आर्थिक शिथिलताले बिग्रियो कम्पनीको व्यवसाय, लाभांश दिने ३०% मात्रै, आधाको प्रतिफल एकल अंकमा

सुनिल कुँवर
२०८१ माघ २ गते ०९:०१ | Jan 15, 2025
आर्थिक शिथिलताले बिग्रियो कम्पनीको व्यवसाय, लाभांश दिने ३०% मात्रै, आधाको प्रतिफल एकल अंकमा


काठमाडौं। सेयर बजारमा सूचीकृतमध्ये जम्मा ३० प्रतिशत कम्पनीले मात्र सेयरधनीलाई सम्झिएका छन्।

Tata
GBIME
NLIC

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २६८ कम्पनी सूचीकृत रहेकामा पोहोरको मुनाफाबाट अहिलेसम्म जम्मा ८० कम्पनीले मात्र सेयरधनीलाई लाभांश घोषणा गरेका हुन्।

लाभांश घोषणा गरेका धेरैजसो कम्पनीले साधारण सभाबाट स्वीकृत गराएर सेयरधनीलाई वितरण गरिसकेका छन् भने केही कम्पनी साधारण सभाबाट अनुमोदन गराउने क्रममा छन्।

पोहोरको मुनाफाबाट सेयरधनीलाई लाभांश दिनेमा वाणिज्य बैंकतर्फ ११ वटा छन्। तीमध्ये ५ बैंकले मात्र दोहोरो अंकमा लाभांश दिन सके। ६ बैंकको लाभांश निकै न्यून छ।

आर्थिक शिथिलताले व्यवसाय नबढ्दा बैंकहरुको लाभांश क्षमता खुम्चिएको हो। पछिल्ला केही वर्षयता बैंकहरुको प्रतिफल दर निरन्तर ओरालो लागिरहेको छ।

नेप्सेमा सूचीकृत वाणिज्य बैंकको संख्या १९ रहेकामा ८ वटाले पोहोरको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेनन्। खराब कर्जा उच्च अंकले वृद्धि भइ वितरणयोग्य मुनाफा ऋणात्मक हुँदा बैंकहरुले सेयरधनीलाई निराश तुल्याएका हुन्।

केही बैंकहरुको पुँजीकोष दबाबका कारण मुनाफा वितरणमा धक्का लागेको हो। कर्जा लगानी र असुलीमा देखिएको समस्याका कारण बैंकहरुलाई अर्को वर्ष पनि प्रतिफल वितरणमा दबाब पर्ने देखिन्छ।

उत्पादन तथा प्रशोधन क्षेत्रका ६ र होटल तथा पर्यटन क्षेत्रका ३ कम्पनीले लगानीकर्तालाई सम्झिएका छन्।

लगानीकर्ताको हात रित्तो नपार्नेमा ५ वटा इन्भेष्टमेन्ट कम्पनी, ३ वटा लाइफ इन्स्योरेन्स, ८ वटा विकास बैंक, ३ वटा फाइनान्स कम्पनी, १९ वटा माइक्रोफाइनान्स, २० वटा हाइड्रोपावर र अन्य समूहका १ कम्पनी छन्। धेरैजसोले नगदको साटो बोनस सेयर बाँडेका छन्।

सेयरधनीलाई सबैभन्दा धेरै खुशी तुल्याउनेमा युनिलिभर नेपाल छ। यो कम्पनीका सेयरधनीले १७१४ प्रतिशत नगद लाभांश पाएका छन्। यस्तै धेरै लाभांश दिने कम्पनीको दोस्रोमा नम्बरमा सोल्टी होटल छ। सोल्टीले ३६.८४ प्रतिशत लाभांश दिएको छ।

नेप्सेका सबैभन्दा धेरै सूचीकृत कम्पनीमा हाइड्रोपावर छन्। ९१ हाइड्रोपावर सूचीकृत रहेकामा अधिकांशले सेयरधनीलाई लामो समयदेखि प्रतिफल दिन सकेका छैनन्।

अर्थतन्त्रमा तीन वर्षदेखि कायम शिथिलताका कारण उत्पादन तथा प्रशोधन क्षेत्रकै कम्पनीको व्यवसायमा ठूलो गिरावट आएको छ। लगातार घट्दो बिजनेसले नाफा आर्जन गर्न नसक्दा कम्पनीहरुले लगानीकर्तालाई प्रतिफल वितरण गर्न सकिरहेका छैनन्।

८० मध्ये ३४ कम्पनीले एकल अंकमा मात्र प्रतिफल दिन सके। दोहोरो अंकमा प्रतिफल घोषणा गरेकामध्ये १५ वटा लघुवित्त हुन्।

आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुन कम्पनीका सेयरधनीलाई कति लाभांश?

कम्पनीलाभांश प्रतिशत
नबिल बैंक१०
स्ट्यान्डर्ड चार्टर्ड बैंक२५.५
नेपाल एसबिआई बैंक१०.६५
एभरेष्ट बैंक१५.५३
लक्ष्मी सनराइज बैंक५.२६
सिद्धार्थ बैंक
सानिमा बैंक५.२६
ग्लोबल आइएमई बैंक५.५
सिटिजन्स बैंक४.२१
प्राइम कमर्सियल बैंक
कृषि विकास बैंक१०.५३
नेपाल ल्युब आयल२५
बोटलर्स नेपाल तराई५०
युनिलिभर नेपाल१७१४
हिमालयन डिष्टिलरी२०
शिवम् सिमेन्ट
सर्वोत्तम सिमेन्ट१०
सोल्टी होटल३६.८४
तारागाउँ होटल रिजेन्सी११
ओरियन्टल होटल्स५.२६
नेपाल दूरसञ्चार कम्पनी३०
नागरिक लगानी कोष१३
हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी५.२५
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट५.२६
सीइडीबी होल्डिङ्स११
हाथवे इन्भेष्टमेन्ट१०.५२
सूर्यज्योति लाइफ इन्स्योरेन्स२०
सानिमा रिलायन्स लाइफ१८.३८
लुम्बिनी विकास बैंक
मितेरी विकास बैंक१०
महालक्ष्मी विकास बैंक
गरिमा विकास बैंक
कामना सेवा विकास बैंक१२
सांग्रिला डेभलपमेन्ट बैंक३.८४
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक
ग्रीन डेभलपमेन्ट बैंक६.०५
श्री इन्भेष्टमेन्ट फाइनान्स१.९६
आईसीएफसी फाइनान्स५.२६
मञ्जुश्री फाइनान्स६.३५
छिमेक लघुवित्त१५
डिप्रोक्स लघुवित्त१०
स्वावलम्बन लघुवित्त१५
फर्स्ट माइक्रोफाइनान्स९.४७
साना किसान लघुवित्त१४
कालिका लघुवित्त१०
मिथिला लघुवित्त१५
सूर्योदय वोमी लघुवित्त६.९६
मेरो माइक्रोफाइनान्स७.८९
नेसनल लघुवित्त१५
आरएसडीसी लघुवित्त१०
फरवार्ड माइक्रोफाइनान्स१४
सपोर्ट माइक्रोफाइनान्स१४.५
आशा लघुवित्त१५
गुराँस लघुवित्त१५
जीवन विकास लघुवित्त१४.७३
नेस्डो समृद्ध लघुवित्त१५
समता घरेलु लघुवित्त५.२६
आत्मनिर्भर लघुवित्त१५
बुटवल पावर कम्पनी
चिलिमे हाइड्रोपावर१२
अरुण भ्याली डेभलपमेन्ट कम्पनी३.१५
सानिमा माई हाइड्रोपावर१०.५२
अपी पावर५.२६
नेपाल हाइड्रो डेभलपर्स८.४२
राधी विद्युत कम्पनी
कालिका पावर कम्पनी७.३६
माउन्टेन इनर्जी नेपाल१५.७८
युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावर४.२२१
रुरु जलविद्युत परियोजना१५.७८
साहस ऊर्जा८.४२
ग्रिन भेन्चर्स१०.५२
विन्ध्यवासिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावर५.२६
सुपर मादी हाइड्रोपावर५.२६
सुपर माई हाइड्रोपावर१२.६३
कुथेली बुखरी स्मल हाइड्रोपावर१०.५२
माण्डू हाइड्रोपावर१२
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी१४.७३
साल्ट ट्रेडिङ कर्पोरेसन१०
नेपाल लाइफ इन्स्योरेन्स२१.०५