आधिकारिक बिक्रेताविनै ल्यान्डरोभर नेपाल ल्याउन गृहकार्य, बिक्रेता बन्न चाहनेलाई कस्तो असर गर्ला?

शुक्र गिरी
२०८१ पुष १३ गते १०:१५ | Dec 28, 2024
आधिकारिक बिक्रेताविनै ल्यान्डरोभर नेपाल ल्याउन गृहकार्य, बिक्रेता बन्न चाहनेलाई कस्तो असर गर्ला?


काठमाडौं। ल्यान्डरोभर गाडी आधिकारिक बिक्रेताविनै नेपाली बजारमा ल्याउन गृहकार्य चलिरहेको छ। नेपाली बजारका लागि ल्यान्डरोभरको निर्माता कम्पनीले आधिकारिक बिक्रेता प्यारेन्ट कम्पनीले छनोट गरिसकेको छैन।

Tata
GBIME
NLIC

ल्यान्डरोभरका गाडीहरु नेपाली बजारमा २०१६ को अन्त्यदेखि आधिकारिक बिक्रेता टर्मिनेटेड गरेपछि आउन छाडेको थियो। त्यसअघि किशोर गेयर्स/युरो गेयर्स प्रालि ज्यागुअर ल्यान्डरोभरको आधिकारिक बिक्रेता थियो।

ल्यान्डरोभरको आधिकारिक बिक्रेता लिन नेपाली ठुला घरानाहरुको दौडधुप दुई वर्षदेखि चलिरहेको छ। तर यसै बीचमा कुनै नयाँ कम्पनीले ल्यान्डरोभरको गाडी ल्याउन गृहकार्य गरेको पाइएको छ। अहिले नेपाली बजारमा टेस्ला, अउडी र पोर्से गाडी भित्र्याउने ग्रुपले नै उक्त ब्रान्डको गाडी ल्याउन पनि प्रक्रिया थालेको हो।

टेस्ला गाडी आयात गरिरहेको अरिती इन्टरनेशनलका अध्यक्ष राकेश अडुकियाले आफूहरुले अहिले पहिलो फेजको काम गरिरहेको स्वीकार गरे। ‘हामीले अहिले पहिलो फेजको लागि प्रक्रिया सुरु गरेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘अहिले तत्काल गाडी ल्याउने योजना हाम्रो छैन। बजारमा रिसर्च गर्ने कुराहरु भइरहेका छन्। हामीलाई पनि प्यारेन्ट कम्पनीले छनोट गरिसकेको छैन।’

अडुकियाले नेपाली बजारमा यसको विश्लेषण गरेर बस्ने तयारी आफूहरुको रहेको बताए। उनको कम्पनीले यसअघि पनि अउडी, टेस्ला र पोर्से प्यारेन्ट कम्पनी वा एसिया प्यासिफिक कार्यालयहरुले समेत आधिकारिक बिक्रेताविना गाडी नेपाल ल्याउने गरेका छन्।

आफ्नो कम्पनीले अहिले वाणिज्य विभागमा आयातनिर्यात गर्ने कम्पनी एजेन्सी दर्ता गरेर ल्यान्डरोभरका गाडीहरु आयात गर्न यातायात व्यवस्था विभागबाट समेत अनुमति लिइसकेको अडुकियाले बताए।

यसरी आधिकारिक बिक्रेता बिनै गाडी ल्याएर बिक्री गर्नु कत्तिको विश्वानीयता र ग्राहकहरुको सुनिश्चिता हुन्छ? यो कुराले पछिल्लो समय अटो बजार बिग्रिरहेको आभास हुन थालेका छन्।

यसरी ल्यान्डरोभर ल्याउने कुरा अगाडि बढेपछि प्यारेन्ट कम्पनीसँग आधिकारिक बिक्रेता लिन वर्षौदेखि दौडधुपमा रहेका ठुला घरानाहरु चकित छन्। यसै ब्रान्ड लिन दौडमा रहेका एक घरानाका व्यवसायीका अनुसार यसले बजारमा राम्रो सन्देश नजाने बताउँछन्। ‘गाडी ल्याउन कसैले कसैले रोक्ने भन्ने हुँदैन। तर, प्रतिस्पर्धा भएर प्यारेन्ट कम्पनीसँग आधिकारिक रुपमा सम्झौता भएको हुनुपर्‍यो,’ उनले भने, ‘अहिलेसम्म कम्पनी हामी प्रतिस्पर्धामा रहेका कुनै पनि कम्पनीलाई छनोट गरेको निर्णय गरिसकेको छैन। तर, कुनै एउटा कम्पनीले यतिकै आएर आयातको प्रक्रिया सुरु गरिसकेको देखियो। यो पक्कै पनि राम्रो हैन।’

ती व्यवसायीका अनुसार यो ब्रान्ड ल्याउनको लागि धेरै घरानाले ठूलो खर्च गर्ने योजना अनुरुप काम गरिरहेका छन्। सबै जनाले आ-आफ्नो तरिकाबाट डिल गरिरेको अवस्थामा यसरी बिना डिलरसिपको कम्पनी खडा गरेर गाडी ल्याउन लागिएको छ। ‘जसरी महिन्द्रा, बीवाइडी, टाटा, टोयोटा, सुजुकी र हुन्डाई नेपाली बजारमा आयात भइरहेका छन्। त्यसरी नै ल्यान्डरोभर कारको पनि प्यारेन्ट कम्पनीसँग आधिकारिक बिक्रेता बनेर गाडी नेपाल ल्याउने हाम्रो योजना हो,’ उनले भने, ‘त्यसैले हामी धेरै जना प्रतिस्पर्धामा छौं। त्यसको सर्टलिस्ट हुने क्रममा छ।’

ती व्यवसायीका अनुसार ब्रान्ड ल्याउनु र गाडी मात्रै ल्याउनुमा धेरै कुरा फरक छन्। ब्रान्ड ल्याउने भनेको त्यसको सबै लायबिलिटीदेखि अन्य सर्भिसलगायतका अन्य कुराहरुमा पनि कम्पनी जिम्मेवार हुनु हो। अहिले यो कम्पनीले कुनै थर्ड पार्टीसँग गाडी ल्याएर त्यसको लायबिलिटीहरुको जिम्मा कसले लिन्छ?

‘यसरी लक्जरी ब्रान्डको आधिकारिक बिक्रेता भनेर गाडी आयात गर्न ठूलो दायित्व बहन गर्नुपर्छ। जसमा उनीहरुको ब्रान्ड भ्यालु र स्ट्यान्डर्ड अनुसार शोरुम र सर्भिस हुनु जरुरी छ,’ उनले भने, ‘शोरुम बिना गाडी ल्याएर बिक्री गर्नेहरुले गर्दा बजारमा विकृति फैलिएको छ। त्यसमा पनि आधिकारिक बिक्रेताविना।’

जुन कुरा राम्रो बाटोबाट ल्याउन सकिन्छ र प्रयास भइरहेको छ त्यसलाई नै ग्रे मार्केटबाट आउन सरकारले किन प्रोत्साहन गरिरहेको उक्त कुरा आफूहरुले नबुझिरहेको ती व्यवसायीको भनाइ छ।

बेलायतसँगै भारतीय टाटा समूहको स्वामित्वमा रहेको ज्यागुअर ल्यान्डरोभरले आगामी दिनमा भारतमा नै रेन्जरोभर गाडीहरु उत्पादन गर्ने योजना घोषणा समेत गरिसकेको छ। यो बेलायती लक्जरी गाडी ब्रान्ड हो। अहिले ज्यागुअर ल्यान्डरोभरको पूर्ण स्वामित्व टाटा मोटर्ससँग छ। त्यसैले पनि नेपाली घरानाहरुले नेपाल उक्त ब्रान्ड ल्याउन खोजिरहेका छन्।