काठमाडौं। बढेको महँगाइले घर खर्च धान्न सकसमा परेका उपभोक्तालाई खाद्यान्नमा हुने खर्चमा भने केही राहत हुन थालेको छ। बजारमा खाद्यान्नको भाउ सस्तो हुन थालेपछि उपभोक्ताको भान्साको बजेटमा राहत भएको हो।
चामल, दाल, गेडागुडी, चिनी लगायत खाद्यान्न सस्तिएको छ। खासगरी चामलको भाउ उल्लेख्य घटेको छ। चामल चार महिनाको अवधिमा २६ प्रतिशतसम्म सस्तिएको छ।
बजारमा नयाँ उत्पादन आउनुका साथै भारतले निर्यातमा लगाएको शुल्क हटाएका कारण चामल सस्तिएको हो। भदौ मध्यमा एक बोरा जिरा मसिनो चामललाई २७०० रुपैयाँ तिरेका उपभोक्ताले अहिले २ हजार रुपैयाँ हाराहारीमा पाउन थालेका छन्।
व्यापारीहरुले २५ किलो बोरा जिरा मसिनो चामल उपभोक्तालाई २१ सयदेखि २२ सय रुपैयाँसम्ममा बेचिरहेका छन्। नयाँ धान आउनुका साथै भारतबाट पनि सहजै आयात भइरहेका कारण चामलको भाउ निरन्तर घटिरहेको उनीहरुले बताएका छन्।
नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालले चामल र दालको भाउ लगातार घटिरहेको बताए। ‘देशभित्र नयाँ उत्पादन आएको छ। अर्को कुरा अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्य घटेको छ। भारतले धान निर्यातमा लगाएको शुल्क हटायो। यही कारण नेपालमा पनि भाउ सस्तो भएको हो,’ उनले भने।
भारतले धान चामल निर्यातमा लगाएको शुल्क कात्तिक पहिलो साता हटाएको थियो। त्यसअघि उसले २० प्रतिशतसम्म निर्यात शुल्क लिने गरेको थियो।
उद्योगमै भाउ घटिरहेकाले खुद्रा बजारमा उपभोक्ताले सस्तो मूल्यमा पाइरहेको अग्रवालले बताए। उनका अनुसार जिरा मसिनो चामलको भाउ २५ केजीको बोराको अहिले २ हजार ५० देखि २१ सय ५० रुपैयाँसम्म आइपुगेको छ। बजारमा गुणस्तर र ब्राण्ड अनुसार मूल्य फरक फरक छ।
सोना मन्सुली चामलको भाउ चार महिनामा प्रति बोरा ५०० रुपैयाँसम्म घटेको छ। व्यापारीहरुका अनुसार सोना मन्सुली चामल ३० किलोको बोरा अहिले १७ सय देखि १८ सय रुपैयाँमा पाइन्छ।
बानेश्वरस्थित सुनादेवी किराना स्टोरका संचालक समर कठायतले ४ महिनामा चामलको मूल्य बोरामा ५०० रुपैयाँभन्दा बढी घटेको बताए।
गएको भदौमा २६ सय रुपैयाँभन्दा बढीका दरले बेचेको चामलको भाउ अहिले प्रति बोरा अहिले २१ सयबाट ओर्लिएको उनले जानकारी दिए। उनका अनुसार मन्सुली चामल ३० किलोको बोरा उपभोक्ताले १७ सय देखि १८ सयको बीचमा पाइन्छ।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुल तुलाधरले पनि खाद्यान तथा गेडागुडीको मूल्य घटेको बताए। ‘अहिले चामल दाल गेडागुडी सबैको भाउ घटेको छ,’ उनले भने, ‘तर गुणस्तरअनुसार फरक हुने भएकाले मूल्य ठ्याक्कै यति भन्न सकिंदैन।’
संघको तथ्यांकले चामलको भाउ धेरै घटेको देखाउँदैन। संघका अनुसार जिरा मसिनो चामल भदौमा प्रति केजी ११० देखि ११५ रुपैयाँ रहेकामा अहिले ९० देखि ९५ रुपैयाँमा झरेको छ। यस्तै मन्सुली चामल प्रति केजी ८० देखि ८५ रुपैयाँमा पाइने संघले जनाएको छ।
दाल तथा गेडागुडीको मूल्य अग्रिम कर घटाइएका कारण केजीमा ३० रुपैयाँसम्म घटेको छ। मासको दाल र रहरको दालको भाउ पनि घटिरहेको छ।
नेपाल खुद्रा व्यापार संघका अनुसार मासको दाल प्रति किलो २३० बाट घटेर २१५ रुपैयाँमा झरेको छ। रहर दाल ३२० रुपैयाँबाट प्रति किलो २७५ रुपैयाँमा पाइन थालेको छ।
केराउको मूल्य केजीमा २५ रुपैयाँ, राजमा सिमी केजीमा १० रुपैयाँ, जिरा केजीमा ६० रुपैयाँ र धनियाँ केजीमा १० रुपैयाँ सस्तो भएको छ। चनाको मूल्य प्रति केजी १८० बाट १७० मा झरेको छ।
चिनीको मूल्य केजीमा १३ रुपैयाँ घटेको छ। भदौमा प्रति केजी चिनी किन्न ११५ रुपैयाँ तिरेका उपभोक्ताले अहिले १०२ रुपैयाँमा पाउन थालेका छन्।
तेलको भाउ भने घटेको छैन, दुई सातायता तेलको मूल्य कार्टुनमा ५० रुपैयाँसम्म बढेको छ। कठायतका अनुसार सूर्यमुखी र भटमास तेल कार्टुनको २३ सय रुपैयाँ पर्छ।
चार महिनामा भुटेको तोरीको तेल लिटरमा ३० रुपैयाँ बढेको छ। सूर्यमुखी र भटमासको तेल पनि लिटरमा ३० रुपैयाँ बढेर प्रति लिटर २४० रुपैयाँ पुगेको छ।
यस्तै गेडा मुङ दालको मूल्य प्रति किलो ५ रुपैयाँ बढेको छ। मैदाको भाउ बढेर प्रति केजी ८५ रुपैयाँ पुगेको छ। गत भदौमा प्रति केजी ६५ रुपैयाँ रहेको गहुँको मूल्य बढेर अहिले ८५ रुपैयाँ पुगेको छ।