विद्युतीय सवारीमा भारतीय अटो उद्योगको जोड : एक्स्पोमा प्रमुख कम्पनीको इभी प्रदर्शन

शुक्र गिरी
२०८१ माघ ५ गते १९:०० | Jan 18, 2025
विद्युतीय सवारीमा भारतीय अटो उद्योगको जोड :  एक्स्पोमा प्रमुख कम्पनीको इभी प्रदर्शन

दिल्ली। भारतीय अटोमोबाइल उद्योगले विद्युतीय सवारीसाधन उत्पादनमा सचेततापूर्वक ध्यान दिएर काम गरिरहेको देखिएको छ। नयाँ दिल्लीमा जारी ग्लोबल अटो एक्स्पोको सहभागिताले यसको पुष्टि गरेको हो।

Tata
GBIME
NLIC

एक्स्पोमा भारतका प्रमुख अटोमोबाइल कम्पनी सुजुकी, महिन्द्रा, टाटासँगै हुन्डाई, टोयोटा जस्ता कम्पनीहरूले आफ्ना विद्युतीय गाडीहरू प्रदर्शन गरेका छन्। सरकारले विद्युतीय सवारीसाधनहरूलाई प्रोत्साहन गर्न विभिन्न किसिमका अनुदान र नीतिहरू ल्याइरहेको छ। त्यहीअनुसार यो एक्स्पोमा सबै कम्पनीहरुले आफ्नो इभी उत्पादनहरु ल्याएका छन्।

जसमा हुन्डाईको क्रेटा इभी, सुजुकीको इ-भिटारा, टोयोटाको अर्बन क्रुज इभी, टाटाको सिएरा, अभिन्या कर्भ इभी र ह्यारियर इभी र महिन्द्राको बीई६ र एक्सईभी ९ई जस्ता नयाँ मोडलहरु एक्स्पोमा राखिएका छन्।

भारतको अटोमोबाइल उद्योग द्रुत गतिमा विद्युतीय सवारी विकास र उत्पादनमा अघि बढिरहेको छ। अटो एक्स्पोले यसको बलियो प्रमाण दिएको छ। यस एक्स्पोमा धेरै अग्रणी अटो निर्माताहरूले आफ्ना नवीनतम इलेक्ट्रिक कार र दुई पाङ्ग्रे सवारीसाधनहरू प्रदर्शन गरेका छन्। धेरै कम्पनीहरूले लामो दायरा, आधुनिक सुविधाहरू र आकर्षक डिजाइनहरू समावेश गरी आफ्ना नयाँ इलेक्ट्रिक कारहरू लन्च गरेका छन्।

संसारभरका सवारी निर्माता कम्पनीहरुका लागि भारत ठूलो बजार हो। अटोमोबाइल बजारको हिसाब निकालेका तेस्रो मुलुकका धेरैजसो कम्पनीहरुले आफैं तथा केहीले ज्वाइन्ट भेञ्चरमा भारतमा प्लान्ट राखेका छन्।

ब्याट्री प्रविधिमा भइरहेको निरन्तर विकासले विद्युतीय सवारी साधनहरूको दायरा र प्रदर्शनमा सुधार गरिरहेको छ। अहिले भारतीय अटो उद्योगले ब्याट्री उत्पादनमा ठूलो लगानी गरिरहेका छन्।

अहिले यो वर्ष ठुला कम्पनीहरुले एक्स्पोमा इभीको भन्दा कुनै पनि उत्पादन त्यति देखिएन। अघिल्लो अटो एक्स्पोसम्म अधिकांश गाडी पेट्रोल/डिजल इन्जिनको बाहुल्यता थियो। दुई वर्षको अन्तरालमा यसपटक सबै इभीतर्फ गएको देखिएको छ।

यो वर्ष सबैभन्दा धेरै गाडी बिक्री गर्ने टाटा सुजुकी र हुन्डाईले पेट्रोल इन्जिन कुनै पनि मोडल एक्स्पोमा राखेनन्। उनीहरुले सबैले इभीलाई मात्रै प्राथमिकतामा राखेको देखिएको छ। आगामी दिनमा आउने मोडलहरु पनि सबै इभी छन्।

यस्तै विद्युतीय स्कुटर र मोटरसाइकलहरूको बजार पनि तीव्र रूपमा बढिरहेको छ। यसमा पनि प्राय सबै इभीमा सिफ्ट भइरहेको देखिएको छ। जसमा सुजुकीको ई एससेस होन्डा एक्टिभा इभी, एथर, ओला जस्ता ब्रान्डहरु इलेक्ट्रिक दुई पाङ्ग्रे ल्याएका छन्।

यस्तै कमर्सियलमा पनि इभी बस तथा ट्रकहरु प्रदर्शनीमा देखिएका छन्। जसमा टाटा, अशोक लेल्यान्ड, आइचर जस्ता कम्पनीहरुले इभी देखाएका हुन्।

अटो एक्स्पोले भारतको अटोमोबाइल उद्योग द्रुत गतिमा विद्युतीय सवारीसाधनतर्फ अघि बढिरहेको स्पष्ट पारेको छ।