थप्ने

काठमाडौं। नेपाल बीमा प्राधिकरणले १३ वर्षपछि सामुन्द्रिक बीमादर हेरफेर गर्न लागेको छ। प्राधिकरणले सामुन्द्रिक बीमादर हेरफेर गर्न नयाँ निर्देशिका जारी गर्ने तयारी गरेको छ।

Tata
GBIME

प्राधिकरणले अहिले निर्देशिकाको मस्यौदा तयार गरेर छलफल अघि बढाएको छ। ‘सामुन्द्रिक बीमादर समसामयिक बनाउन हामीले आन्तरिकरुपमा छलफल गरिरहेका छौं। मस्यौदा बनाएर त्यसमाथि छलफल भइरहेको छ,’ प्राधिकरणका एक अधिकृतले भने, ‘बीमकहरुको सुझाव पनि लिइरहेका छौं। इन्स्योरेन्सको दर घटाउने वा बढाउने विषयमा छलफल टुंगिएपछि मात्रै थाहा हुन्छ।’

प्राधिकरणले निर्देशन संशोधनका लागि निर्जीवन बीमकहरुसँग छलफल गरिरहेको छ। ढुवानी साधन प्रयोग गरेर मालसामान ओसारपसार गर्दा आइपर्न सक्ने जोखिमलाई कभर गर्न निर्जीवन बीमा कम्पनीहरुले सामुन्द्रिक बीमा गर्दै आएका छन्।

प्राधिकरणले यसअघि सामुन्द्रिक बीमादर सम्बन्धी निर्देशिका २०६५ जारी गरेकामा तीन वर्षपछि परिमार्जन गरेको थियो। अहिले सोही निर्देशिकाले तय गरेको दरमा इन्स्योरेन्स कम्पनीले पोलिसी बिक्री गरिरहेका छन्।

‘डेढ दशकअघि र अहिलेको जोखिमको प्रकृति र यातायातको प्याटर्नमा परिवर्तन आएको छ। त्यतिबेला लागू गरेका दरहरु अहिलेका लागि सुहाउँदो नहुन सक्छन्,’ प्राधिकरणका निर्देशक निर्मल अधिकारीले भने, ‘त्यसैले निर्देशिका समसामयिक बनाउन प्राधिकरणले रि-राइटको काम गरिरहेको छ। ढुवानीको तरिका र सामग्रीहरु फेरिएका छन्। तिनीहरुलाई थप गरेर लागू गर्नुपर्ने परिस्थिति आएको छ।’

इन्स्योरेन्स कम्पनीहरुले अहिले सामुन्द्रिक बीमाअन्तर्गत हवाई र स्थलमार्गबाट ढुवानी गरिने सामग्रीको इन्स्योरेन्स गर्दै आएका छन्।

प्राधिकरणका अधिकारीहरुले निर्देशिका संशोधनपछि निर्जीवन बीमा कम्पनीहरुका लागि व्यावसायिक दायरा फराकिलो हुनेछ भने अहिले बीमाको दायरा बाहिर रहेको सामग्री ओसारपसार पनि इन्स्योरेन्समा समेटिनेछ। 

जनावरकै ढुवानीको विषय अहिलेको निर्देशिकाले समेटेको छैन, जुन जोखिमयुक्त काम हो। यस्ता जोखिमहरुलाई समेत समेटेर बीमादर तय हुने भनिएको छ।

निर्देशिका संशोधनमार्फत बीमादरसँगै नयाँ प्रडक्टलाई समेट्ने तयारी रहेको प्राधिकरणका कर्मचारी बताउँछन्।

बीमकहरुले नयाँ निर्देशिकामा इन्स्योरेन्सको कभरेजको दायरा बढाउन चाहेका छन्।

‘मुख्य भनेको कभरेजको विषय हो। कुन-कुन समेट्ने भन्ने कुरा निर्देशिकाले गाइड गर्छ। त्यसैले बद्लिंदो परिस्थितिमा यसको दायरा बढाउनुको विकल्प छैन,’ प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले भने, ‘बीमाको कभरेजका विषयमा भएका अस्पष्टता हटाउनुपर्छ। इन्स्योरेन्सले जोखिम लिइसकेपछि त्यसलाई बहन गर्न सक्ने गरी बीमादर पनि तय हुनुपर्छ। बीमादरलाई समसामयिक बनाउनुपर्ने छ।’

निर्देशिकाले सामानको जोखिम अनुसार ढुवानीको फरक-फरक बीमादर तय गरेको छ।

प्राधिकरणका अनुसार चालु वर्ष ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले सामुन्द्रिक बीमाबापत संकलन गरेको प्रिमियमको ४४.२० प्रतिशत दाबी भुक्तानी गरेका छन्।

कम्पनीहरुलाई यस प्रडक्टमा दाबीको तुलनामा भुक्तानी कम पर्ने भएकाले व्यावसायिकरुपमा सहज रहेको बीमकहरु बताउँछन्। प्रिमियमको तुलनामा दाबी भुक्तानी कम भएकाले कम्पनीहरुका लागि सामुन्द्रिक बीमा आकर्षक व्यवसाय मानिन्छ। बीमादर बढाउँदा त्यसको लाभ इन्स्योरेन्स कम्पनीहरुलाई हुनेछ।

इन्स्योरेन्सहरुले यो वर्ष ७ महिनामा सामुन्द्रिक बीमा पोलिसी बिक्री गरेर १ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ प्रिमियम आर्जन गरेका छन्। सामुन्द्रिक बीमाको हिस्सा निर्जीवन बीमा व्यवसायमा ५.८७ प्रतिशत छ।

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३१ प्रतिशत, सम्पत्ति बीमाको हिस्सा २५.५६ प्रतिशत हिस्सा र इन्जिनियरिङ तथा ठेकेदार इन्स्योरेन्सको हिस्सा १४ प्रतिशत छ।

कम्पनीहरुले ७ महिनामा कुल २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। इन्स्योरेन्सहरुले यो वर्ष माघसम्म २ लाख २१ हजार ४०३ वटा सामुन्द्रिक बीमा लेख जारी गरेका छन्।