दरबारमार्ग बिर्साउने उपत्यकाका यी ६ बजार, अरु पनि थपिने लयमै

नेत्र तामाङ
२०८१ माघ २८ गते ०९:११ | Feb 10, 2025
दरबारमार्ग बिर्साउने उपत्यकाका यी ६ बजार, अरु पनि थपिने लयमै

काठमाडौं। बौद्धका श्याम लामा शेर्पा सेवा केन्द्र नजिकैको द बेस्ट नोभेम्बर जिन्स पसलमा गर्मीको कपडा छान्दै थिए। ‘बीस वर्षअघि असन पुगेर नयाँ कपडा किनिन्थ्यो। अहिले रोजीछाडी बौद्धमै भनेजस्तो पाइन्छ,’ लामा भन्दै थिए।

Tata
GBIME
NLIC

बौद्ध स्तुपभित्र २० वर्ष यता थाङ्कादेखि सिङ्गिङ बावल पसल चलाइरहेका कर्मा लामा पछिल्लो आधा दशकमा बौद्ध क्षेत्रमा फेन्सी पसल ह्वात्तै बढेको बताउँछन्। ‘सडक अगाडि रेडिमेड पसल छ्याप्पै आएका छन्। धेरै भएको छैन। ग्राउन्ड फ्लोरका रेस्टुराँ रुफटपतिर चढेका छन्,’ उनले सुनाए।

पहिलेदेखि नै पर्यटक र तिब्बतीका लक्षित महँगा सामग्री उपलब्ध हुने बौद्धमा पछिल्लोपटक ‘मास’ लक्षित ब्रान्डहरू अधिकांश उपलब्ध छन्। पछिल्ला चर्चित ब्रान्ड एक्स्टेप होस् या चिनो, नयाँ-पुराना ब्रान्डेड आउटलेट छन् यस क्षेत्रमा।

बौद्ध कम्बो सामानको हब बन्न थालेको ७ वर्ष पुगेको बताउँछन् बौद्ध व्यापार संघका अध्यक्ष केदार कटुवाल। ‘कुनै बेला जुनसुकैखाले पनि रेडिमेड सामानका लागि जाने ठाउँ न्युरोड थियो। तर, अहिले बौद्ध आफैंमा विकल्प बनिसकेको छ,’ उनले भने।

बौद्ध शेर्पा गुम्बा नजिकैको केल्मी स्टोर।

बौद्धका स्थानीय पेमा मोक्तानका अनुसार धार्मिक पर्यटन, थाङ्का व्यापार, सिङ्गिङ बावलदेखि क्युरियो सामानका कारण बौद्ध पुरानै बजार हो। पर्यटकका कारण स्तरीय रेस्टुराँ पनि यहाँ पहिलेदेखि नै जमेका थिए। पछिल्लो समय जेन जी पुस्ताको जंक्सन भएको छ यस क्षेत्र, उनीहरूलाई आकर्षित गरेको छ लाफिङ र किमा नुडल्सले।

‘लाफिङ खाना यतै आउँछन्। बौद्ध धर्मावलाम्बीको तीर्थस्थल, त्यसमाथि पशुपति पनि नजिकै,’ मोक्तानले भने।

भाटभटेनी वा बिग मार्ट जस्ता ब्रान्ड भित्रनुअघि नै बौद्धमा जिमिनीजस्ता स्तरीय ग्रसरी स्थापित भइसकेका थिए। काठमाडौंको ठमेलपछि पर्यटकका लागि खानपिनका लागि यो ठाउँ विशेष भएको छ अहिले। बौद्ध स्तुपलाई पूरै वृत्ताकार रुपमा घेरेका घर क्युरियोदेखि रेस्टुराँसम्मले भरिन्छ अहिले। धेरै ठाउँको व्यापार धानेको आन्तरिक पर्यटकले नै हो।

बौद्ध स्तुपाभित्रको एक पसल।

पछि स्तुपा अस्पतालदेखि भाटभटेनी, केएफसी र पिज्जाहट सहितका ब्रान्ड थपिँदा बौद्ध व्यापारिक हब बन्दै गयो। परम्परागत तिब्बतीदेखि कन्टिनेन्टल स्वाद लिन चाहनेका लागि बलियो गन्तब्य बनिरहेको छ बौद्ध अहिले। बाक्लो बस्ती, पर्यटकीय क्षेत्र, मूर्तिदेखि थाङ्कासम्मको व्यापारले यस ठाउँ सदाबहार बिजनेस हब भएको उनीहरू बताउँछन्।

हामीले बौद्ध बजारमा ग्राहकको फ्लो बढिरहेको देख्दा राजधानीको दरबारमार्ग क्षेत्र भने सुनसान थियो।

दरबारमार्गको एउटा महत्त्वपूर्ण एट्रेक्सन शेर्पा मल ‘रिनोभेसन’को तयारीमा थियो। त्यहाँका पसलेहरू आफ्नो आउटलेटका लागि नयाँ ठाउँको खोज्न व्यस्त देखिन्थे। कुनै बेलाको पाँचतारे होटल डे ला अन्नपूर्ण रहेको ठाउँमा नयाँ ब्रान्डसहित मल्टिप्लेक्स, सपिङ सेन्टर र पाँचतारे होटल बन्ने योजना छ। अहिले करिब-करिब खण्डहर छ यो क्षेत्र।

दरबारमार्ग क्षेत्रको बजार र सडक

ब्रान्डेड लिक्वेर, क्युरियो सामानदेखि ब्रान्डेड जुत्ता, पोसाक र स्तरीय रेस्टुराँ रहेको यस क्षेत्रको बजारमा मोबाइल, सुन-हिरा सहितका पसल, अत्तरका विभिन्न ब्रान्डले ठाउँ बनाए पनि तिनमा किन्न आउने पातलै देखियो।

सडक छेउको पार्किङ हटाएसँगै यस क्षेत्रले ग्राहक गुमाउन थाल्यो। त्यसमाथि महानगरले थालेको सडक पेटी निर्माण पूरा नभइसकेकाले यसको पुरानो वैभव फर्किन सकेको छैन।

‘ब्रान्डेड आउटलेट भएर के गर्नु? व्यापार पूरै सुस्ताएको छ,’ दरबारमार्गका एक व्यापारीले भने, ‘पार्किङ छैन। यहाँबाट अफिसहरू सर्नेक्रम बढेसँगै ग्राहकको फ्लो पनि घट्दो छ।’

बिजमान्डूको टिम यहाँ पुग्दा पसल वरपर मानिसहरू त देखिए तर तीमध्ये अधिकांश सेल्सपर्सन र सेक्युरिटी गार्ड थिए।

गुलजार बन्दै कुमारीपाटी

साँझपख कुमारीपाटीस्थित एन्टाको शो रुममा जुत्ता छान्दै थिए धापाखेलका सुरेन्द्र कार्की। पहिले त उनी सपिङका लागि दरबारमार्ग धाउने गर्थे। स्केचरदेखि एन्टासम्मका ब्रान्ड यतै देखेपछि उनका लागि विकल्प मिल्यो।

जावलाखेलदेखि लगनखेलसम्म फैलिएको बजारमा बीचमा पर्छ कुमारीपाटी जसले धेरै पहिलेदेखि लत्ताकपडाको परम्परागत बजारमाथि हस्तक्षेप गर्‍यो।

‘म लामो समयपछि भर्खरै क्यानडाबाट फर्केको। पहिले किनमेल गर्न दरबारमार्ग जान्थेँ। यसपटक यतै बजार ठूलो भइसकेछ,’ उनले सहरमा फेरिएको बजारबारे भने।

जावलाखेलदेखि पाटन अस्पताल पुग्दासम्म यस क्षेत्रमा फाइनान्सदेखि बैंकसम्म, कलेजदेखि स्कुलसम्म, बाइक शोरुमदेखि फर्निचरसम्म, कन्सल्टेन्सीदेखि पेट्रोल पम्पसम्म सबै अटेका छन्।

काठमाडौं महानगरपालिकाको पार्किङप्रति जति अनुदार चरित्र छ, ठीक विपरीत त्यत्तिकै उदारता देखाएको छ ललितपुर महानगरले। त्यसमाथि ‘रिजनेबल मूल्य’ले धेरैको रोजाइमा यस क्षेत्र परेको कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको भनाइ छ। यद्यपि, यहाँको बजार चम्काउन निक्कै संघर्ष गर्नुपरेको शाक्यले सुनाए।

‘२०७१ सालमा कुमारीपाटीमा जावलाखेल महोत्सव भयो। करिब ६ लाख मानिस आइपुगेका थिए। त्यसबेलादेखि यो ठाउँ चिनिन थाल्यो,’ उनले भने, ‘एडिडास, एन्टाजस्ता ब्रान्ड आएकै १० वर्ष बढी भयो। अरु नयाँ ब्रान्ड पनि आउन थालेको ५ वर्ष भयो।’

त्यसो त १९ वर्षअघि क्लोदिङ स्टोर यूएफओ आएसँगै मध्यम र उच्च मध्यम वर्गीय ग्राहक कुमारीपाटीतिर तानिन थालेका थिए। अहिले यहाँ नपाइने केही छैन – नुनदेखि सुनसम्म सबै मिल्छ। वित्तीय संस्था हुन् या चर्चित कलेज, सबै गरि ४८० वटा संस्था कुमारीपाटी जावलाखेल व्यापार संघमा आबद्ध छन्।

कुनै बेलाको काठमाडौंको दरबारमार्ग झैं बन्ने लक्ष्य लिएको छ यस ठाउँले। दरबारमार्ग बिर्साउने बजारमात्र होइन, ठमेलमा झैं युवाहरूलाई लक्षित गरेर डिस्कोथेकसमेत राख्ने तयारीमा छ संघ।

‘अब ठमेल शैलीमा डिस्कोथेकको पनि योजना बन्दैछ। मंगलबजार टुरिजम रुट, सानेपा होटल क्षेत्र भएसँगै यस क्षेत्रले दरबारमार्ग बिर्साउनेछ,’ अध्यक्ष शाक्यले भने, ‘पार्किङ छ। सुरक्षा छ। स्थानीय सरकारको पूर्ण सहयोग छ। अस्पताल छ। लगनखेल झम्सिखेलदेखि लबिम मलजस्ता क्षेत्रले पनि यो क्षेत्र बुम हुन सघाएको छ।’

धमाधम बजार विस्तार हुँदै राधेराधे थिमि

कुनै बेलाको दरबारमार्ग र न्युरोड बिर्साउने गरि भक्तपुरको राधेराधे र थिमि क्षेत्रमा बजार बढ्दो छ। चार वर्षअघि भाटभटेनीको आउटलेट पुगेसँगै राधेराधे क्षेत्र गुलजार हुन थालेको हो। बजारको सम्भावना देखेसँगै २ वर्षअघि केल्मीको शोरुम खुल्यो भाटभटेनीको ठीक अगाडि। अरु ब्रान्ड पनि लगातार थपिइरहे यहाँ।

पढ्नुस : भाटभटेनीको जगसँगै उभिएको सहरको कथा : जहाँ चार/पाँच वर्षमै भयो कायापलट

‘दुई वर्ष भयो केल्मीको शोरुम खुलेको। यहाँ हामी नै फस्ट आएको। अहिले त एक्स्टेप इरकीदेखि धेरैजसो ब्रान्ड आएको छ,’ केल्मीका म्यानेजर कमला श्रेष्ठले भनिन्।

यहाँका ग्राहक सिन्धुपाल्चोक, काभ्रेदेखि भक्तपुरका स्थानीयसम्म हुन्। यस क्षेत्रम लगातार बस्ती बढ्दो छ। त्यसले व्यापार पनि उकालो लाग्दै छ।

अरबिका कफीदेखि बैंक तथा वित्तीय संस्था थपिएका छन्। सवारीसाधनका शोरुमले ६ लेनको सडकको शोभा बढाएको छ। बजार बढ्नेक्रमसँगै थिमिसँगै जोडिन पुगेको छ।

कोभिड-१९ पछि बयारी लाँ बजारमा फेन्सी पसल बढेको स्टाइल गिभ्स यु द बेस्ट फेन्सी पसलका संचालक बालगोपाल श्रेष्ठले बताए।

‘बयारी लाँ बजारलाई फलामे पुल बजार पनि भन्छन्। पहिले कोटेश्वर बानेश्वर हुँदै असन पुग्थे सपिङका लागि। अहिले यताकै बजारमा अडेका छन्,’ श्रेष्ठले भने।

दक्षिणबाराही मार्ग पुरानो बजार हो। बयारी लाँ क्षेत्रमा १० वर्षयता बजार बस्न थालेको हो। हनुमन्ते पुल खुलेपछि बस्ती बढेसँगै थिमि र राधेराधे एकै बजार हुन लागेको छ। यस क्षेत्रमा गोल्डस्टारले पनि भर्खरै आफ्नो आउटलेट लैजाँदै रहेछ।

पेप्सीकोला सनसिटी चोकमा फैलँदै बजार

पेप्सीकोला चोकैमा मदरल्यान्ड अस्पताल अगाडि छ कमला गिरीको तरकारी तथा फलफूल पसल। २० वर्षअघिबाट सडकमा तरकारी पसल सुरु गरेकी उनी ८ वर्षयता सटरमा सरेकी रहिछन्।

‘बस्ती बढेपछि सडक सफा र फराकिलो भयो। मैले पनि पसल बढाएँ,’ गिरीले भनिन्। अहिले कमलाको पसलमा थोक सामानदेखि फलफूलसम्म पाइन्छ।

बैंकका लागि थापाथली, कपडा किन्न असन-इन्द्रचोक अनि तरकारी लिन कालीमाटी पुग्ने कमला अचेल सबै यतै पाइने बताउँछिन्।

पेप्सीकोला चोकमा कमला गिरीको थोक पसल।

‘अहिले सबै वरपर नै पाइन्छ कहीँ जानै पर्दैन,’ उनले भनिन्। पछिल्लो ६ वर्षयता यस क्षेत्र निकै सफा र हराभरा हुँदै आएको उनले बताइन्। फेन्सी स्टोरदेखि खुद्रा पसल हुँदै रेस्टुराँको लर्को छ यस क्षेत्रमा। टायल-मार्बलका गोदामदेखि स्यानिटरी फिटिङ्सका ब्रान्डेड आउटलेटले यस क्षेत्र झकिझकाउ छ।

टाउन प्लानिङ, सनसिटी अपार्टमेन्टका कारण पनि यहाँ बजार फैलिएको स्थानीय बताउँछन्। पछिल्लो ५ वर्षयता पेप्सीकोलादेखि सनसिटी चोक क्षेत्रमा फेन्सी पसल बढेका छन्। अझ वर्ष दिनमा मात्रै २० वटा फेन्सी पसल थपिएको टाउन प्लानिङका स्थानीय विकु लामा बताउँछन्।

सनसिटीको आडैमा क्यालिबर सुजको आउटलेट सुरु भएको दुई वर्ष भयो। यस क्षेत्रमा विभिन्न कार्यालय रहेको र तिनै कार्यालयका कर्मचारी ग्राहकका रुपमा आफूले पाएको क्यालिबरकी सेल्सगर्ल संगीता थापामगरले बताइन्।

सनसिटी चोकको बजार क्षेत्र

‘दुई वर्ष भयो शोरुम खुलेको। अफिसका मानिसहरू धेरै आउँछन्,’ संगीताले भनिन्।

भक्तपुरको दिव्यश्वरी प्लानिङ चिटिक्क भएसँगै पेप्सीकोला सनसिटी क्षेत्रको बजार विस्तार भएको छ। दिव्यश्वरी टाउन प्लानिङमा खुलेका रेस्टुराँले खानपान संस्कृतिमा ठमेल र झम्सिखेललाई बिर्साउने हैसियत राख्ने भएका छन्।

पढ्नुस : साँझ गुल्जार हुने पेप्सीपारिको नयाँ सहर‚ जहाँ कुनै बेला मनोहराको भेलले बनाइदिन्थ्यो बगर

सडकले तन्काउँदै इमाडोलको बजार

पूर्वी-दक्षिण ललितपुर र दक्षिण-पश्चिम भक्तपुरलाई काठमाडौंका मुख्य बजार जोड्ने नाका हो इमाडोल। ग्वार्को चोकदेखि पुरानो गाविससम्मै विस्तारित बजार अहिले सानागाउँको भाटभटेनीसम्मै फैलिएको छ।

स्थानीय राजीव पाण्डे सबैभन्दा ठूलो बजार इमाडोललाई नै मान्छन्। ग्वार्कोबाट सुरु हुने बजार पुरानो गाविस भवनसम्म पुग्दा सुन पसलदेखि चेन रेस्टुराँसम्म अटेका छन्। डेढ किलोमिटरमा सडकको वारपार फैलिएको बजार १० वर्षयता फैलिएको हो।

यही वर्षमात्र यस क्षेत्रमा ३० वटा फेन्सी पसल थपिएको दाबी पाण्डेले गरे। ‘सटर भाँडा निकै महँगो छ। तै पनि यहाँभित्र वर्ष दिनमा ३० वटा फेन्सी पसल थपिए,’ उनले भने।

नगरपालिका भएयता सडक विस्तार भएसँगै बाङ्क्वेट, बर्गर हाउस लगायतका चेन रेस्टुराँ यस क्षेत्रमा थपिएका छन्। नगरपालिका भएपछि राष्ट्रियस्तरका सबै बैंकका शाखा, रिकन्डिसनदेखि फर्निचरकासम्म पाइन थालेको छ।

पढ्नुस : एक दशकमा इमाडोलले फेरेको रुप, लामाटारको पाखासम्म घरैघरै

बस्ती बढेका कारण यहाँको बजार राम्रो हुँदै आएको १० वर्षयता महालक्ष्मीस्थान-४ मा पसल गर्दै आएका सोम्फे लामाले बताए।

टिनका टहरोबाट सानदार मलको युगमा प्रवेश गर्दै सामाखुसी

१८ वर्षअघिबाट समाखुसी चोकमा आरजी फेन्सी चलाइरहेका घनश्याम आचार्य अहिले समाखुसी बजार फैलिएको बताउँछन्।

‘टिनको टहरोबाट मल ठडिएको छ। पाँच वर्षयता पसल ह्वात्तै बढेका छन्। तर बाटो अझै राम्रो छैन,’ सिटी स्क्वेर मलतिर औल्याउँदै आचार्यले भने।

क्यूएफएक्स सहित सामाखुसीमा सिटी स्क्वेर मल आंशिक रुपमा संचालनमा आएको वर्ष दिन भयो। यससँगै यहाँ चिनो आउटलेट, केएफसी, पिजाहट, बास्किन रोबिन, केलमी, क्यालिबर जस्ता आउटलेट पुगे। यस क्षेत्र वरपर सुनचाँदी पसल प्रशस्तै छन्।

डेन्टल अस्पताल र ल्याङ्ग्वेज सेन्टरका बोर्ड छ्यास्छ्यास्ती देखिन्छन्। अन्यत्र जस्तै यस क्षेत्रमा फैलिएको व्यापार हो फेन्सी कपडाको।

सामाखुसीबाट गल्कोपाखातिर जाने सडकमा उसैगरी फेन्सी पसल थपिएका छन्। सामाखुसीमा बेस्ट कलेक्सन संचालनमा आएको १८ महिना पूरा भयो। दुई वटा सटरमा फैलिएको यस पसलमा ग्राहकको फ्लो बढ्न थालेको संचालक राजेश राई बताउँछन्।

‘हामीले पसल खोलेको १८ महिना भयो। व्यापार राम्रो छ,’ राईले भने।

बसपार्क, रानीबारी मार्ग, गोंगबु क्षेत्र भने सडकका कारण अझै फैलिन सकेको छैन। बरु सामाखुशीदेखि टोखतिर भने बजार तीव्र गतिमा विस्तार भएको छ।

पढ्नुस : नयाँ बसपार्क खुलेपछि बनेको सहर, नेपाललाई काठमाडौंसँग जोड्ने गोंगबुको कथा

६ वटा बजारमा नअडिने संकेत

माथि उल्लेख भएका प्रमुख ६ व्यापारिक थालो उपत्यकाका सबैभन्दा बढी विस्तार भएका २० बजारबाट छानिएका हुन्। तर, तन्किरहेको सहरी बसोबास अब यी क्षेत्रमा मात्रै सीमित हुने देखिँदैन।

ब्रान्डेड कम्पनीहरूले आक्रामक रुपमा विस्तार गरिरहेको आउटलेट हेर्दा कपन, महाराजगन्ज, हात्तीगौंडा, गोल्फूटार, बुढानीलकण्ठ, स्युचाटार, सीतापाइला, कलंकी, कीर्तिपुर, भैसेंपाटी, थेचो, सातदोबाटो, थली, जोरपाटी, बोडेजस्ता बजार निकट भविष्यमा माथि उल्लेख ६ वटा बजारकै हैसियतमा जाने सम्भावना देखिन्छ।

यी सबै क्षेत्रमा बस्ती विस्तार यति तीव्र गतिमा भइरहेका छन् कि त्यसले थप बजार विस्तारलाई सघाउने देखिन्छ।

कुनै बेला रिल्याक्सका लागि दरबारमार्ग झर्नेहरू धेरै मानिस बुढानीलकण्ठमै रोकिन थालेको बताउँछन् नेपाल मूल्यांकन समाजका अध्यक्ष भुवन बज्राचार्य। यद्यपि, पछिल्लो बजार विस्तारलाई मार्केटको नयाँ स्ट्राटेजीका रुपमा लिन्छन् उनी।

‘अहिले उत्पादक कम्पनी डोर टु डोर सर्भिसमा पनि छन्। अनलाइन बिजनेस, राइडर कम्पनीका कारण अब भौतिक बजारमै ओइरिनुपर्छ भन्ने छैन। अर्को कुरा मार्केट सेन्टर बढेका छन्,’ बज्राचार्यले भने, ‘दरबारमार्गको सवालमा यही लागू हुन्छ। पार्किङकै कारण बजार सुक्यो भन्ने कुरा आंशिकमात्र सत्य हो।’

पढ्नुस : रिङरोड पारिको पहिलो सहर बुढानीलकण्ठ, कसरी बन्यो भीआइपीको रोज्जाको भेग?

दरबारमार्गमा दैनिक प्रयोग हुने सामान नभएकोले पनि भीड कम भएको तर्क बज्राचार्यले गरे। ‘ग्रोसरी छैन त्यहाँ। इलेक्ट्रिक सामान पनि छैन,’ उनले भने, ‘ब्रान्डेड सामान, हाइ भ्यालु प्रडक्ट खोज्नेहरू त्यहाँ जाने भए। त्यसखाले ग्राहकको संख्या थोरै हुन्छ। असन इन्द्रचोकको मार्केटको सब्सिट्युट दरबारमार्ग कहिल्यै हुन सक्दैन। किनकि तिनका लक्षित ग्राहक फरक छन्।’

उसो त दरबारमार्ग पछिल्लो पटक रिनोभेसनको क्रममा छ। शेर्पा मल रिनोभेट हुँदैछ। होटल अन्नपूर्ण भएको ठाउँमा भाटभटेनी आउँदैछ।

जहाँजहाँ भाटभेटनीको आउटलेट खुलेको छ त्यहाँत्यहाँ नयाँ बजार विस्तार भएका छन्। चाहे त्यो भक्तपुरको राधेराधे होस् या ललितपुरको सानागाउँ बजार, सहर विस्तारमा भाटभाटेनीको इन्ट्री मुख्य आधार बनेको देखिन्छ। अब ठूलो लगानीको मल्टिप्लेक्ससहित भाटभटेनी दरबारमार्गमा आउने तयारी हुँदैछ।

दरबारमार्गको फुटपाथमा सुस्ताउँदै एक गलैंचा व्यापारी।

कारोबारमा नमिठोगरी मन्दीको सिकार भइरहेको इलिट क्लास लक्षित दरबारमार्ग फेरि बाउन्स ब्याक हुन् भाटभटेनीकै पर्खाइ त हुने होइन? यो भने प्रतीक्षाको विषय बनेको छ।