काठमाडौं । विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालत काठमाडौंमा अर्को मुद्दा दायर भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई महिनासम्मको अनुसन्धानपछि सरकारी वकिल कार्यालय मार्फत संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दायर भएको हो।
जिल्ला अदालतमा नै यसअघि प्रसाईँविरुद्ध साइबर अपराधमा पनि मुद्दा दायर भइसकेको छ।
अनुसन्धानमा प्रसाईँले विभिन्न व्यक्तिलाई प्रयोग गरेर धम्काएको देखिएको छ। उनीसँगै झापा घर भएका हरिचन्द्र फुयाँल र रामचन्द्र मैनालीविरुद्ध पनि मुद्दा दायर भएको छ।
प्रतिवादी बनाइएका मैनाली भने फरार रहेका छन्। फुयाँललाई भने प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ।
प्रसाईँ समुहविरुद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, व्यवसायी पवनकुमार गोल्याण र दिपेन्द्र अग्रवालले उजुरी दिएका थिए। गभर्नर अधिकारीको तर्फबाट भने राष्ट्र बैंकले नै उजुरी दिएको थियो।
प्रहरीको अनुसन्धानमा गभर्नर अधिकारीलाई भारतीय मोबाइल नम्बर ९१८१३४८२२१०९ बाट फोन गरि आफू टाइगर नामको सुटर रहेको भन्दै एक व्यक्तिले धम्की दिएको खुलेको छ। २०८१ कार्त्तिक २६ ‘लरेन्स बिस्नोई ग्याङको मानिस हुँ, राजस्थान भारतबाट बोलेको’ भन्दै धम्की आएको थियो।
बिस्नोई हाल जेलमा रहे पनि भारतमा उनको अहिले चर्चा छ। सलमान खानलाई ज्यान मार्ने धम्की यो ग्याङले दिँदै आएको छ। केही समय अघि मात्रै महाराष्ट्रमा नेता बाबा सिद्धिकीकीको यही ग्याङले हत्या गरेको थियो।
प्रहरीमा परेको उजुरीमा ‘तेरो दुर्गा प्रसाईँसँग के दुस्मनी छ, हिन्दु समाजसँग लडिरहेको व्यक्तिसँग तेरो के दुस्मनी छ भनी दुर्गा प्रसाईँसँग ५ घण्टा भित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ तेरो ज्यानमा खतरा हुन्छ’ भनी धम्काएका उल्लेख छ।
प्रसाईँकै निर्देशमा व्यापारी, वित्तीय संघसस्थाका व्यक्तिलाई धम्काउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।