घाटा थेग्न नसकेपछि पैसा उठाउन हकप्रदको बाटो, अनिश्चित प्रतिफलमा सेबोनले किन लगाउँदैन लगाम?

सुनिल कुँवर
२०८१ पुष १४ गते १२:०० | Dec 29, 2024
घाटा थेग्न नसकेपछि पैसा उठाउन हकप्रदको बाटो, अनिश्चित प्रतिफलमा सेबोनले किन लगाउँदैन लगाम?


काठमाडौं । आइपीओ निष्कासनबाट जुटाएको रकमले घाटा पूर्ति गर्न नसकेपछि खराब वित्तीय अवस्थाका कम्पनीहरुले पब्लिकमा सूचीकृत भएको छोटो अवधिमै हकप्रद सेयर निष्कासन गर्न थालेका छन्।

Tata
GBIME
NLIC

कम्पनीहरुले आम्दानी बढाएर ऋण तिर्न नसकेपछि हकप्रद सेयरको बाटो रोज्न थालेका हुन्। लगानीकर्ताबाट पुँजी जुटाएर प्रतिफल दिने उद्देश्यले आइपीओ निष्कासन गरेका कतिपय कम्पनी एकपछि अर्को गरी निरन्तर घाटामा छन्।

निरन्तर घाटामा रहेका तिनै कम्पनी ऋण तिर्न भन्दै हकप्रद सेयरबाट पैसा उठाउने रणनीतिमा लागेका हुन्। २०८० जेठमा आइपीओ निष्कासन गरेको सिटी होटलले निरन्तरको घाटा थेग्न नसकेपछि हकप्रद सेयर बिक्रीको नीति लिएको छ।

होटलले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरिसकेको छ। कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ६७ करोड रुपैयाँ रहेकामा उसले अब १ अर्ब ३३ करोड रुपैयाँ हकप्रद सेयर निष्कासन गरेर जुटाउन लागेको हो।

चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्म कम्पनी ५ करोड ६२ लाख रुपैयाँ घाटामा छ। प्रति सेयर आम्दानी ३.९० रुपैयाँ ऋणात्मक र प्रति सेयर नेटवर्थ ९०.४९ रुपैयाँ छ।

होटलले लगानीकर्तालाई तत्कालै प्रतिफल दिनसक्ने अवस्था वित्तीय विवरणले देखाउँदैन। दीर्घकालीन ऋण ३ अर्ब २५ करोड रुपैयाँ छ। यद्यपि, सेबोन हकप्रद सेयर निष्कासन गर्न अनुमति दिने तयारीमा छ।

यो वर्ष पहिलो त्रैमासमा कालिन्चोक दर्शन कम्पनी ८५ लाख ७० हजार घाटामा छ। अन्य वित्तीय सूचकहरु समेत ऋणात्मक छन्।

एक वर्षअघि आइपीओ बिक्री गरेर नेप्सेमा सूचीकृत भएको कम्पनीले ऋण तिर्नकै लागि चुक्ता पुँजी ६० करोड रुपैयाँ बराबर सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनी हकप्रद सेयर निष्कासनका लागि सेबोनको अनुमतिको पर्खाइमा छ।

पोहोर पुसमा आइपीओ निष्कासन गरेको अर्को कम्पनी नेपाल वेयरहाउजिङ कम्पनीले चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँको सतप्रतिशत हकप्रद निष्कासन गर्दैछ। जबकि कम्पनीको दायित्व उसको आम्दानीले थेग्नै नसक्ने अवस्थामा छ।

नेपाल वेयरहाउजिङ चालु वर्ष असोजसम्म २ करोड २४ लाख रुपैयाँ नोक्सानीमा छ। अहिलेकै वित्तीय विवरण हेर्दा कम्पनीले सेयरधनीलाई प्रतिफल दिनै सक्दैन। तर, बजारमा पब्लिक सेयर संख्या न्यून भएकाले सेयर मूल्य भने आधारभूत वित्तीय सूचक विपरीत उचालिएको छ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नु भनेको पुँजी बढ्नु हो। थप पुँजी लगानी भएपछि बिजनेस घट्दा प्रतिफलमा गिरावट आउँछ। पुँजी वृद्धि अनुसार मुनाफा बढाउन नसके लगानीकर्ताले प्रतिफल पाउँदैनन्।

पुँजी वृद्धिको तुलनामा व्यवसाय गर्न नसक्दा वाणिज्य बैंकहरुको प्रतिफल निक्कै खुम्चिन पुगेको सबैसामु छर्लंग नै छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७६ ले संगठित संस्थाले साधारण सभाबाट निर्णय गराएर हकप्रद सेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ। यही प्रावधान अनुसार कम्पनीहरुले व्यवसाय विस्तारबाट नाफा आर्जन नसकेपछि हकप्रदबाट घाटा पूर्तिको नीति अपनाइरहेका हुन्।

लगानीका लागि आवश्यक पुँजी संकलनको उपकरणका रुपमा सार्वजनिक निष्कासनलाई लिइन्छ। त्यसैअनुसार कम्पनीबाट प्रतिफलको अपेक्षासहित लगानीकर्ताले लगानी गर्छन्।

तर, आफ्नो खास व्यापार बढाउन नसक्ने भएपछि कम्पनीले हकप्रद निष्कासनमार्फत पुँजी संकलन गर्ने र बजारमा सेयर मूल्य समेत प्रभावित पार्ने विकृति बढ्दै गएको हो।

जानकारहरु कम्पनीलाई हकप्रदको अनुमति दिँदा नै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले राम्रोसँग हेर्नुपर्ने बताउँछन्। सेबोनको नेतृत्वमा रहेर काम गरिसकेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जिवी नेपाल लगानीकर्ताको हितलाई ध्यान दिएर नियामकले जथाभावी हकप्रद सेयर निष्कासनमा रोक लगाउनुपर्ने देख्छन्।

‘सेयर बजारमा सूचीकृत भएको केही समयमै कम्पनीलाई हकप्रद निष्कासन गर्न दिने व्यवस्था ठिक छैन। पहिले पनि बजारमा यस्ता कम्पनी नआएका होइनन्। अहिले ती कम्पनी सेयर बेचेर कता गए नै थाहा छैन,’ उनले भने, ‘त्यसैले लगानीकर्ताको लगानी सुरक्षा सेबोनले बुझ्नुपर्‍यो। कम्पनीले हकप्रद दिने निर्णय गरेपनि सेबोनले रोक्नुपर्‍यो। जस्तो कि हकप्रद निष्कासनको निर्णय गरी कति कम्पनी राष्ट्र बैंक पुगे। तर राष्ट्र बैंकले रोक्यो। नियामकले कानुन बनाएर बजारलाई पारदर्शी बनाउने हो। विकृतिलाई मलजल गर्ने होइन। लगाम लगाउन ढिला नगरौं।’

वित्तीय विवरण र सुशासनमा गम्भीर प्रश्न उठेको सीइडीबी होल्डिङले ५६ करोड ३६ लाखको हकप्रद निष्कासन गर्दैछ। हाइड्रोपावरमा लगानी गर्ने इन्भेष्टमेन्ट कम्पनी भनिए पनि यसको वित्तीय विवरण नै गोलमाल छ।

आइपीओ निष्कासन गरेको धेरै नभएको घोराही सिमेन्ट इन्डष्ट्रिजले चुक्ता पुँजी ३ अर्ब ४२ करोड रुपैयाँको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ। यो वर्ष पहिलो त्रैमासमा कम्पनी ५१ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा छ।

यस्तै, २०७५ मा नेप्सेमा सूचीकृत भएर हालसम्म लगानीकर्तालाई प्रतिफल दिन नसकेको जोशी हाइड्रोपावरले चुक्ता पुँजीको ६५ प्रतिशतले हुन आउने २४ करोड १४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ। यो वर्ष असोजसम्म कम्पनी ४८ लाख रुपैयाँ नोक्सानीमा छ।

राप्ति हाइड्रो ६१ करोड २७ लाख बराबरको हकप्रद निष्कासन गर्न सेबोनको अनुमतिको पर्खाइमा छ। दुई वर्षअघि आइपीओ निष्कासन गरेको कम्पनी चालु वर्ष पहिलो त्रैमासमा १२ लाख रुपैयाँ नोक्सानीमा छ, अन्य वित्तीय सूचक पनि कमजोर छन्।

कम्पनीले बिजनेस रणनीति अनुसार काम गर्न हकप्रद सेयर निष्कासन गर्न सक्ने भए पनि सेबोनले हेर्नुपर्ने जानकारहरु बताउँछन्। ‘कम्पनीले आफ्नो बिजनेसका लागि पुँजी संकलनको रणनीतिका रुपमा हकप्रद सेयर निष्कासनको निर्णय गर्न सक्छन्। तर बिजनेस गर्न खोजेको हो/होइन भन्ने अध्ययन सेबोनले गर्नुपर्छ,’ एक मर्चेन्ट बैंकरले भने, ‘अन्यथा हकप्रदको बाढी लाग्छ र नबिक्ने अवस्था आउँछ।’

कम्पनीका सेयरधनीले निर्णय गरेर पठाएपछि स्वीकृति दिने गरिएको सेबोनका अधिकारी बताउँछन्। ‘हामीले धितोपत्र सम्बन्धी कानुनलाई हेरेर कम्पनीले हकप्रद निष्कासन गरेको निर्णयमा स्वीकृति दिंदै आएका छौं,’ सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले भने।