दुई पाङ्ग्रेका ठुला उत्पादक पनि इभीतिर, होन्डाले एक्टिभा ल्याउँदा सुजुकीको एक्सेस

बिजमाण्डू
२०८१ माघ १२ गते ०६:०२ | Jan 25, 2025
दुई पाङ्ग्रेका ठुला उत्पादक पनि इभीतिर, होन्डाले एक्टिभा ल्याउँदा सुजुकीको एक्सेस


काठमाडौं। संसारभर गाडी निर्माताको ध्यान विद्युतीय मोडल विकासमा परेका बेला मोटरसाइकल र स्कुटर उत्पादकहरु के गर्दैछन्? उनीहरुलाई यो लहरले छोएको छैन? अवश्य पनि छोएको छ। नयाँ नयाँ कम्पनीहरुले इलेक्ट्रिक स्कुटर र बाइक लिएर बजारमा आफ्नो उपस्थिति देखाइरहेका बेला स्थापित पुराना कम्पनी पनि उत्पादनलाई इभीमा शिफ्ट गर्दैछन्।

Tata
GBIME
NLIC

भारतको नयाँ दिल्लीमा गत बुधबार सम्पन्न साताव्यापी सवारी मेला भारत मोबिलिटी एक्स्पोमा सवारी निर्माताले देखाएको उपस्थितिले पुराना ठुला कम्पनीहरु इभीतर्फ आकर्षित भएको पुष्टि गरेको छ। दुई पाङ्ग्रे बिक्री गर्ने होन्डा, बजाज, सुजुकी, हिरो र टीभीएस जस्ता बिग ब्रान्डहरुले एक्स्पोमा आफ्ना नयाँ इलेक्ट्रिक स्कुटरहरु प्रदर्शन गरेका छन्।

नेपाली बजारमा पनि ती कम्पनी विद्युतीय दुई पाङ्ग्रेहरू छिटै ल्याउने योजनामा देखिएका छन्। जसमा टीभीएसले यस अघि नै आफ्नो इभी ल्याएको थियो। तर, कम्पनीले अपेक्षाअनुसार उक्त स्कुटरको बजार बढाउन सकेन। अब हिरो, सुजुकी र होन्डाले पनि इभी स्कुटर ल्याएका छन्। यसले दुई पाङ्ग्रेमा विद्युतीय संस्करणको बजार प्रतिस्पर्धा बढ्ने देखिन्छ।

एक्स्पोमा होन्डाले एक्टिभालाई इलेक्ट्रिक भर्सनमा ल्याएको छ भने सुजुकीले एक्सेस इभी स्कुटर बजारमा उतारेको छ। यस्तै हिरोको भिडा इलेक्ट्रिक स्कुटर पनि बजारमा आएको छ। अहिले नेपाली बजारमा चिनियाँ ब्रान्डका स्कुटरहरु धेरै छन्। त्यसमा पनि बिलकुल नयाँ ब्रान्ड छन्। स्थापित पुराना ब्रान्डले इलेक्ट्रिक स्कुटर ल्याउन थाल्नुले दुई पाङ्ग्रे इभी बजार पनि बढ्ने संकेत गरेको छ।

सुजुकीको पहिलो इलेक्ट्रिक स्कुटर- ई-एक्सेस

सुजुकीको एक्सेस इलेक्ट्रिक स्कुटर भारत मोबिलीटी एक्स्पोमा सार्वजनिक भएको छ। यो सुजुकीको पहिलो इलेट्रिक स्कुटर हो। पेट्रोल भर्सनको एक्सेस १२५ स्कुटरलाई इलेक्ट्रिकमा ल्याइएको हो।

यसमा भएको ३.०७ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्रीले फुल चार्जमा ९५ किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा ३ वटा राइडिङ मोड इको, राइड ‘ए’ र राइड ‘बी’हरु छन्। यसमा २४० वाटको चार्जरले ब्याट्री चार्ज गर्न मिल्छ। यसले ०-८० प्रतिशत चार्ज गर्न साढे ४ घन्टाको समय लाग्छ। तर शून्यबाट १०० प्रतिशत पुर्‍याउन ६ घन्टा ४२ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ।

यो स्कुटरमा ४.१ किलोवाट क्षमताको मोटर पावरले १५ एनएम टर्क उत्पादन गर्छ। साथै यसको टप स्पिड ७१ किलोमिटर प्रतिघन्टाको छ भने १२ इन्च ह्वील्स उपलब्ध छन्। यसमा हेडलाइट र टेल ल्याम्प एलईडीमा छन्। जुन पेट्रोल भर्सनमा भन्दा फरक देखिन्छ।

यो स्कुटरको सिट ७६५ एमएम उचाइको छ भने ग्राउन्ड क्लियरेन्स १६५ एमएमको छ। पेट्रोल भर्सनभन्दा यो १८ केजी बढी वजनको छ। जसको वजन १२२ केजी छ।

होन्डा एक्टिभा-ई

होन्डाले पनि आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ल्याएको छ। कम्पनीले भारत मोबिलिटी एक्स्पोमा कम्पनीले आफ्नो स्कुटरमा निकै मन पराइएको मोडल एक्टिभाको विद्युतीय संस्करण राखेको हो। यो स्कुटर पनि नेपाली बजारमा छिट्टै आउने अनुमान गरिएको छ। प्राय भारतमा सार्वजनिक भएमा सबै गाडीहरु नेपाली बजारमा १ देखि २ महिनाको अन्तरालमा आउने गर्छन्।

भारतमा यसको मूल्य १ लाख १७ हजार भारु तोकिएको छ। यसमा ६ किलोवाट क्षमताको मोटर पावर छ भने ३ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसमा भएको ब्याट्रीले फुल चार्ज रेन्ज १०२ किलोमिटर दिन्छ।

यो स्कुटर दुई स्वापिङ गर्न मिल्ने ब्याट्री प्याकमा उपलब्ध हुनेछ। कम्पनीले यसका लागि स्वापिङ सिस्टम पनि तयार पारेको छ।

यसको टप स्पिड ८० किलोमिटर प्रतिघन्टाको छ। ०-६० किलोमिटर प्रति घन्टा पुग्न ७.३ सेकेन्डको मात्रै समय लाग्छ। यसमा तीन इको, स्ट्यान्डर्ड र स्पोर्ट राइडिङ मोडहरु प्रदान गरिएको छ।

यो ५ वटा कलर विकल्पमा उपलब्ध छ। साथै स्कुटर नै दुई भेरियन्टमा आएको छ। यसमा डिजिटल डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट, र अन्य सुविधाहरू छन्। यस्तै अर्को क्युसी-१ पनि सार्वजनिक भएको छ। यसमा पनि एक्टिभामा जस्तै फिचर र पावरट्रेन प्रदान गरिएको छ।

टीभीएस आईक्युबको नयाँ एसटी २०२५ कन्सेप्ट

यसको आईक्युब इलेक्ट्रिक स्कुटर नेपालमा पनि उपलब्ध छ। तर, भारत मोबिलिटी एक्स्पोमा यसको नयाँ मोडलको कन्सेप्ट देखाइएको छ। कम्पनीले आईक्युब एसटी २०२५ कन्सेप्ट देखाएको हो।

यो नयाँ स्कुटर अहिलेभन्दा धेरै अपडेटेड भएर आउने देखिन्छ। यसको हेडलाइट र स्क्रिन पहिलेको भन्दा फरक रुपमा आउने छ। यो आईक्युबको प्रिमियम भेरियन्टका रुपमा बजारमा आउने कम्पनीले जनाएको छ। यसको उत्पादन लगभग तयारी अवस्था छ।

हिरोको भिडा जेड

भारतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी हिरोले पनि आफ्नो पहिलो इभी भिडा स्कुटर ल्याएको छ। कम्पनीले गत वर्ष नै यसको भिडा-१ इलेक्ट्रिक स्कुटरको उत्पादन अवधारणा देखाएको थियो। यसको बिक्री समेत भइरहेको छ। यो स्कुटर नेपाली आउने तयारीमा पनि छ।

यस्तै भिडा भीटु पनि सार्वजनिक भइसकेको छ। यसमा भएको ब्याट्रीले फुल चार्जमा १६५ किलोमिटरको रेन्ज प्रदान गर्छ भने ६ किलोवाट क्षमताको मोटर पावर उपलब्ध छ।

तर यो वर्ष भएको भारत मोबिलिटी एक्स्पोमा भने भिडा जेड इलेक्ट्रिक स्कुटर देखाएको छ। जुन पारिवारिक स्कुटरका रुपमा बजारमा आउनेछ। स्कुटर जापनामा भएको इक्मामा सार्वजनिक गरिएको थियो।

यसमा दुई २.२ र ४.४ किलोवाट आवर(युनिट) को ब्याट्री प्याक उपलब्ध छ।

बजाजको चेतक ३५ सिरिज इलेक्ट्रिक

बजाजको चेतक यसको पहिलो इलेक्ट्रिक स्कुटर हो। जुन नेपालमा पनि टेस्टिङ फेजमा छ। यसैको नयाँ ३५ सिरिजलाई भारत मोबिलिटी एक्स्पोमा पनि राखिएको थियो।

यो स्कुटरमा चेतकको सबै लाइनअपमा भन्दा टप स्पेक उपलब्ध छ। साथै धेरै फिचर लोडेड भएकाले पनि यो स्कुटर केही महंगो नै छ। यसको मूल्य भारतमा भारु १ लाख २७ हजार रुपैयाँ तोकिएको छ।

यसमा टीएफटी टचस्क्रिन सेटअप छ जसमा नेभिगेसन, कल र म्युजिक कन्ट्रोल गर्न स्मार्टफोन कनेक्टिभिटी फिचर प्रदान गरिएको छ। यसमा डिस्क र ड्रम ब्रेक राखिएको छ। यसको अहिले ५ वटा कलर विकल्प रहेका छन्।

यो स्कुटरमा भएको ३.५ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा १५३ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।