काठमाडौं । काठमाडौंमा हेल्थ एआइ फर अल कन्फ्रेन्स (हाइकन) २०२५ सुरु भएको छ। नेपालसहितका विकासशील देशहरुमा स्वास्थ्य एआइको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्नका लागि स्थापना भएको हेल्थ एआइ फर अल नेटवर्कले कन्फ्रेन्सको आयोजना गरेको हो।
हाइनेट नेटवर्कको संचालक समितीमा तीन चौथाइ सदस्यहरु विकासशील र विकासउन्मुख देशका रहने गर्छन्। सोही अनुरुप हाइनेटले विकासशील देशहरुले स्वास्थ्य सेवाको समस्या पहिचान गरि त्यसलाई स्वास्थ्य एआइको माध्यमबाट समाधान गर्ने उद्देश्य लिएर विस्तृत छलफल गर्न कन्फ्रेन्स आयोजना गर्ने गर्छ।
नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआइ प्रविधि विकासको फाइदा सीमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसहरुमा पनि पुगोस् भन्ने अभिप्रायले सन् २०२४ को अन्त्यमा हाइनेट सुरु गरिएको नेटवर्कका संचालक समितिका संस्थापक सदस्य डा. किरणराज पाण्डेले जानकारी दिए।
उनका अनुसार स्वास्थ्य सेवा वितरणमा महत्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुर्याउन स्वास्थ्य एआइले कसरी भुमिका खेल्छ भन्ने विषयमा कन्फ्रेन्समा छलफल हुनेछ।
त्यसैगरि, नेपालजस्ता विकासशील देशहरुले सहकार्य गरेर स्वास्थ्यमा भएका आफ्ना समस्या पहिचान र स्वास्थ्य एआइ विकास गर्न स्वामित्व लिन सहकार्य गर्ने विषय पनि कन्फ्रेन्स केन्द्रित रहनेछ।
यस्तै, हाइनेटकाे संस्थापक सदस्य डा. विशेष खनाल विकासउन्मुख देशहरू स्वास्थ्य एआई प्रविधिकाे उपभाेक्ता मात्र नभइ उत्पादक पनि हुने सम्भावनाकाे प्रवर्द्धन गर्न याे नेटवर्कले काम गर्ने जानकारी दिए। याे सम्मेलनमा विकास उन्मुख देशका स्वास्थ्य प्रणालीमा स्वास्थ्य एआइ प्रविधिले कसरी सहयाेग पुराउन सक्छ भन्ने विषयमा पनि छलफल हुने उनी बताउँछन्।
नेटवर्कका सदस्य तथा युनिभर्सिटी अफ एभर्डिनका सहप्राध्यापक विनोद भट्टराइ पछिल्लो समय विकसित देशहरुमा स्वास्थ्य क्षेत्रमा एआइको प्रयोग व्यापक भइरहेको बताउँछन्। यद्यपि, नेपाल र नेपालजस्ता स्वास्थ्य सेवाको सिमित स्रोत भएका स्थानमा रहेका बिरामीलाई एआइ प्रविधीको लाभ नपाउने जोखिम पनि उस्तै रहेको उनको भनाइ छ। उनका अनुसार हाइनेटले नेपालजस्ता विकासशील देशले आफ्नो स्वास्थ्य समस्याहरुको प्राथमिकता निर्धारण गरेर त्यसलाई समाधान गर्न स्वास्थ्य एआइको विकास गर्न स्वामित्व लिनका लागि कन्फ्रेन्स महत्वपुर्ण हुन सक्छ।
कन्फ्रेन्समा स्वास्थ्य एआइको बारेमा छलफल र विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्। सम्मेलनमा विभिन्न देशका विज्ञहरुले स्वास्थ्य एआइलाई स्वास्थ्य प्रणालीमा कसरी संग्लग्न गर्न सकिन्छ, कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ र यसको सम्भावना, चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याट्रिक्स एण्ड एन्फोम्याट्रिक्स (नामी) को सहआयोजना रहेको कन्फ्रेन्स आज समापन हुनेछ।