
सन् २०१४ मा स्थापना भए पनि एक्सपेंग मोटर्सको न्यूयोर्क स्टक एक्सचेन्जदेखि हङकङ स्टक एक्सचेन्जसम्म कारोबार हुन्छ। चीनको यो विद्युतीय कार निर्माता कम्पनी अमेरिकाको क्यालिफोर्नियादेखि जर्मनीको म्युनिखसम्म फिँजिएको छ – व्यावसायिक हिसाबले। यसपाला हामी यही कम्पनीले उत्पादन गरेको एक्सपेंगको ‘जी सिक्स’को टेस्ट ड्राइभमा छौं।
पछिल्लो समय एयर डायनामिक्सलाई ख्याल गरेर कुनै कार डिजाइन भइरहेको छ भने, त्यो इभी हुन्छ भन्नेमा दुईमत छैन। जी सिक्स त्यस्तै लुक्समा तयार भएको विलासी वर्गको कार हो जसमा अनगिन्ति सुविधा उपलब्ध छन्। टेस्ट ड्राइभका क्रममा यसमा उपलब्ध भएका एक तिहाई फिचरमात्रै हामीले प्रयोगमा ल्यायौं। धेरै फिचरको त परीक्षण गर्न समेत भ्याइएन एकै दिनमा टेस्ट ड्राइभ सकेकाले।
१९० किलोवाट क्षमताको मोटर भएका कारण यसले लिने रफ्तार कस्तो होला? स्पोर्ट मोडमा कुदाउने हो भने ७ सेकेन्ड नपुग्दै शून्यदेखि सय किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्न सक्छ यसले। यसको यही खुवीलाई हामीले परख गर्न पाएनौं किनकि हाई स्पिडमा दौडनका लागि हामीसँग सडक संरचना नै छैन। भएका संरचनामा पनि रफ्तार अधिकतम ५० किलोमिटर प्रतिघण्टा रहेको छ।
हामीले जुन रुटमा यसको परीक्षण गर्यौं त्यहाँ ४० किलोमिटर प्रतिघण्टाको सीमितता थियो।

सुरक्षाका लागि अत्यधिक संख्यामा सेन्सर र क्यामराको प्रयोग गरिएको छ यसमा। नजिकै कुनै वस्तु छ भने त्यसको दुरी समेत तय गरेर यसले निर्देशन गर्छ – चलाउँदा होस पुर्याउनु। इन्स्ट्रुमेन्ट क्लस्टरमा गाडीको अगाडितिर रहेका कुनै पनि वस्तुलाई यसले निगरानी गरेर देखाइहाल्ने रहेछ।

जति संख्यामा मोटरसाइकल, कार, बस, ट्रक वा मानिस नै किन नहुन, सबै यसको डिस्प्लेमा देखियो। टर्निङको इन्डिकेटर दिएसँगै जुन दिशातिर जाने हो त्यता अगाडि र पछाडि दुइतिर फर्केका क्यामराले गाडीलाई विशेष बनाएको छ। अर्थात् टर्निङको संकेत दिनासाथ शून्य अवस्थामा पुग्छ – ब्ल्यांक स्पट।
ग्लोबल सुरक्षाको इन्डिकेटरमा पाँच तारा त्यसै हासिल गरेको होइन यो कारले। अगाडि ड्राइभिङ सिटमाथि निगरानी गर्ने अलग्गै क्यामरा पनि छ जसले ड्राइभरको मुभमेन्टलाई निगरानी गर्छ र आवश्यकताअनुसार शतर्क पनि गराउँछ।

लग्जरी सेगमेन्टको भएकाले यसको ड्राइभिङमात्र होइन, प्यासेन्जर सिटमा पनि हिटिङको सुविधा छ। लेग रुम र हेड रुमका आधारमा भन्ने हो भने यो सेगमेन्टकै लिडर बन्न सक्ने देखियो। प्यासेन्जर सिटको आर्मरेस्ट र कफीका लागि ‘हिडन स्पेस’ले थप प्रिमियम बनाएको छ। सुविधाका लागि कुनै कसर छाडिएको छैन यसमा। तपाईँ आफैँ अन्दाज गर्नुस् त १८ वटा स्पिकर किन दिइयो होला यसमा? सेफ्टीसँगै यात्रा रोमाञ्चक बनाउन इन्टेरियरमा गजबले ध्यान दिइएको छ।
इन्फोटेनमेन्टको टच स्क्रिनले नै कारका धेरैखाले फिचर इन्टिग्रेट गरेको छ। त्यसैले यसको ककपिट सादा लाग्छ। थिन्ने ठाउँहरु नै भेटिन्न यसमा। गाडीको डोर खोलेसँगै स्टार्ट हुने भएकाले अरु के चाहियो?

एसयूभी सेगमेन्टको कारलाई स्पोर्टी लुक्स दिन फ्रेमलेस विन्डोको व्यवस्था छ। मुनरुफले अघिल्लो सिटदेखि प्यासेन्जर सिटसम्म कभर गर्न सफल छ। एसयूभी अनुभूत गराउने २० इन्चको ह्विल छ यसमा। १७५ एमएम ग्राउन्ड क्लियरेन्स भएकाले असाध्यै अफरोड बाहेकका ठाउँमा यसलाई हुँइक्याउन सकिन्छ।
६६ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री भएकाले एकपटकको फुल चार्जमा ४३५ किलोमिटर दुरी तय गर्न सकिने कम्पनीको दाबी छ। यस दाबीलाई बाटोको अवस्था र ट्राफिक कन्डिसनले केही फरक पार्नु अस्वभाविक होइन।

लग्जरी सेगमेन्ट भएका कारण यसमा रहेका कतिपय फिचर यही सेगमेन्टका धेरै कारमा पाइँदैन। जस्तो कि गाडीमा ढोकामा बटन राखिएको छ जसमा ‘पुस’ गर्नासाथ यो खुल्छ। कहिलेकाहीँ ब्याट्री डाउन भयो र खोल्न नसकिने अवस्था आयो भने त्यसकै तल मेनुअल रुपमा खोल्न सकिने फिचर पनि उपलब्ध छ।
त्यस्तै, फरक फिचर अर्को छ – चार्जिङ पोर्टमा। गाडी अन गरेपछि चार्जिङको पोर्टको ढक्कन खोल्न सकिन्छ। बन्द गर्न त्यहीँ भित्र बटन राखिएको छ जसमा थिचेपछि यो आफैँ बन्द हुन्छ – इलेक्ट्रिक सिस्टमबाटै।


हामी थापाथलीबाट धोविखोला करिडर हुँदै यो कारलाई सिफलतिर लग्यौं। त्यहाँबाटा वाग्मती करिडर हुँदै साँखु पुर्यायौं। साँखु बजारबाट बज्रयोगिनी मन्दिरको डाँडातिर यसलाई उकाल्यौं। उकालो कालोपत्रे र ढलाने भएकाले इको मोडमा नै यसले रफ्तार लियो। नर्मल मोडमा समेत जान परेन।
अत्याधिक संख्यामा रहेको क्यामराका कारण सानै मोडमा पनि यसलाई घुमाउन सकियो। मोटर क्षमता धेरै भएकाले यसको पर्फर्मेन्स अब्बल हुनु ठूलो कुरा भएन। हामीले जुन कार ड्राइभ गरिरहेका थियौं त्यो रेयर ह्विल ड्राइभमा आधारित हो। त्यसैले उकालोमा यसको क्षमता अझ गजबले अनुभव गर्न सकिन्छ।
नेपालमा सीजी मोटर्सले यो कार बिक्री गरिरहेको छ। यसको मूल्य ८५ लाख रुपैंयाँ हो। त्यसैले मध्यमवर्गीय नेपालीका लागि यो महँगो कार हो। त्यसैले यसको लक्षित ग्राहक हुन् अपर मिडलक्लास र साम्भ्रान्त वर्ग। कारको आवश्यकतासँगै लग्जरी सेगमेन्ट रुचाउनेका लागि यो विशेष छ।

पेट्रोलियममा आधारित मात्र हुने थियो भने नेपाली बजारमा यो कार २ करोडभन्दा माथि मूल्यको हुन्थ्यो- यसमा रहेका फिचरका आधारमा। तर, कर छुटका कारण लग्जरी सेगमेन्ट भएर अत्याधिक फिचरसहित यही मूल्यमा यो कार उपलब्ध छ। पेट्रोलियममा आधारित एसयूभीबाट इभीमा अपग्रेड हुन चाहनेका लागि यो गजबको फ्युचरिस्टिक भेहिकल बन्न पुगेको छ।
सुरक्षाका लागि ट्राफिक सिग्नल रिड गर्नेदेखि स्टेरिङमा नै हिटिङ सिस्टम हुनेसम्मका फिचर कम मूल्यका गाडीले अफर गर्न सक्दैनन्। कम्पनी स्थापना भएको एक दशकमा नै एक्सपेंगले आधा दर्जनभन्दा धेरै मोडल विश्वभर उतारिसकेको छ। हामीले टेस्ट ड्राइभ गरेको कार सन् २०२३ मा सार्वजनिक भएको हो। टेस्ट ड्राइभपछि हाम्रो ठम्म्याइ हो – लग्जरी खोज्नेका लागि यो कार एउटा बलियो विकल्प हो मूल्यका हिसाबले।