सेयर धितो कर्जा १९.८ प्रतिशतले बढ्यो, पाँच महिनामा १७ अर्ब ८५ करोड ऋण लगानी

बिजमाण्डू
२०८१ पुष २८ गते १५:४६ | Jan 12, 2025
सेयर धितो कर्जा १९.८ प्रतिशतले बढ्यो, पाँच महिनामा १७ अर्ब ८५ करोड ऋण लगानी


काठमाडौं। चालु आर्थिक वर्ष पाँच महिनामा सेयर धितो कर्जा १९.८ प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले यो वर्ष मंसिर मसान्तसम्म १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन्।

Tata
GBIME
NLIC

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेकोमा मंसिर मसान्त आइपुग्दा १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्थाले यो वर्ष भदौमा सबैभन्दा धेरै ८ अर्ब ३२ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए। साउनमा १ अर्ब ३५ करोड, असोजमा ६ अर्ब ६ करोड, कात्तिकमा १ अर्ब ९४ करोड र मंसिरमा १८ करोड रुपैयाँ सेयर धितो कर्जा विस्तार गरेका छन्।

गत असारपछि सेयर बजार उकालो लाग्दा सेयर धितो कर्जा उच्च वृद्धि भएकामा भदौपछि बजार सुस्ताउँदा ऋणको माग घट्दै गएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार पाँच महिनामा १ करोड बढीको सेयर धितो कर्जा २७.३ प्रतिशतले बढेको छ। गत असारसम्म १ करोड बढीको सेयर कर्जा ५५ अर्ब ९३ करोड रहेकामा मंसिरसम्म आइपुग्दा ७१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

यो वर्ष पाँच महिनामा १ करोड रुपैयाँ बढीको सेयर धितो कर्जा १५ अर्ब २५ करोड रुपैयाँले बढेको छ। राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँ ऋणको क्याप हटाएसँगै ठूला ऋणीले कर्जा लगानी बढाएका हुन्।

५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा ११.३ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी ५.९ र २५ लाखसम्मको सेयर धितो कर्जा ४.६ प्रतिशतले बढेको छ।