अटो बजार लयमा फर्किंदै : ६० प्रतिशतले बढ्यो सवारीसाधन आयात, यस्तो छ वृद्धिको कारण

शुक्र गिरी
२०८१ माघ १० गते ०६:३१ | Jan 23, 2025
अटो बजार लयमा फर्किंदै : ६० प्रतिशतले बढ्यो सवारीसाधन आयात, यस्तो छ वृद्धिको कारण

काठमाडौं। नेपाली अटो बजार लयमा फर्किन थालेको छ। चालु आर्थिक वर्ष ६ महिनाको आयात तथ्यांकले सवारीसाधन बजार लयमा फर्किन लागेको संकेत गरेको छ।

Tata
GBIME
NLIC

यो आर्थिक वर्ष पुससम्म १ लाख ३१ हजार ४११ वटा सवारीसाधन आयात भएका छन्। यो संख्या पोहोर ६ महिनाको तुलनामा ६० प्रतिशत धेरै हो।

अटो बजार आर्थिक वर्ष २०७८/७९ देखि ओरालो लाग्न थालेकामा यसपालि सुधार देखिएको हो। यो वर्ष ६ महिनाको आयात पोहोर मात्र होइन परारको भन्दा पनि बढी हो।

आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा २ लाख ५३ हजार ४५३ वटा सवारीसाधन आयात भएकामा त्यसयताका वर्ष क्रमश: ओरालो लागेको थियो। गत आर्थिक वर्ष साउनदेखि पुससम्म सवारीसाधनको आयात ८० हजारमा खुम्चिन पुगेको थियो।

सरकारले इभी आयातमा लाग्ने करमा लचकता अपनाएकाले बजारमा त्यस्ता सवारीसाधनको माग बढेको छ। आर्थिक शिथिलताले लगातार ओरालो लागिरहेको अटो बजारमा यसपालिको आयातले आशाको संचार गराएको छ।

कुन वर्ष कति आयात?

पछिल्लो ५ वर्षको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा सबैभन्दा बढी सवारीसाधन आयात भएको देखिन्छ।

त्यो वर्ष ६ महिनामा २ लाख ५५ हजार ४५३ युनिट सवारीसाधन आयात भएको तथ्यांक छ। त्यसपछिका ३ वर्ष सवारीसाधनको आयात निरन्तर ओरालो लाग्यो।

आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुससम्म १ लाख ९६ हजार ३६२ युनिट सवारीसाधन आयात भए। २०७९/८० को पहिलो ६ महिनामा अटो बजार अझै तल ओर्लियो।

त्यो वर्ष पहिलो ६ महिनामा जम्मा ९० हजार १०६ युनिट सवारीसाधन आयात भयो। आर्थिक वर्ष २०८०/८१ त झनै निराशाजनक रह्यो। यो वर्षको ६ महिनामा सवारीसाधनको आयात ८२ हजार ४२ युनिटमा सीमित भयो।

सस्तो ब्यादजर मुख्य कारण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ग्राहकहरूमा कन्फिडेन्ट बढ्नु र बैंकको ब्याजदर निक्कै सस्तो हुनु सवारीसाधनको आयात बढ्नुको मुख्य कारण भएको बताए।

‘अहिले बैंकको ब्याजदर निकै कम छ। पछिल्लो समय अटो लोनमा शून्य प्रतिशतसम्म ब्याजदरका अफर आइरहेका छन्। यसले सवारीसाधन खरिद गर्न ग्राहकहरूमा कन्फिडेन्ट बढायो,’ नाडाका उपाध्यक्ष एवं टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रेष्ठले भने।

उनी सवारीसाधनको बजार बढे पनि धेरै उत्साही छैनन्। ‘प्यासेन्जर इभी र इन्धन गाडी दुवैको बिक्री बढेको छ। तर सरकारले पुँजीगत खर्च नबढाएका कारण ट्रक तथा ट्रिपरहरूको बिक्री अझै बढ्न सकेको छैन,’ उनले भने।

चालु वर्ष ६ महिनामा दुई पाङ्ग्रे सवारीसाधन १ लाख ८ हजार तथा चार पाङ्ग्रे सवारीसाधन ११ हजार भन्दा बढी आयात भएका छन्।

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटका प्रबन्ध निर्देशक बरदान बस्नेतले यसपालिको आयातले अटो बजार लयमा फर्किने लागेको संकेत गरेको बताए।

‘हाम्रो सेक्टरमा बिक्री कम हुनुमा दर्जनौं फ्याक्टर थिए। तरलता अभाव, महँगो ब्याजदर, निर्माण क्षेत्रमा काम नहुनु, सरकारले नै आयातलाई निरुत्साहित गर्नु लगायत कारण बजार बिग्रिन पुगेकामा यसपालि आशाको संचार भएको छ,’ बस्नेतले भने, ‘अहिले सबैकुरा बजार अनुकूल छन्। ब्याजदर निक्कै सस्तो भएको छ। सरकारबाट पनि कुनै अवरोध छैन। ग्राहकहरूको कन्फिडेन्ट बिस्तारै बढेको देखिन्छ। पोहोरको तुलनामा यसपालि पोजेटिभ भाइब्स क्रियट भएको छ। तर यतिले पुग्दैन।’

अहिले अटो, टुरिजम तथा हस्पिटालिटीको क्षेत्रमा लगानी बढेको उनले बताए। ‘मुख्य कुरा पुँजीगत खर्च भने बढ्न सकेको छैन। त्यसैले पनि बजारले ठूलो फड्को मार्ने ठाउँ भने देखिदैन। बजारमा क्यास फ्लो गर्ने यो एउटा ठूलो मन्त्र हो,’ उनले भने, ‘यसले सबै आर्थिक साइकल चलाउँछ।’

अटो व्यवसायीहरूका लागि विगत दुई वर्ष निकै खराब रहे। अझ दुई पाङ्ग्रे सवारीसाधनको बजार त ध्वस्तै हुन पुग्यो। यसपालि दुई पाङ्ग्रे सवारीसाधनको माग पोहोरको तुलनामा उल्लेख्य बढेको छ। बाइक तथा स्कुटरको माग बढेको कारण व्यवसायीहरूले आयात बढाएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं बजाज बाइकका विक्रेता शेखर गोल्छाले बाइक र स्कुटरको व्यापार बढ्नुलाई ग्राहकहरूको खर्च गर्ने क्षमता वृद्धि भएको रुपमा लिनुपर्ने बताए।

‘विगत दुई आर्थिक वर्षको बजारको ट्रेन्ड हेर्ने हो भने एकदम खराब थियो। तर यो वर्षको ६ महिनाले धेरै नै आशा जगाएको छ। रिटेलमा हेर्ने हो भने दुई पाङ्ग्रेको बजार ५ वर्ष अगाडिकै लयमा फर्किन खोजेजस्तो देखिन्छ,’ गोल्छाले भने, ‘अहिले धेरै सेक्टरमा निराशा रहे पनि अटो सेक्टरको ग्रोथबाट हामी उत्साही छौं।’

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष तथा अटो व्यवसायी विष्णु अग्रवालले ब्याजदर निकै सस्तो भएका कारण त्यसले अटो बजारलाई सहयोग पुगेको बताए। ‘सवारीसाधनको व्यापार बढ्नुको मुख्य कारण ब्याजदरमा कमी नै हो। बजारमा पैसाको फ्लो पनि बढेको छ,’ अग्रवालले भने।