ऊर्जामन्त्रीको मैमत्तामा देउवाको रहस्यमय मौनता, ठेक्का सेटिङविरुद्ध उजुरीमा संसदीय समिति चुपचाप

प्रकाश भण्डारी
२०८१ माघ ३ गते १६:४२ | Jan 16, 2025
ऊर्जामन्त्रीको मैमत्तामा देउवाको रहस्यमय मौनता, ठेक्का सेटिङविरुद्ध उजुरीमा संसदीय समिति चुपचाप

काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का एकपछि अर्को विवादमा मुछिंदा सरकार, संसदीय समिति र उनको दल नेपाली कांग्रेस मुकदर्शक बनेका छन्।

Tata
GBIME
NLIC

१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्का आफूले चाहेको कम्पनीलाई दिन खड्काले बाँकी प्रतिस्पर्धी कम्पनीलाई चेक बाँडेको बाहिरिंदा पनि सबैले मौनता साँधेका हुन्।

खड्काका एकपछि अर्को विवादास्पद गतिविधिले पार्टीकै बदनाम भइरहँदा नेपाली कांग्रेसले सचेत गराउन समेत आवश्यक ठानेको छैन।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई ६ महिनामा गरेको कामसहित रिपोर्ट कार्ड पेस गर्न बिहिबार बिहान आफ्नै निवासमा बोलाए। बुढानीलकण्ठमा मन्त्रीहरुसामु कांग्रेसको संसदीय दल कार्यसमितिका सदस्य पनि थिए।

त्यहाँ खड्काले ऊर्जा मार्गचित्रलाई जारी हुनुलाई आफ्नो सफलताका रुपमा प्रस्तुत गरे। उनले आफूले कानुनसम्मतरुपमा काम गर्दागर्दै विवादमा तान्ने काम भइरहेको गुनासो गरे।

‘खड्काजीले सुरुमै मेराविरुद्धमा समाचार आए भनेर गुनासो गर्नुभयो। उहाँले ठेक्का प्रक्रिया सबै नियमसंगत रुपमा अगाडि बढाइएको हो, मैले कानुनमा टेकेर नै काम गरिरहेको छु भनेर सभापतिलाई प्रष्ट पार्ने प्रयास गर्नुभयो,’ कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने।

आफ्ना मन्त्रीमाथि निगरानी गर्ने मुख्य जिम्मेवारी सम्बन्धित पार्टीको हो। मन्त्रीले विवादित काम गर्दा त्यसबाट सबैभन्दा बढी क्षति सम्बन्धित पार्टीले बेहोर्नुपर्छ। खड्काका कारण अहिले कांग्रेसमा दाग लागिरहेको छ।

नेपाल स्काउटको ५ करोड रुपैयाँभन्दा बढी भाडा तिर्न अटेर गरेका खड्का ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेपछि ठेक्का सेटिङदेखि घुस लिएर कर्मचारी सरुवा गरेको, डेडिकेटेडड र ट्रंक लाइनको महसुल उठाउनुको साटै उल्टै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि जाइलागेको, प्राधिकरणमै कार्यकक्ष खोलेर जग हँसाएको लगायत धेरैवटा विषयका कारण आफू मात्र आलोचित भइरहेका छैनन्, उनका कारण कांग्रेसले समेत विवादित व्यक्तिलाई पदमा राखेको भनेर आलोचना खेप्नुपरिरहेको छ।

तर देउवाले खड्काका बद्नियतपूर्ण गतिविधिबारे एक शब्द पनि उच्चारण गरेनन्। ‘मन्त्रीको रिपोर्ट कार्डबारे सभापतिज्यूले केही भन्नुभएन। सुन्नु मात्र भयो,’ घिमिरेले भने। देउवा नबोलेपछि पार्टीका अरु पदाधिकारीले पनि खड्कामाथि प्रश्न उठाउन आवश्यक ठानेनन्।

पार्टीका कुनै नेताले पनि आफू मुछिएको विवादमा खबरदारी नगरेपछि खड्का उत्साही हुँदै बुढानीलकण्ठबाट बाहिरिए। खड्काबारे मौनता साँधेको कांग्रेसले मात्र होइन, संसदीय समितिले पनि आफ्नो जिम्मेवारी वहन गरिरहेका छैनन्।

ठेक्काको सेटिङका लागि चेक बाँडेको विषयमा प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा खड्काविरुद्ध उजुरी परेको छ। तर, समितिले मन्त्री खड्कालाई बोलाएर छलफल समेत गरेको छैन।

समितिका सभापति दीपकबहादुर सिंह पूर्वऊर्जाराज्यमन्त्री हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिंहले खड्कालाई बोलाउने आवश्यकता नै ठानेका छैनन्।

‘अहिले हामी जलविद्युत विधेयकमाथि छलफल चलाइरहेका छौं। अस्ति उजुरी आएको रहेछ। हिजो सचिव सँग र केही माननीयहरुसँग कुरा भएको छ। जलविद्युतमा विधेयकमा वर्कआउट गरेपछि समितिको पूर्ण बैठक बोलाएर उजुरीलाई अघि बढाउने योजना छ,’ समिति सभापति सिंहले भने।

राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक लेखा समितिले मन्त्री खड्कालाई बोलाएर प्रश्न गर्न उजुरी कुर्नै पर्दैन। तर यी दुवै समितिले खड्काविरुद्ध एक वर्षअघि परेको उजुरीलाई रद्दीको टोकरीमा राखेर थप विवादित काम गर्न सघाएका छन्।

रामहरि खतिवडा बीचमा

दुवै समितिको नेतृत्व सत्तारुढ दलका सांसदले गरिरहेका कारण पनि खड्कालाई थप हाइसञ्चो भएको हो। राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नेपाली कांग्रेस र लेखा समितिका सभापति ऋषिकेश पोखरेल नेकपा एमालेका हुन्।

‘मन्त्रीले चेक बाँडेको विषयमा समितिमा अहिलेसम्म उजुरी परेको छैन। समाचारमा आएको विषयलाई आधार मानेर समितिले छलफल चलाउन नसक्ने होइन। तर, अहिलेसम्म यसमा छलफल गरिएको छैन,’ राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले भने, ‘सुशासनको विषयमा हामी हस्तक्षेपकारी भूमिका पनि निभाउन सक्दैनौं, आँखा पनि चिम्लन सक्दैनौं।’

जगदुल्लाको ठेक्का सेटिङमा खड्काको संलग्नता बिजमाण्डूले सार्वजनिक गर्नासाथ प्रतिपक्षी दलका सांसदले तत्काल बैठक बोलाउन लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई दबाब दिएका थिए। तर उनले आफू काठमाडौं बाहिर रहेको र अन्य बाहना देखाएर टारिरहेका छन्। 

ताकेता गर्दा पनि उनले उर्जामन्त्री खड्का जोडिएको विषयमा छलफलका लागि बैठक राख्न मानिरहेका छैनन। ‘उजुरी उपसमितिको बैठकमा पनि खडकाका विषयमा बैठक बोलाउनुपर्‍यो भन्ने कुरा उठेको थियो। तर सभापतिले चासो नै देखाएनन्,’ समिति स्रोतले भन्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेकजसो सार्वजनिक मञ्चबाट आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताउँदै आएका छन्। तर खड्काका एकपछि अर्को बद्‍मासी थाहा पाउँदा पनि ओलीले एक्सन लिन सकेका छैनन्।