
स्पेनले युरोपियन युनियन (इयु) राष्ट्रबाहेकका नागरिकले खरिद गर्ने प्रपर्टीमाथि १०० प्रतिशत कर लगाउने तयारी गरेको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशमा देखिएको ‘हाउजिङ इमर्जेन्सी’ बाट मुक्त हुन यो कदम चाल्नु परेको बताएका छन्।
सन् २०२३ मा स्पेनमा इयु राष्ट्र बाहेकका देशका नागरिकले करिब २७ हजार प्रपर्टी खरिद गरेका छन्। यी प्रपर्टीहरु बस्नका लागि नभइ पैसा कमाउन उनीहरुले प्रयोग गरेको पेड्रोले बताएका छन्।
उनले यो कार्यले असमानता बढेको बताएका छन्। त्यसैले यस्तो असमान विषयलाई कायम गरिरहन आफ्नो सरकार तयार नभएको बताएका छन्।
उनले यो कर व्यवस्था कहिले र कसरी लागू हुन्छ भन्नेबारे केही बताएका छैनन्। पहिला यसलाई स्पेनको संसदमा प्रस्तुत गरिनेछ। त्यसपछिमात्रै यसबारेमा थप विवरण खुल्नेछ।
संसदमा विधेयक प्रस्तुत गर्दा सबै कुरालाई ध्यान दिएर व्यवस्था गर्ने सरकारको तयारी छ। किनभने पेड्रोलाई संसदमा विधेयक पारित गराउन अधिकांश समय हम्मेहम्मे पर्ने गर्छ।
सोमबार पेड्रोले यो व्यवस्थासँगै स्पेनमा हाउजिङ सम्बन्धी अन्य योजनाहरु सार्वजनिक गरेका थिए। पर्यटक फ्ल्याटहरुमा कडा नियमन र उच्च कर, सार्वजनिक हाउजिङ निकायलाई ३ हजार घर हस्तान्तरण, शुलभ हाउजिङ प्रदान गर्ने घरधनीलाई करमा छुट लगायतका योजना अघि सारिएको छ।