
काठमाडौं। असोज दोस्रो साता बाढीपहिरोले पुगेको क्षतिमा १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँको दाबी परेकामा इन्स्योरेन्स कम्पनीले पुस ११ गतेसम्म जम्मा १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
कम्पनीहरुले दाबीको ११.८० प्रतिशत मात्रै भुक्तानी गरेका हुन्। नेपाल बीमा प्राधिकरणका अनुसार डेढ दर्जन निर्जीवन बीमा कम्पनीले १ हजार ७२० दाबी भुक्तानी गरेका छन्।
बाढीपहिरोका कारण बीमा कम्पनीमा ३ हजार ६७६ दाबी परेको छ। शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३१ करोड ३८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। यस कम्पनीमा १ अर्ब १४ करोड २३ लाख रुपैयाँको दाबी परेको थियो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सर्वाधिक २ अर्ब ६३ करोड रुपैयाँको दाबी परेकामा उसले २० करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ।
प्राधिकरणका अनुसार बाढीपहिरोले सम्पत्ति बीमातर्फ सर्वाधिक ९ अर्ब २४ करोड रुपैयाँको दाबी आएकामा १ अर्ब ११ करोड ५८ लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको छ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ २ अर्ब ८७ करोड रुपैयाँ दाबी परेकामा ५ करोड रुपैयाँ भुक्तानी भएको छ।