राष्ट्र बैंकको सूक्ष्म अध्ययनबाट देखियो नयाँ तथ्य, तीन संस्थाको वित्तीय अवस्था विकराल

आकाश बोगटी
२०८१ माघ १ गते १४:३४ | Jan 14, 2025
राष्ट्र बैंकको सूक्ष्म अध्ययनबाट देखियो नयाँ तथ्य, तीन संस्थाको वित्तीय अवस्था विकराल

काठमाडौं। सेयर बजारमा मूल्य उचालिएका कम्पनीको वित्तीय अवस्था निकै विकराल रहेको नेपाल राष्ट्र बैंकको सूक्ष्म अध्ययनले देखाएको छ।

Tata
GBIME
NLIC

राष्ट्र बैंकको अध्ययनले पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको अवस्था निकै विकराल रहेको देखाएको हो।

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था उसले भनेभन्दा खराब भएको पाइएपछि राष्ट्र बैंकले अरु बैंक तथा वित्तीय संस्थाको अवस्थाबारे पनि सूक्ष्मरुपमा अध्ययन गरेको थियो।

पोखरा फाइनान्सको अवस्था समस्याग्रस्त घोषणा कर्णाली डेभलपमेन्ट बैंकको भन्दा पनि झन् खराब देखिएको छ। पोखरा फाइनान्सको अवस्था उसले पहिलो त्रैमासमा सार्वजनिक गरेभन्दा निक्कै विकराल देखिएको हो।

पोखरा फाइनान्सले पहिलो त्रैमासमा खराब कर्जा १४.४४ प्रतिशत र पुँजीकोष अनुपात १०.९९ प्रतिशत देखाएकामा राष्ट्र बैंकको छानबिनमा त्योभन्दा निक्कै खराब पाइएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष पहिलो त्रैमासमा पोखरा फाइनान्सको पुँजी पर्याप्तता अनुपात ऋणात्मक छ भने खराब कर्जा ४१.०७ छ।

सार्वजनिक वित्तीय विवरणभन्दा कहालीलाग्दो तस्वीर देखिएपछि फाइनान्समाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही थालेको छ।

‘कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त भएपछि हामीले अरु बैंक तथा वित्तीय संस्थाको विवरण पनि सुक्ष्मरुपमा हेर्‍यौं। पोखरा फाइनान्सको अवस्था निक्कै बिग्रेको पाइयो। १०.९९ प्रतिशत देखाइएको पुँजीकोष अनुपात ऋणात्मक र खराब कर्जा पनि भनेभन्दा २७ प्रतिशत बढी पाइएपछि हामीले कारबाही अगाडि बढाएका छौं,’ राष्ट्र बैंकको सुपरिवेक्षण विभागका एक अधिकृतले भने।

सोमबार घटेको सेयर बजारमा पोखरा फाइनान्सको सेयर मूल्य प्रति कित्ता ७ रुपैयाँ बढेर ५२९ रुपैयाँ पुगेको थियो।

राष्ट्र बैंकले अवस्था निक्कै बिग्रेको पाइएपछि नारायणी डेभलपमेन्ट बैंक र जानकी फाइनान्सलाई पनि शीघ्र सुधारात्मक कारबाही थालेको छ। ती दुई संस्थाको वित्तीय अवस्था पनि उनीहरुले भनेभन्दा खराब पाइएको छ।

चालु वर्षको पहिलो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात ४२.५३ प्रतिशत र पुँजीकोष अनुपात २.७० प्रतिशत तथा जानकी फाइनान्सको खराब कर्जा ३८.४४ प्रतिशत र पुँजीकोष अनुपात ३.०१ रहेको पाइएको छ।

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा नारायणी डेभलपमेन्ट बैंकले खराब कर्जा अनुपात ३४.८१ प्रतिशत र पुँजीकोष अनुपात ४.५८ प्रतिशत तथा जानकी फाइनान्सले खराब कर्जा ३४.६४ र पुँजीकोष अनुपात ३.८४ देखाएका थिए।

वित्तीय अवस्था लुकाएको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सोमबार ८.८१ प्रतिशत अर्थात प्रति कित्ता ८७ रुपैयाँ बडेर १०७५ रुपैयाँ पुगेको थियो। जानकी फाइनान्सको सेयर मूल्य प्रति कित्ता ६७०.५० रुपैयाँ छ। कम्पनीको सेयर भाउ सोमबार भने ३.५३ प्रतिशतले घटेको थियो।

पुँजीकोष अनुपात क्षेत्रीयस्तरका विकास बैंक र फाइनान्स कम्पनीको ८ प्रतिशत तथा वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकको ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ।

राष्ट्र बैंकको सुररिवेक्षण विभागका अधिकारीहरुले पोखरा फाइनान्समाथि चौथो चरणको तथा नारायणी डेभलपमेन्ट बैंक र जानकी फाइनान्समाथि तेस्रो चरणको कारबाही थालेको बताएका छन्।

पुँजीकोष अनुपात सम्बन्धी निर्देशिका पालना नगर्ने बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्ने व्यवस्था छ।

पुँजीकोष अनुपात न्यूनतम सीमाको २५ प्रतिशतभन्दा कम भएमा राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको उच्च व्यवस्थापनसँग पुँजी वृद्धिको योजना माग गर्ने, लाभांश वितरण, नयाँ शाखा विस्तार र व्यवस्थापन र संचालक समितिका पदाधिकारीको तलब भत्ता तथा सुविधा वृद्धिमा रोक लगाउँछ।

पुँजीकोष न्यूनतम सीमाको २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म कम भएमा लाभांश वितरण, नयाँ शाखा विस्तार र व्यवस्थापन र संचालक समितिका पदाधिकारीको तलब भत्ता तथा सुविधा वृद्धिमा रोकका साथै थप कारबाही हुन्छ।

त्यस्ता बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले निक्षेप परिचालन तथा कर्जा कारोबारको कुल रकममा सीमा तोकिदिन्छ। साथै नयाँ व्यावसायिक क्रियाकलाप संचालन गर्न पाउँदैनन्। खरिद तथा लिज प्रक्रियामार्फत थप स्थिर सम्पत्ति प्राप्त गर्नु परेमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ।

कर्मचारीलाई प्रोत्साहन भत्ता बढाउन नपाउनेदेखि व्यवस्थापनको तजबिजले दिन सक्ने अन्य क्षतिपूर्तिमा रोक लगाउने व्यवस्था छ।

पुँजीकोष सीमाको ७५ प्रतिशतभन्दा कम भए थप कारबाही स्वरुप नयाँ निक्षेप खाता खोल्न, कर्जा सीमा वृद्धि र नयाँ कर्जा प्रवाह, कर्मचारीको तलब, भत्ता तथा अन्य आर्थिक सुविधा वृद्धिमा रोक लगाउने व्यवस्था छ।

यस्तै उच्च तहका कर्मचारीको बढुवा राष्ट्र बैंकको स्वीकृतिबिना गर्न पाइँदैन।

कारबाही प्रारम्भ भएको ६ महिनाभित्र तोकिएको न्यूनतम पुँजीकोष कायम गर्न नसके संस्थाका संचालक तथा कार्यकारी प्रमुखलाई कारबाही गर्ने व्यवस्था छ।

न्यूनतम पुँजीकोष अनुपात सीमाको ७५ प्रतिशतभन्दा बढी कम भएमा संस्थालाई समस्याग्रस्त घोषणा गरी कारबाही गर्ने व्यवस्था छ।

समस्याग्रस्त घोषणा गरेको ६ महिनासम्म पनि तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम नभएमा बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिसन प्रकृया सुरु गर्ने वा लाइन्सेन्स रद्द गर्ने वा खारेजीको प्रकृया सुरु गर्ने व्यवस्था छ।

यसअघि कर्णाली डेभलपमेन्ट बैंकले खराब कर्जा अनुपात ७.२७ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १०.०५ प्रतिशत देखाएकोमा राष्ट्र बैंकले खोजबिन गर्दा खराब कर्जा ४०.८५ र पुँजीकोष अनुपात ऋणात्मक भेटाएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही थालेको थियो।

शीघ्र सुधारात्मक कारबाही थालेको १ महिनामा बैंकले निक्षेपकर्ताको पैसा फिर्ता गर्ने आधार नभेटेपछि समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएको थियो।