एक लाख रुपैयाँ घूससहित अख्तियारको कार्यालयबाटै पक्राउ प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

बिजमाण्डू
२०८१ पुष २५ गते १७:१४ | Jan 9, 2025
एक लाख रुपैयाँ घूससहित अख्तियारको कार्यालयबाटै पक्राउ प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मुद्दा मिलाइदिन आग्रह गर्दै सम्बन्धित कागजातसहित एक लाख रुपैयाँ घूस लिएर आएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट गत मंसिरमा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

Tata
GBIME

उनी अछामको मेल्लेख गाउँपालिकामा कार्यरत रहँदा त्यहाँ मेसिनरी सामान खरिदमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो। त्यसको अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले गरिरहेको थियो। अनुसन्धान भइरहेको उजुरीसँग सम्बन्धित कागजात पेस गर्न भनी कञ्‍चनपुरका अनुसन्धान अधिकृतको कार्यकक्षमा पुगेर उनले कागजातसहित खाम दिएका थिए।

आयोगका अनुसार अनुसन्धान अधिकृतले ‘खाममा के छ? आफैंले खोलेर दिनु’ भन्दा उनले पहेंलो खाममा एक लाख रूपैयाँ रहेको देखाएका थिए। ‘यो के को पैसा हो?’ भनी सोधपुछ गर्दा ‘मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो’ भनेपछि सापकोटालाई नियन्त्रणमा लिइएको थियो।

उनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।