साना कम्पनीको सेयर कारोबार गराउन नेप्सेले अघि बढायो प्रक्रिया, इन्डेक्स अहिलेकै कि अलग्गै ?

बिजमाण्डू
२०८१ माघ १६ गते १८:१४ | Jan 29, 2025
साना कम्पनीको सेयर कारोबार गराउन नेप्सेले अघि बढायो प्रक्रिया, इन्डेक्स अहिलेकै कि अलग्गै ?


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ।

Tata
GBIME
NLIC

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नियमावली कार्यान्वयनका लागि पत्र पठाएपछि नेप्सेले प्रक्रिया अघि बढाएको हो। नेप्सेको व्यवस्थापनले एसएमईको धितोपत्र कारोबार सञ्चालन गर्ने प्रस्ताव सञ्चालक समितिमा पेस गर्न लागेको छ।

‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली कार्यान्वयनका लागि सेबोनको पत्रपछि नेप्सेले आवश्यक प्रक्रिया अघि बढाएको छ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने।

नेप्से बोर्डले एसएमईको कारोबार सञ्चालनका लागि दुई/तीन विकल्पमाथि छलफल गर्ने भएको छ। एसएमईलाई नेप्सेको अहिलेकै इन्डेक्समा उपसमूह बनाएर राख्ने वा छुट्टै प्रणालीमा कारोबार गराउनेबारे अध्ययन गरेर निर्णय गर्नेछ।

सेबोनले यसअघि एसएमई कम्पनीका लागि छुट्टै प्लेटफर्म बनाएर कारोबार सञ्चालन गर्ने आशयसहित नियमावलीको मस्यौदा तयार गरेको थियो।

तर, नेप्सेमा एउटा उपसमूह थपेर कारोबार गराउने गरी नियमावली आएकाले सोही प्रक्रिया अनुसार कार्यान्वयन गर्न सकिने नेेप्सेका अधिकारीको भनाइ छ।

गत पुसमा मन्त्रिपरिषद्‍बाट स्वीकृत नियमावली सेबोनले माघ पहिलो साता जारी गरेर कार्यान्वयनका लागि नेप्से र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरेको थियो।

नियमावलीले सेयर कारोबार गराउन चाहने एसएमईका लागि अधिकतम चुक्ता पुँजी २५ करोड रुपैयाँ तोकेको छ। बजार र कम्पनीको अवस्था हेरेर कम्पनीको चुक्ता पुँजीको सीमा हेरफेर गर्न सकिन्छ। यसका लागि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ।

कम्पनीहरूले जारी पुँजीको न्यूनतम ३० देखि अधिकतम ४९ प्रतिशतसम्म आइपीओ निष्कासन गर्न सक्नेछन्। रेटिङ नगरी आइपीओ निष्कासन गर्न सक्ने सहुलियत उनीहरूलाई नियमावलीले दिएको छ। सेबोनले समस्या देखेमा कम्पनीलाई रेटिङ गर्न निर्देशन दिन सक्नेछ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम ५०० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ। सर्वसाधारणमा आइपीओ बिक्री गर्नुअघि ५ प्रतिशत मर्चेन्ट बैंकर र १५ प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

मर्चेन्ट बैंकर र संस्थागत लगानीकर्ताका लागि ३ वर्ष लकइन अवधि तोकिएको छ।

नियमावली जारी भएसँगै अब थोरै पुँजी भएका कम्पनीलाई व्यवसाय बढाउन प्रोत्साहन पुग्ने सेबोनको बुझाइ छ। एसएमईले प्रिमियम मूल्यमा पनि आइपीओ जारी गर्न सक्नेछन्। त्यसका लागि पछिल्लो ३ वर्ष लगातार नाफामा गएको तथा चुक्ता पुँजीभन्दा प्रति सेयर नेटवर्थ बढी भएको हुनुपर्नेछ।

प्रिमियममा आइपीओ निष्कासन गर्ने कम्पनीले प्रति सेयर नेटवर्थको २ गुणासम्म मूल्य तोक्न सकिने नियमावलीमा उल्लेख छ। नेप्सेमा अहिले २६७ कम्पनी सूचीकृत रहेकामा उनीहरुको सेयर कारोबार १३ वटा उपसमूहमा हुने गरेको छ।