भारतीय अटो-उद्योगको भविष्य तय गर्ने ‘मोबिलिटी एक्स्पो’ आजबाट, यी ब्राण्डले ल्याउँदै छन् नयाँ कार

बिजमाण्डू
२०८१ माघ ४ गते ०६:५९ | Jan 17, 2025
भारतीय अटो-उद्योगको भविष्य तय गर्ने ‘मोबिलिटी एक्स्पो’ आजबाट, यी ब्राण्डले ल्याउँदै छन् नयाँ कार


काठमाडौं। दुई वर्षपछि नयाँ रुपमा सुरु हुन लागेको भारत मोबिलिटी एक्स्पो २०२५ को आज ‘कर्टेन रेजर’ हुँदैछ। आजदेखि भारतको दिल्लीमा हुने उक्त एक्स्पोको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नेछन्।

Tata
GBIME
NLIC

भारत मोबिलिटी एक्स्पो २०२५ लाई यो पटक भारत सरकार आफैँले आयोजना गरेको हो। त्यसैले पनि यो अटो एक्स्पोलाई अटो उद्योगले महत्त्वमा राखेर हेरिरहेको छ।

यसले भारतीय अटो उद्योगका लागि नयाँ युगको सुरुवात गरिरहेको छ। यस एक्स्पोमा अत्याधुनिक सवारी साधन र प्रविधिहरू मात्र प्रदर्शन हुने छैन, यसले भारतीय अटो उद्योगको आगामी दिशा पनि तय गर्नेछ।

पछिल्लो समय चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनीहरूले विश्व बजारमा आफ्नो हिस्सा बढाउँदै गर्दा भारतीय अटो उद्योगलाई आफ्नो बजार खुम्चिने डर छ। त्यसैले पनि नयाँ प्रविधियुक्त इभीमा जोड दिँदै बजार हिस्सा विस्तार गर्ने योजनामा भारत सरकार र भारतीय अटो व्यवसायी छन्।

यस योजनामा हुन्डाई, टाटा, महिन्द्रा र सुजुकी जस्ता स्थानीय उत्पादक कम्पनीहरूले सरकारको साथ खोजिरहेका छन्। यी कम्पनीहरूले आफ्नो बजार विस्तार गर्न इभी उत्पादनमा लगानी बढाउन खोजिरहेका छन्। तर त्यसका लागि सरकारले बजेटबाट ल्याउने करले धेरै प्रभाव पार्नेछ।

भारत सरकारले भारतीय अटो उद्योगलाई इभीमा बुम गर्न पनि आगामी फेब्रुवरीमा पेस हुने बजेटबाट यसलाई सहुलियत तथा केही करमा हेरफेर गर्ने तयारी गरेको छ। सोहीअनुसार अहिले सरकारले धेरै अटो उत्पादक कम्पनीहरूलाई गाडी उत्पादन गर्न प्रोत्साहन गरिरहेको छन्। गाडी उत्पादकहरूले इभीका लागि आवश्यक ब्याट्री एसेम्बल भारतमै गर्न कारखानाहरू समेत निर्माण गरेका छन्।

एक्स्पोमा यो पटक स्थानीय उत्पादक कम्पनीहरूलाई प्रथामिकतामा राखिने छ। भारतमा अहिले हुन्डाई, टाटा, महिन्द्रा र सुजुकी जस्ता स्थानीय रुपमा उत्पादन गर्ने कम्पनीलाई यो एक्स्पोमा प्रथामिकता दिइएको छ।

१०० अर्बभन्दा ठूलो बजारमा नयाँ आयम थपिदै

भारतीय अटो उद्योग पछिल्लो समय १०० अर्ब डलरभन्दा ठूलो भइसकेको छ। जसमा भारतीय अटो उद्योगले भारतको जीडीपीमा ७.१ प्रतिशत हिस्सा ओगटेको छ।

भारतमा कन्स्ट्रक्सन इक्विपमेन्टको उद्योग २०२४ मा लगभग ९.५ अर्ब अमेरिकी डलरको थियो। यो भारत मोबिलिटी एक्स्पोमा लगभग ५० भन्दा धेरै उत्पादक कम्पनीहरूले आफ्ना उत्पादन देखाउने छन्।

यसले ३० लाख मानिसहरूलाई रोजगारी प्रदान गरिरहेको छ। २०२४ मा भारतमा १ लाख ३६ हजार युनिट कन्स्ट्रक्सन इक्विपमेन्टहरू बिक्री भएका छन्। 

यसैगरी अटो पार्ट्स उद्योग २०२४ मा लगभग ६२.४ अर्ब डलरको भएको छ। जुन गत वर्ष ५९.३ अर्ब डलको थियो। यो वर्ष ९ प्रतिशतले अटो पार्ट्सको बजार बढेको छ।

अहिले भारतमा उत्पादन हुने गाडीहरूमा ७० प्रतिशत अटो पार्ट्स स्थानीय प्रयोग गरिन्छ। जसमा टाटा, महिन्द्रा र सुजुकी जस्ता ब्रान्डहरू लोकलाइजेसनमा गएका छन्।

भारतले अन्य देशहरूमा पनि अटो पार्ट्स निर्यात गर्छ। २०२४ मा उत्तर अमेरिकामा ६.७९ अर्ब डलरको र युरोपमा ६.८९ अर्ब डलरको निर्यात गरेको छ। यस्तै एसियाली देशहरूमा ५.१५ अर्ब डलरको अटो पार्ट्स निर्यात गरेको छ। साथै ल्याटिन अमेरिका र अफ्रिकामा पनि निर्यात गरेको छ।

भारतीय प्यासेन्जर बजार २०२४ मा लगभग ५० लाख युनिटको हाराहारी भएको छ। यस्तै ११ लाख कमर्सियल गाडी उत्पादन भएको छ। साथै १० लाख ३ पाङ्ग्रे र २ करोड १० लाख २ पाङ्ग्रे सवारी साधन उत्पादन भएका छन्।

अब यो बजारमा इभीको हिस्सा बढ्ने देखिन्छ। जसमा प्यासेन्जर तथा कमर्सियलमा धेरै मोडलहरू बजारमा आउने तयारीमा छन्।

महिन्द्रा, टाटा, सुजुकी र हुन्डाईले ल्याउँदै छन् यी कार

नेपाली बजारमा सबैभन्दा पपुलर भएका मार्केट लिडरहरूले पनि यो अटो एक्स्पोमा नयाँ मोडलका कारहरू ल्याउँदै छन्। आज सुरु हुने उक्त एक्स्पोमा लगभग महिन्द्रा, टाटा, सुजुकी र हुन्डाईले मात्रै एक दर्जन नयाँ कार सार्वजनिक गर्ने निश्चित भएको छ।

टाटाको अभिन्या र सिएरा इभी लगायत कर्भ इभी र आइस दुवैमा उपलब्ध हुनेछ। जसमा टाटा कर्भ इभी भने नेपाली बजारमा आउने तयारीमा छ।

यस्तै सुजुकीले पनि एक्स्पोमा आफ्नो पहिलो इभी उतार्ने निश्चित भएको छ। सुजुकीले ई-भिटारा ल्याउने तयारी पूरा भएको छ।

यसैगरी महिन्द्राले चिनियाँ गाडीसँग प्रतिस्पर्धा गर्नकै लागि बीई-६ र एक्सइभी-९ ई एसयूभी उत्पादन गरेको छ। महिन्द्राको इभी एसयूभीको बिक्री आजबाटै सुरु हुनेछ। ती गाडीहरू केही महिनामा नेपाली बजारमा ल्याउने तयारी छ।

यसैगरी, हुन्डाईले आफ्नो लोकप्रिय मोडल क्रेटालाई इभी भर्सनमा आज सावर्जनिक गर्ने तय भएको छ। त्यसको एक महिना पछि नेपालमा भित्र्याउने हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ।

यस्तै नयाँ ब्रान्ड बीवाइडीले पनि सिलायन ७ इभी कार सार्वजनिक गर्दैछ। जुन नेपाली बजारमा गत नाडा अटो शोमा देखाइएको थियो।

अर्को भितनामको इभी ब्रान्ड भिनफाष्टले पनि आफ्नो नयाँ इभी कार देखाउँदै छ। जसमा भी फाइभ र भी सेभेन कार सार्वजनिक गर्दै छन्।

यसैगरी दुई पाङ्ग्रेतर्फ हिरो, टीभीएस, बजाज र सुजुकीले पनि आफ्नो नयाँ उत्पादनहरू यही एक्स्पोमा सार्वजनिक गर्दैछन्।