अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी मुद्रा सञ्चिति उचाइमा, शोधनान्तर सवा २ खर्ब बचतमा

बिजमाण्डू
२०८१ पुष २६ गते १८:१६ | Jan 10, 2025
अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी मुद्रा सञ्चिति उचाइमा, शोधनान्तर सवा २ खर्ब बचतमा

काठमाडौं। अर्थतन्त्रको आन्तरिक गति सुस्त हुँदा बाह्य क्षेत्रका सूचक झनै बलियो भएका छन्। विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थिति थप मजबुत देखिएको हो। चालु खाता भने केही खस्किएको छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष पाँच महिनामा रेमिटेन्स आप्रवाह, पर्यटन आवागमनमा भएको वृद्धि र आयात सुस्त हुँदा विदेशी मुद्राको सञ्चिति बढ्न गएको छ।

विदेशी मुद्रा सञ्चितिले ऐतिहासिक रेकर्ड बनाएको छ। गत असारमसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेकामा मंसिर मसान्तमा आइपुग्दा ११.४ प्रतिशतले वृद्धि भएर २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

राज्यको ढुकुटीमा भएको यो सञ्चितिले १७.६ महिनाको वस्तु र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।

मंसिर मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा
शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोड बचतमा थियो।

त्यस्तै, चालु वर्ष पाँच महिनामा चालु खाता १ खर्ब ४० अर्ब ७१ करोड बचतमा छ। अघिल्लो वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोडले बचतमा थियो ।