ग्यास सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको घट्नामा राज्यको संवेदनहीनता, छैन अनुसन्धान

सविन ढकाल
२०८१ माघ २९ गते १२:५० | Feb 11, 2025
ग्यास सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको घट्नामा राज्यको संवेदनहीनता, छैन अनुसन्धान


काठमाडौं। ‘हामी पुग्दा प्रहरीले घटनास्थल ‘कभर’ गरिसकेको थियो। त्यसैले त्यहाँभित्र छिर्न दिएन,’ माघ २४ गते बिहान करिब ११ बजेतिर कमलपोखरीको शानदार मःम सेन्टरमा अनुगमनका लागि पुगेका नेपाल आयल निगमका कर्मचारी जगदीश यादवले सुनाए।

Tata
GBIME
NLIC

प्रहरीले घटनाको मुचुल्का उठाउन घटनास्थललाई ‘कभर’ गरेर त्यहाँबाट प्रमाण संकलन गर्छ। जसका लागि क्राइम सिन हेर्ने छुट्टै प्रहरी खटिएका हुन्छन्। घटना अनुसार प्रहरीको परिचालन फरक फरक प्रकृतिको हुन्छ।

बिहीबारको घटनामा प्रहरी वृत्त मालीगाँउबाट प्रहरी निरीक्षक सुवास तिमिल्सिना खटिएका थिए। उनैको टोलीले घाइतेको उद्धारका साथै मुचुल्का तयार पार्‍यो। आयल निगमबाट पुगेको टोली घटनास्थलमा प्रवेश गर्न पाएन।

‘हामीले त्यसपछि मःम सेन्टरका सञ्चालकसँग कुराकानी गर्न खोज्यौं। तर उनले कुरा गर्न चाहेनन्,’ निगमका कर्मचारी यादवले बिजमाण्डूसँग भने।

अनुगमनका लागि पुगेको टोली रित्तो हात फर्कियो। यसको रिपोर्टिङ निगमका कर्मचारीले कार्यकारी निर्देशक डा. चण्डिका भट्टलाई गराए।

भट्टले यो मुद्दालाई राम्रोसँग हेर्नु भन्ने जवाफ दिए। तर, गम्भीररुपमा लिएनन्। घटना सेलाएसँगै निगमले वास्ता गर्न छोड्यो। ग्यास सिलिण्डरमा कुनै कैफियत थियो कि भन्नेमा निगमले चासो दिएन। किनभने घट्नामा पर्नेहरु सामान्य नागरिक थिए। उनीहरुको बारेमा कसैले बोलेन। राजनीतिक दलका नेता आ आफ्नै फण्डामा व्यस्त रहे। सरकारका अरु निकायले पनि चासो दिएनन्।

ग्यास खरिदको आदेश दिने निगम मात्र होइन, सिलिण्डरको गुणस्तर जाँच गर्ने नेपाल गुणस्तर तथा नापतौल विभागले पनि घट्नालाई सामान्य रुपमा लियो।

विभागकी महानिर्देशक कुमारी ज्योति जोशी(भट्ट)ले पनि घट्नाको बारेमा जानकारी भएको र आफ्ना निर्देशक प्रभात सिंहलाई सोध्न भनिन्। सिंहले सिलिण्डर विष्फोटको बारेमा जानकारी भएपनि छानबिन भने नभएको बताए।

‘मलाई त केही पनि थाहा छैन। हामीले कुनै छानबिन गरेका छैनौं। बरु त्यो सिलिण्डर कहाँ छ?,’ उनले प्रश्न गर्दै भने, ‘कहाँ रहेछ बरु जानकारी दिनुस् न। म यहाँ महानिर्देशकज्यूसँग छलफल गरेर केही गरौंला।’

यति संवेदनशील विषयलाई राज्यका निकायले सामान्यरुपमा लिएको यसले पनि पुष्टी गर्छ।

सिलिण्डर विस्फोटमा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा भीमबहादुर घले र रविन राईको मृत्यु भएको हो।

अहिलेसम्म विस्फोटको कारण खुल्न सकेको छैन। प्रहरी वृत्त मालीगाउँले अनुसन्धान गरिरहेको भनेको छ। वृत्तका डीएसपी सुनिलजंग शाहले घटनाको मुचुल्का उठाइ ग्यास सिलिण्डर जाँच गर्न पठाएको बताए।

सिलिण्डर जाँच गर्न प्रहरीले कहाँ पठायो? जबकि नेपाल गुणस्तर तथा नापतौल विभागका जिम्मेवार अधिकारीले नै सिलिण्डर कहाँ छ भनेर प्रश्न गरेका छन्।

‘प्रारम्भिकरुपमा हेर्दा ग्यास लिक भएर दुर्घटना भएको देखिएको छ। थप रिपोर्ट गुणस्तरबाट आउँछ,’ डीएसपी शाहले भने।

प्रहरीका अनुसार घटनास्थलमा दुई कम्पनी ओम र सीताको ग्यास भेटिएको छ।

दुई कामदारको मृत्युमा जिम्मेवार को? राज्यका सबै निकाय उदासीन देखिएका छन्।

यस्तो छ छानबिन गर्ने विभाग प्रमुखको जवाफ

कतै ग्यास सिलिण्डरमा नै गडबडी त थिएन? यसको छानबिन गर्नुपर्न होइन? गर्नुपर्ने भए कसले गर्ने? भन्ने प्रश्न हामीले नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक जोशीलाई गर्‍यौं।

‘मलाई भन्दा हाम्रो प्रवक्तालाई धेरै थाहा होला। आज होइन भोलि हाम्रो अर्को कार्यक्रम छ। पर्सीतिर आएर बुझ्नु होला म नम्बर दिन्छु,’ उनले जवाफ दिइन्। त्यसपछि प्रवक्ता सिंहलाई फोन गरेर सोध्यौं।

‘कमलपोखरीको घटनाको सिलिन्डर विस्फोटको बारेमा अनुसन्धान जाँच केही भएको छ?,’ उनले आफैं हामीसँग प्रश्न गरे। यो प्रश्नले नै उनी अनविज्ञ रहेको देखियो।

‘हामीले त केही गरेका छैनौं नि,’ उनले भने।

फेरि प्रतिप्रश्न गरियो।

दुईजनाको मृत्युको कुरा छ। के सिलिन्डरको गुणस्तर जाँच तपाइँहरूले गर्ने होइन?

त्यसपछि उनी अलिक गम्भीर जस्तो देखिए। ‘यसमा छलफल गर्नुपर्छ। त्यो सिलिन्डरचाहिँ कहाँ रहेछ? उनले उल्टै प्रश्न गरे।

अनुगमन र छानबिन गर्नुपर्ने निकायका अधिकारीलाई घटनाले कत्ति पनि छोएको देखिएन। जबकि घटनामा १४ जना घाइते भएका थिए।