
काठमाडौं। गत पुस ९ गते काठमाडौंका दुई ठाउँबाट ९२ लाख रुपैयाँसहित पक्राउ परेका तीन जनाविरुद्ध हुन्डी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो।
सिन्धुपाल्चोक इन्द्रावतीका ३४ वर्षीय रवि धमला, रसुवा उत्तरगयाका ३५ वर्षीय जीतबहादुर तामाङ र संखुवासभाका ३० वर्षीय सन्तोष विकविरुद्ध मुद्दा दायर भएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको तारकेश्वर नगरको लोलाङबाट रवि र जीतबहादुरले चलाएको स्कुटरमा हिटरको कभरभित्र ७७ लाख रुपैयाँ बरामद गरेको थियो।
त्यसपछि उनीहरूको बयानको आधारमा सन्तोषलाई थप १५ लाख रुपैयाँसहित पक्राउ गरेको थियो। उनीहरुले उक्त रकमको वैध स्रोत खुलाउन सकेनन्। प्रारम्भिक अनुसन्धानमा प्रहरीले उनीहरू सुनको कारोबारी भएको पत्तो पाएको थियो। तर, त्यसलाई पुष्टि गर्ने बलियो प्रमाण भने जुटाउन सकेन। त्यसपछि हुन्डी कारोबारमा मुद्दा दायर गरेको हो।
पक्राउ परेका रवि धमला चीनको केरुङमा चिनियाँ नागरिकसँग मिलेर सुन पसल गर्दै आएको बयानमा खुलाएका थिए। छेप्टा नाम बताउने चिनियाँ नागरिकले नेपालमा पनि आफ्नो व्यवसाय भएको र केही रकम अरूलाई दिनुपर्ने बताएका थिए। त्यसैको आधारमा उनले दिएको रकम अरूलाई दिन लाग्दा आफू पक्राउ परेको बयान दिएका छन्। यसरी रकम एकबाट अर्कोलाई दिँदा केही रकम आफूले पाउने बयानमा खुलाएका थिए। अहिलेसम्म तीन पटक रकम लगिसकेको खुलेको छ। यसरी रकम लग्दा चिनियाँ नागरिकले एक पटकमा २० देखि २५ हजार रुपैयाँ दिने गरेका थिए।
सन्तोष विक भने आफ्नो पसलमा काम गर्ने कालीगढ भएको बताएका थिए। रविले भनेका छेप्टाको थप विवरण खुलेको छैन। जसले गर्दा नाम थर खुलेको खण्डमा प्रतिवादी बनाइने प्रहरी स्रोतले जनाएको छ।