
काठमाडौं। सन् २०२४ को तथ्यांकअनुसार चीनमा ८६ हजार थिएटर स्क्रीन छन्। चिनियाँ सिनेकर्मीको भनाइलाई आधार मान्ने हो भने फिल्मका लागि चीन विश्वकै ठूलो बजार हो। त्यहाँ एक वर्षमा विदेशी चलचित्र प्रदर्शन हुन् पाउनेको सङ्ख्या भने ३४ मात्र छ।
भारतकै सर्वाधिक व्यापार गर्ने फिल्म ‘दंगल’ पनि चीनमा प्रदर्शन भएकै कारण इतिहास रच्न सफल भएको थियो। भारतीय मात्र नभइ हलिउड फिल्म पनि न्यून मात्रमा चीनमा प्रदर्शन हुने गरेको छ। त्यहाँ नेपाली चलचित्र प्रदर्शन गर्न सकिने अवस्था छ त?
नेपालमा पहिलोपटक पुस २५ मा चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित एकदिवसीय ‘चीन चलचित्र दिवस’ सहभागी हुन आएका वितरक कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका कार्यकारी निर्देशक ओवेन यङले पछिल्ला केही वर्षमा नेपाली चलचित्रले राम्रो गरिरहेको आफूले थाहा पाएको बताए।
उनले भने, ‘मैले हङकङ र अमेरिकाको बजारमा नेपाली चलचित्रको बारेमा सुनेको छु। विशेषतः द्वन्द्व प्रधान र सामाजिक ‘ड्रामा’ भएका चलचित्रमा स्तरीयता थपिएको मैले महसुस गरें। यसकारण नेपाली चलचित्रको भविष्य निकै राम्रो छ भन्ने मैले महसुस गरेको छु। यस्तै महोत्सवमार्फत हामीले कला र संस्कृतिसँगै एक आपसमा चलचित्र बजार खोज्न सक्छौं। नेपालीका लागि चीनको बजार नयाँ छ भने हाम्रो लागि नेपालको बजार पनि नयाँ नै छ।’
उनले चीनका दर्शकले रोमान्टिक, एक्सन र थ्रिलर विधाका चलचित्र रुचाउने जानकारी दिए। विशेषतः आउँदो मार्च महिनामा हङकङ र चीनकै बेइजिङमा हुने चलचित्र महोत्सवमा सहभागी भएर नेपाली चलचित्रको प्रचार गर्नुका साथै स्थानीय वितरक र प्रदर्शकसँग भेटघाट गर्न सकिने उनले बताए।
‘चीनमा प्रदर्शन भएका विदेशी चलचित्रले राम्रो फाइदा लिएका छन्। यसकारण नेपाली चलचित्रकर्मी त्यहाँ पुगेर स्थानीय वितरकसँग सहकार्य गर्न सकेमा नयाँ सम्भावनालाई नकार्न सकिँदैन। विशेषतः चलचित्रको छायांकन अगावै त्यहाँ पुगेर स्थानीयलाई भेट्नु उपयुक्त हुन्छ। किनकि स्थानीयको सहभागिताले प्रदर्शनमा सहजता दिनेछ,’ उनले भने।
चाइना चलचित्र प्रशासन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले गत वर्ष (सन् २०२४)मा नेपालमा ‘पूर्णबहादुरको सारङ्गी’ र ‘१२ गाउँ’जस्ता चलचित्र सफल भएकाले चीनको बजारतर्फ प्रयास गर्न नेपाली चलचित्रकर्मीलाई आग्रह गरे। उनले भने, ‘हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुल्ला छ, हामी सबैलाई अवसर दिने गरेका छौं। यस्ता महोत्सवले हाम्रो दुई देशको चलचित्रलाई आदानप्रदान गर्ने विश्वास लिएको छु । नेपाली चलचित्रकर्मीले प्रयास गर्नुभएमा चीन पनि नेपाली चलचित्रका लागि बजार बन्न सक्नेछ। यसका लागि दुई देशबीच यस्तै महोत्सव हुनु आवश्यक छ।’
उनले चिनियाँ चलचित्र नेपालमा छायाङ्कनका लागि आउने र नेपालको सुन्दरतालाई विश्वभर पुर्याउने गरेको बताए। चिनियाँ चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएकोमा उनले जोड दिए।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा चलचित्र निर्देशक केपी पाठकले नेपाली चलचित्रकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनालाई गति दिने काम ‘चीन चलचित्र दिवस’ ले गरेकोमा जोड दिए। उनले भने, ‘चीनका चलचित्र यहाँ प्रदर्शन भएका थिएनन्, यस किसिमको कार्यक्रम पहिलोपटक भएको छ। यसले दुई देशबीच सामीप्यता बढाउने मात्र नभई चलचित्र आदानप्रदानका लागि संवाद गर्ने अवस्था सिर्जना गरेको छ। हामीले त्यहाँ केही चलचित्रलाई पुर्याउन सकेमा हाम्रो चलचित्र उद्योग नयाँ युगमा प्रवेश गर्नेछ। नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ।’
एकदिवसीय ‘चीन चलचित्र दिवस’का लागि प्रसिद्ध अभिनेत्री यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, निर्देशक जिङ जिआओ, पटकथा लेखक लु वेइ, निर्देशक झाङ गुदोङ, निर्देशक झाङ युडीसहित १४ चिनियाँ चलचित्रकर्मी नेपाल आएका थिए। रासस