रारामा हेलिप्याडसहितको लक्जरी रिसोर्टको निर्माण अर्को सातादेखि सुरु हुने, डेढ अर्ब लगानीमा यस्तो बन्नेछ

वसन्तराज उप्रेती
२०८१ माघ २४ गते ०६:१३ | Feb 6, 2025
रारामा हेलिप्याडसहितको लक्जरी रिसोर्टको निर्माण अर्को सातादेखि सुरु हुने, डेढ अर्ब लगानीमा यस्तो बन्नेछ


काठमाडौं। डेढ अर्ब रुपैयाँ लागतमा रारामा हेलिप्याडसहितको लक्जरी रिसोर्टको निर्माण अर्को सातादेखि सुरु हुने भएको छ। कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट ‘रारा रिसोर्ट’को शिलान्यास आगामी साता हुन लागेको हो।

Tata
GBIME
NLIC

दुई वर्षभित्र निर्माण पूरा गरेर संचालनमा ल्याउने योजनासहित निर्माण सुरु गर्न लागिएको रारा होल्डिङ्सका अध्यक्ष अभिषेकविक्रम शाहले बताए। उनका अनुसार रारा तालबाट मुर्माटपसम्म २ किलोमिटर दूरीमा रिसोर्टले मोनोरेलसहितको सेवा दिने योजनाको डिजाइन छ।

‘यो रिसोर्ट रारा क्षेत्रकै पहिलो पाँचतारे स्तरको लक्जरियस रिसोर्ट हुनेछ। रारा भ्रमणमा आउने पर्यटक धेरै छन्। गन्तव्य आकर्षक भए पनि विशेष किसिमको बसोबास खानपिनका लागि स्तरीय रिसोर्टको अभाव छ,’ उनले भने, ‘त्यही अभावलाई सम्बोधन गर्ने उद्देश्यले रारा रिसोर्ट संचालनमा ल्याउन लागिएको हो।’

काठमाडौंमा धमाधाम नयाँ होटल निर्माण हुँदै संचालनमा आइरहेका बेला कम्पनीले रारामा उल्लेख्य लगानीमा स्तरीय रिसोर्ट संचालनको योजना अघि बढाएको हो। नेपाल घुम्ने आन्तरिक र बाह्य पर्यटकलाई भ्रमणका लागि रारा रिसोर्टले विशेष विकल्प दिने उनले बताए।

पर्यटकलाई धार्मिक, साहसिक, आध्यात्मिक गतिविधि अन्तर्गतको सेवा दिने उद्देश्य रहेकाले रिसोर्ट त्यही अनुसारको डिजाइनमा निर्माण गरिने उनले जानकारी दिए।

‘राम्रै लक्जरी हो, यो अफोर्डेबल पनि हुन्छ। हामी न्यूनतम बजेटमा नेपाली सबै घुमुन् भन्ने उद्देश्य लिएका छौं,’ उनले भने, ‘पर्यटकहरूले सक्दो धेरै समय रारामा व्यतीत गरुन् भन्ने हिसाबले वास्तविक प्राकृतिक पर्यटन प्रवर्धन गर्न लागेका हौं।’

कुल ६० कोठा क्षमता रहने रिसोर्टले पहिलो चरणमा ४० कोठा क्षमतामा संचालनमा ल्याउने योजना रहेको उनले बताए। हालको डिजाइनअनुसार रिसोर्टमा एउटा सुइट, ४ डिलक्स र बाँकी ३५ वटा स्टाण्डर्ड रुम हुनेछन्।

कुल ८० रोपनी क्षेत्रफलमा निर्माण हुने रिसोर्टमा पहिलो चरणमा १२ वटा भिल्ला तयार गर्ने योजना छ। रिसोर्टमा १०० जना क्षमताको रेष्टुरेण्ट, स्पा, हेलिप्याड लगायत सुविधा हुनेछ।

‘डिजाइन तयार भइसकेको छ। रिसोर्टको डिजाइन सेलले गरेको हो। रिसोर्टमा हुने भिल्लाहरू मुगुका प्राचीन बस्तीको अवधारणामा तयार गरिने छन्,’ उनले भने।

हालको डिजाइनअनुसार पूर्वाधार तयार भएपछि राराताल घुम्न आउने पर्यटकले स्तरीय आतिथ्य पाउने उनले बताए।

‘हामीले रिसोर्टको बाह्य संरचना र आन्तरिक डिजाइनमा मुगुको मौलिक संस्कृति समावेश गरेका छौं। भविष्यमा विकास हुँदै जाँदा यस प्रकारको संरचना देख्न पाइने सम्भावना छ,’ उनले भने, ‘त्यहीअनुसार हामीले ढुंगा लगायत निर्माण सामाग्री यहीँकै प्रयोग गर्नेछौं।’

उनका अनुसार काठमाडौंबाट आउने पर्यटकसँगै नेपाल हुँदै मानसरोवर जाने पर्यटकलाई केन्द्रित गर्दै रिसोर्ट संचालनमा ल्याउन लागिएको हो। यो सुरुवातले डोल्पा, हुम्ला, जुम्ला लगायत गन्तव्य जोड्न विशेष टेवा पुग्ने उनले बताए। रारामा भएको छायानाथ मन्दिरमार्फत धार्मिक पर्यटन प्रवर्धन गर्ने पनि उद्देश्य छ।

सेवा सुरु भएसँगै रारालाई स्टपओभर बनाएर विभिन्न गन्तव्य प्रवर्धन हुने हालको डिजाइनमा छ।

‘यहाँ हाइ इण्ड रिसोर्ट संचालनमा ल्याउनु एक किसिमले जोखिम हो। तर हामीले गरेको सुरुवातले पछि अरु रिसोर्ट पनि थपिँदै गर्दा यहाँको थप पर्यटन प्रवर्धन हुनुका साथै अर्थतन्त्रमा विशेष टेवा पुग्ने आशा लिएका छौं,’ उनले भने, ‘हामीलाई पहिलो हुँदा फाइदा र बेफाइदा दुवै छ।’

मष्ठो संस्कृति अनुसारको इन्टेरियर

रिसोर्टको आन्तरिक डिजाइन मष्ठो संस्कृति अनुसार तयार गरिएको उनले जानकारी दिए।

‘हामीले इन्टेरियरमा स्थानीय डिजाइन समावेश गरेका छौं। माटोले लिपेका भित्ता, काठको रफ स्ट्रक्चरलाई प्रतिबिम्बित गरेका छौं,’ उनले भने, ‘जसमार्फत पर्यटकले यहाँको पहिचान पनि अनुभव गर्न सक्नुहुन्छ।’

७ महिना अगाडि आयोजित लगानी सम्मेलनमा भएको सम्झौताअनुसार रिसोर्टको शिलान्यास हुन लागेको हो। यो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपको लगानी छ। एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङस् प्रालिका अध्यक्ष अभिषेकविक्रम शाहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

मुगुको छायाँनाथ रारा नगरपालिका-९ मुर्माटपमा निर्माण गर्न लागिएको रिसोर्टको शिलान्यास वन तथा वातावारणमन्त्री ऐनबहादुर शाही र पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीमार्फत गरिने तयारी रहेको उनले जानकारी दिए।

समुद्र सतहदेखि ३ हजार ७०० मिटर उचाइमा निर्माण हुने रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको दृश्य देखिनुका आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिने जनाइएको छ।