काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुईजना धरौटीमा रिहा भएका छन्। सहकारीका लेखा सुपरिवेक्षण सदस्य सुनिता नेवा र संचालक समिति सदस्य कमल लामा रिहा भएका हुन्।
सुनितालाई काठमाडौं प्रहरीले कार्तिक २० गते पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंको आदेशमा उनीहरुलाई धरौटीमा रिहा गरिएको हो।
सुनितासँग चार लाख र लामा तीन लाख रुपैयाँ धरौटी मागिएको छ। न्यायधीश पदमराज पाण्डेको इजलासले धरौटी माग गरेको हो।
प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिइआजी छविलाल जोशीको भने जिल्ला अदालत कास्कीमा थुन्छेक चलिरहेकाले उपस्थित गराइएको छैन।
गत आइतबार पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछाने सहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो।
उनीहरुविरुद्ध २ अर्ब ४१ करोड ३४ लाख ९१ हजार ७६९ रुपैयाँ बिगो माग गरिएको छ। त्यसमध्ये १ अर्ब १९ करोड ४९ लाख २१ हजार रुपैयाँको बिगो दाबी जाहेरीकर्ताका तर्फको हो। बाँकी बिगो भने विभिन्न कम्पनीका संचालकले लगेको रकम बापतको हो।
अनुसन्धानका क्रममा सहकारीको रकम विभिन्न १४ वटा कम्पनीका ७ जना संचालकले लगेको देखिएको छ।