
काठमाडौं। काठमाडौंको नागार्जुनमा ल्याभिस घरसहित १३ रोपनी जमिन बिक्रीमा राखिए वर्ष दिन नाघ्यो। तर सम्पत्ति धनीले अहिलेसम्म खरिदकर्ता पाउन सकेका छैनन्। त्यही कारण अहिले घरजग्गाको मूल्य घटाइएको छ। रियल इस्टेट एजेन्टका अनुसार मूल्य घटाएर आनाको साढे नौ लाख रुपैयाँ तोकिएको छ।
यसको कुल मूल्य १९ करोड रुपैयाँ राखिएको छ। फार्म हाउससमेत रहेको यो जमिन बालाजुबाट ६ किलोमिटर पर पर्छ।
बालुवाटार होस् या बानेश्वर, घरजग्गा व्यापार चम्केको समय यी क्षेत्रमा जग्गा पाउन मुश्किल हुन्थ्यो। पछिल्लो समय भने यी क्षेत्रका घरजग्गा धमाधम बिक्रीमा राख्न थालिएको छ।
बालुवाटार नजिकै विशालनगरमा ४० आना जग्गा हालै बिक्रीमा राखिएको छ। यो क्षेत्रमा जग्गाको मूल्य आनाको करोडमाथि पर्छ। तर अहिले आनाको ८२ लाखमै दिने गरी जग्गा बिक्रीमा राखिएको छ। यो भनेको ३२ करोड ८० लाख मूल्य बराबरको जग्गा हो। यही जमिन केही रियल इस्टेट एजेन्टले आनाको ८१ लाखमा दिने गरी पनि बिक्रीमा राखेका छन्।
बबरमहल हाइटमा कार्की बैंक्वेट नजिकै १४ आना जमिन बिक्रीमा राखिएको छ। आनाको एक करोडका दरले बिक्रीमा राखिएको हो।
काठमाडौंको केन्द्र भनिएका विभिन्न स्थानमा धमाधम जग्गा बिक्रीमा राख्ने क्रम बढेका कारण घरजग्गाको व्यापार ओरालो लागेको व्यवसायीहरु बताउँछन्।
जग्गा बिक्रीका लागि कतिपयले ‘ल्याभिस बाङ्लो’समेत अफरमा राखेका छन्। कुपन्डोलको गुसिंगल क्षेत्रमा दुई स्थानमा रोपनीमाथिका जमिन यसरी बिक्रीमा राखिएको छ।
२६ फिटे सडक अगाडिको एक रोपनी जग्गा रियल स्टेट एजेन्टमार्फत बिक्रीमा राखिएको हो। जग्गा किने दुईवटा घर पाइने अफर छ। एक करोड ३५ लाख आनाका दरले बिक्रीमा राखिएको जग्गामा दुईवटा पुराना घर छन्। कुपन्डोलको यो एक रोपनी जग्गाको मूल्य २२ करोड राखिएको छ।
कुपन्डोलकै नागार्जुना कलेज नजिकै २ रोपनी जमिन बिक्रीमा छ। आनाको ८५ लाख रुपैयाँका दरले २७ करोड २० लाख रुपैयाँको प्रोपर्टी बिक्रीमा राखिएको हो। तर एक वर्षअघि बिक्रीमा राखिएको जग्गा किन्ने ग्राहक भेटिएका छैनन्। जग्गा हेर्न पुग्नेको संख्या नै निक्कै कम छ।
यो क्षेत्रमा यसरी धेरै मात्रमा जग्गा बिक्रीमा राखेको आफूले पहिलोपटक देखेको स्थानीय सुजल सिजापतिले बताए। ‘घरजग्गा यसरी बिक्रीमा राखेको पहिलोपटक देखें,’ सिजापतिले भने। घरजग्गाको व्यापार खस्किएसँगै ऋण छिनोफानो गर्न जग्गाहरु बिक्रीमा राखिएको हुनसक्ने उनको भनाई छ।
ललितपुरको गोदावरीमा ६४ आना जग्गा बिक्रीमा राखिएको छ। सातदोबाटोबाट ६ किलोमिटर दूरीमा मुख्य सडकमा पर्नेजग्गाको मूल्य १८ करोड रुपैयाँ राखिएको छ। जग्गामा बङ्लो पनि छ। बाङ्लो निकै आधुनिक रहे पनि जग्गाको मात्र मूल्य राखेर बेच्न लागिएको हो।
काठमाडौंको चोभारमा २० रोपनी जमिन बिक्रीमा राखिएको छ। जग्गा किन्न चाहनेले ५१ करोड २० लाख रुपैयाँ बुझाउनुपर्छ। यहाँ प्रति आना १६ लाख रुपैयाँका दरले जग्गा बिक्रीमा राखिएको हो।
लालपूर्जा नेपालका सन्जय नेपाल उपत्यकामा ठूला प्रोपर्टी अहिले धेरै नै बिक्रीमा रहेको बताउँछन्। ‘उपत्यकामा सय करोडसम्मका जग्गा बिक्रीमा छन्। बुढानीलकण्ठदेखि भैंसीपाटीसम्म यस्ता घरजग्गा बिक्रीमा छन्,’ नेपालले भने।
रियल इस्टेट एजेन्टका अनुसार बिक्रीमा राखिएका अधिकांश ठूला प्रोपर्टी उच्च घरानाका व्यक्तिदेखि र ठूला व्यवसायीहरुको हो। सार्वजनिक रुपमा बिक्रीमा राख्दा पनि ग्राहक भेटिन मुश्किल हुन थालेको घरजग्गा व्यवसायीहरु बताउँछन्।