काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणलाई केही कर्मचारीले बन्धक बनाएका छन्। सहायक निर्देशक रन्जिता पौडेल नेतृत्वको कर्मचारी युनियनले आफ्ना माग पूरा गर्न दबाब दिने नाममा दुई सातादेखि काम ठप्प पारेको हो।
युनियनको उक्साहटमा कर्मचारीले पेन डाउनको नाममा काम रोक्दा मोबाइल फोनको आयात नै रोकिन पुगेको छ।
फोन हराएकादेखि टेलिकम र इन्टरनेटको गुणस्तरलाई लिएर उजुरी गर्न पुगेका सेवाग्राही निराश भएर फर्किन बाध्य भएका छन् भने दूरसञ्चार सम्बन्धी यन्त्र तथा उपकरणको स्तर तोक्ने, गुणस्तर निर्धारण तथा स्वीकृत गर्ने लगायत सबै काम रोकिएको छ।
काम ठप्प पार्ने अगुवाइ गर्ने युनियनकी अध्यक्ष पौडेल ग्रामीण दूरसञ्चार विकास शाखाकी सहायक निर्देशक हुन्। युनियनले कर्मचारीको स्वार्थका लागि विभिन्न माग अगाडि सारेर संस्थालाई नै बन्धक पारेको हो।
कर्मचारी युनियनले काम ठप्प पारेका कारण मोबाइल फोन आयात गर्ने कम्पनीहरुले दुई सातादेखि टाइप-अप्रुभल पाएका छैनन्।
मोबाइल व्यापारीहरुले कर्मचारीले काम ठप्प पार्दा मोबाइल फोनको टाइप अप्रुभल लगायत सबै सेवाबाट वञ्चित हुनुपरेको बताएका छन्।
उनीहरुका अनुसार प्राधिकरणले प्रि-अप्रुभलदेखि अन्य प्रक्रिया नटुंग्याउँदा सबै ब्राण्डका मोबाइल फोन भन्सारमा होल्ड भएका छन्। भन्सारबाट नछुट्दा सबै कम्पनीले नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा लन्च गर्न पाएका छैनन्।
‘प्राधिकरणका कर्मचारीले पेनडाउन भनेर सबै काम रोकेका छन्। जसले गर्दा हाम्रा सामान भन्सारमै होल्ड भएका छन्। हामीले ब्यर्थैमा भन्सार गोदामको डिम्रेज तिर्नुपरिरहेको छ। उसैपनि बजार एकदमै डाउन भएको बेलामा कर्मचारीको आन्दोलनले हामीलाई अनाहकमा अतिरिक्त भार थपिएको छ,’ एक व्यापारीले भने, ‘कार्यालय जाने, हाजिर ठोक्ने, जनताकै करबाट तलबभत्ता खाने तर, आफ्नो स्वार्थका लागि सेवाग्राहीको काम गर्दिन भन्न पाइन्छ?’
आयात भएका मोबाइल फोन भन्सारबाट नछुट्दा स्टक सकिएका मोडल बजारमा भेटिन छोडेको छ। यसले अवैध आयातलाई थप प्रश्रय मिलेको छ।
युनियनकी अध्यक्ष पौडेलले कर्मचारीको स्वार्थका लागि नभइ दूरसञ्चार क्षेत्रको हितका लागि माग राखेर विरोधमा उत्रिएको बताइन्।
‘हामीले दूरसञ्चार क्षेत्रको हितका लागि व्यवस्थापनसँग माग राखेका हौं। पटक पटक ताकेता गर्दा पनि माग सम्बोधन नभएपछि पेनडाउन गर्नुपरेको हो,’ उनले भनिन्, ‘पेनडाउनले कामकारबाही प्रभावित भएकाले हामी अहिले वार्तामा छौं।’
प्राधिकरणमा यसबाहेक अर्को पनि कर्मचारी युनियन छ। स्वतन्त्र कर्मचारी युनियन हुँदा हुँदै कर्मचारीहरुले पौडेलको नेतृत्वमा नयाँ समूह खडा गरेका हुन्।
स्वतन्त्र कर्मचारी युनियनले पनि यसअघि आफ्नो स्वार्थका लागि कामकाज रोकेर विरोध प्रदर्शन गरेको थियो।
हाजिर गर्ने तर पेनडाउनको नाममा काम नगर्ने प्रवृत्ति मौलाएपनि प्राधिकरण व्यवस्थापनले कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन। कर्मचारीको अराजकतामा तालुकवाला सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि रमिते देखिएको छ।