
काठमाडौं। ६१ किलो सुन प्रकरणमा प्रहरीको खोजी सूचीमा रहेका जीवन चलाउने सहकारी ठगीमा पनि जोडिएका छन्। काठमाडौं महानगरपालिका-१६ ठमेलस्थित युनिफाइड बचत तथा ऋण सहकारी ठगीमा उनको संलग्नता देखिएको छ।
जिल्ला अदालत काठमाडौंमा उनीलगायत १० जनाविरुद्ध मुद्दा दायर भएको छ। केही समयअघि १२ जना बचतकर्ताले रकम ठगिएको भन्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो। जसको मुद्दा दायर गर्दा बर्दिया गेरुवा घर भएका ३८ वर्षीय चलाउनेलाई पनि प्रतिवादी बनाइएको छ। उनी सहकारीको अध्यक्षको हैसियतमा रहेर रकम अपचलन गरेको देखिएको हो।
सहकारीका उपाध्यक्ष जोगिन्दर अग्रवाल, कोषाध्यक्ष टेकप्रसाद तिमिल्सिना लगायत १० जनालाई प्रतिवादी बनाइएको छ। यसरी प्रतिवादी भएका सबै जना फरार छन्। चलाउनेको हकमा यसअघि नै पक्राउका लागि डिफ्युजन नोटिससमेत जारी भइसकेको छ।
१० जनाविरुद्धको अभियोगपत्रमा १ करोड २ लाख ५५ हजार ९ रुपैयाँको बिगो दाबी गरिएको छ।