
काठमाडौं । भक्तपुरको हनुमानघाटमा आजदेखि एकमहिने माधवनारायण व्रत एवं मेला सुरु भएको छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला आज बिहान त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु भएको हो।
साँखुको सालीनदीमा जस्तै भक्तपुरको हनुमानघाटको त्रिवेणीधाममा पनि मेला लाग्ने गर्छ। भक्तपुरमा यो मेला नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको मानिन्छ। नेपाल संवत् ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख छ।

व्रतालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गई त्रिवेणीमा बसेर स्नानपछि इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलशयात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शंखदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतीन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एकमहिने व्रत समापन गर्ने परम्परा रहेको छ।










