नयाँ पदमार्ग कापुचे र कोरीको पदयात्रा, बढ्दैछ घुमन्ते संस्कृति

बिजमाण्डू
२०८१ पुष ६ गते ११:११ | Dec 21, 2024
नयाँ पदमार्ग कापुचे र कोरीको पदयात्रा, बढ्दैछ घुमन्ते संस्कृति
  • बद्री पौड्याल

नेपालको पर्यटननगरी पोखराबाट धेरैतिरका आकर्षक हिमाली गन्तव्यको पदयात्रा सुरु हुन्छ । तिनैमध्ये एक हो- कापुचे हिमताल र कोरी डाँडा। दुवै ठाउँ अन्नपूर्ण र मनास्लु हिमालका सामुन्ने पर्दछन्।

Tata
GBIME
NLIC

कास्की जिल्लाको मादी गाउँपालिका-१ स्थित कापुचे संसारकै सबभन्दा होचो उचाइमा भएको हिमताल मानिन्छ। प्रायः हिमताल समुद्री सतहदेखि ४००० मिटरमाथिको उचाइमा हुन्छन् भने कापुचे २ हजार ४५० मिटरमै छ। कोरी डाँडा कास्कीको प्रसिद्ध ग्रामीण पर्यटन केन्द्र सिकलेसबाट सिधै वाकापुचे हिमताल हुँदै पुग्न सकिने अर्को रमणीय गन्तव्य हो, जहाँबाट अन्नपूर्ण, लमजुङ लगायत् धेरै हिमाल नजिकै देखिन्छन्।

कापुचे र कोरी दुवै गन्तव्यको पदयात्रा सिकलेस–हुगुगोठ–कापुचे–हुगुगोठ–कोरी–तसा–सिकलेस फन्को मारेर गर्न सकिन्छ। यो फन्कोलाई ठीक उल्टो सिकलेस–तसा–कोरी–हुगुगोठ–कापुचे–हुगुगोठ–सिकलेस घुमेर पनि पूरा गर्न सकिन्छ। सिकलेसबाट पहिले कापुचे जाँदा उकालो, ओरालो, तेर्सो बाटो पर्ने भएकाले हिँड्न धेरै गाह्रो हुँदैन। सिधै कोरी जाने हो भने डेढ घण्टा ओरालो झरेर ८-९ घण्टा ठाडो उकालो चढ्नु पर्ने भएकाले अलि गाह्रो हुन सक्छ।

सिकलेसबाट ६ घण्टाको हिँडाइमा पुगिने हुगुगोठपछि कापुचे पुग्न थप दुई घण्टा लाग्छ। कापुचेबाट फेरि हुगुगोठ नै फर्केर कोरीतिर जाँदा आधा बाटोसम्म सम्बन्धित होटेलवालाहरुसँग पहिले नै कुरा मिलाएर गएन्यौला र न्ह्योतामा खान–बस्न पाइन्छ। तर, त्यसपछिको चार–पाँच घण्टाको बाटोमा कोरी नपुगी खान–बस्न पाइन्न। यता अर्को रुटमा पनि सिकलेसदेखि चार घण्टाको बाटो तसासम्म बस्न–खान पाइने ठाउँछन्, तर त्यसपछि भने५–६ घण्टाको ठाडो उकालो कटेर कोरी नपुगी गाँसबास भेटिँदैन।त्यसैले यो पदयात्रामा समयमै बास बस्न पुगिने ठाउँ पक्का गरेर मात्रै हिँड्नु पर्दछ।

सिक्लेस

पदयात्रा सिकलेसबाट सुरु हुने भएकाले पहिला पोखराबाट बस, जीप वा आफ्नै सावरीसाधन लिएर सिकलेस पुग्नु पर्‍यो। आफ्नै साधन लैजानेले आधाजसो कच्ची र उबडखाबड बाटो छ भन्ने कुरा ख्याल राख्नु पर्दछ। पोखराको काहुँखोला बसपार्कमा बिहानैदेखि जीप र बसहरु लाग्छन्। जीपले तीन घण्टामा सिकलेस पुर्‍याउँछ। भाडा प्रति व्यक्ति लगभग ५०० रुपैयाँ पर्दछ। बसमा भाडा केही कम तर समय बढी लाग्छ।

पोखराबाट दुई बजे सम्म हिँड्यो भने समयमै सिकलेस बास बस्न पुगिन्छ। पोखराबाट बिहानै हिँड्न सुरु गर्ने लेसिकलेस नबसी केही पर पुगेर बाटो छोट्याउन सक्छन्। बाटोमा काठमाडौंबाट रात्रीबसमा बिहानै पोखरा, अनि जीपमा सिकलेस पुगेर उत्तिखेरै हिँड्न सुरु गरि कापुचेमै पुग्नेहरु पनि भेटिएका थिए। तर यसरी जाँदा हुने धपेडीले भोलिपल्ट हिँड्नुपर्ने लामो उकालो र उँचो लेकमा शरीरले साथ नदिन सक्छ।

सिकलेसमा बस्न–खान होमस्टे र होटेल–लजहरु प्रशस्तै छन्। स–साना झ्याल भएका परम्परागत शैलीका होचा घरहरु एकमाथि अर्को खात लगाएर राखिए झैँ देखिने यस गुरुङ बस्तीमा बीच–बीचमाआधुनिक शैलीका घर र होटेलहरु पनि थपिँदै छन्।कापुचे, कोरी वा दुवै ठाउँको पदयात्रा गर्नेहरु सँगै सिकलेससम्म मात्रै आउने पनि हुने रहेछन्, जसलाई यहाँको न्यानो आतिथ्य, मनोरम वातावरण, गुरुङ सँस्कृति र रहनसहन झल्काउने बस्ती, सङ्ग्रहालय, हिमालहरुको दृश्यावलोकनजस्ता आकर्षणले एक–दुई दिन रोक्न सक्छन्।

कोरीबाट देखिएको हिमाल

सिकलेसमा बस्न आफ्नो रुचि अनुसार होमस्टे वा होटेल रोज्न सकिन्छ। प्रति व्यक्ति १ हजार २०० देखि १ हजार ३०० रुपैयाँमा गाँसबाससहितका प्याकेज उपलब्ध हुन्छन्। यहाँबाट माथि लागेपछि भने पदमार्गले समेट्ने सबै ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले गाउँबस्ती भेटिँदैनन्, होटेल, टी–हाउस वा छाप्राहरुमा बस्नु पर्दछ। जहाँ त्यही प्याकेजको १ हजार ६०० देखि २ हजार रुपैयाँसम्म पर्दछ। प्याकेज बाहेक दिउँसोको खानाको लागि चाहिँ ५०० देखि ८०० रुपैयाँसम्म तिर्नुपर्दछ।

सिकलेस–कापुचे–कोरी पदमार्गका होमस्टे, होटेल र लजहरुले दाल–भातबाहेक तरकारीचाहिँ सकेसम्म स्थानीय मौसमी उत्पादनकै खुवाउँदा रहेछन्। कतै–कतै दाल पनि स्थानीय सिमीको खान पाइन्छ। पाहुनालाई खुवाउन यहाँका होटेल–लज सञ्चालकहरुले वरिपरि सागपात, सिमी, बरेला, स्कुस, बन्दा, काउलीजस्ता मौसमी तरकारी लगाउँदा रहेछन्।

सिकलेसबाट कापुचे जाँदा घना जंगलको उकालो–ओरालो बाटोमा तल मादी नदी गड्गडाउँदै बगेको र माथिबाट साना–ठूला झरनाहरु झरेको हेर्दै, स–साना सहायकनदी, खोल्सा–खोल्सी, जङ्घार र ठाउँ–ठाउँमा मादीलाई समेत्तर्दै हिँड्दा थकाइ र कठिनाइ कमै महसुस हुन्छ। बाटोमा पर्ने इदि खोलाको झरना त साह्रै नै मनमोहक छ, जहाँ पदयात्रीहरुलाई केही समय सुस्ताउन र भोकप्यास मेटाउन टि–हाउस पनि भेटिन्छ।

टि-हाउस
इदि खोला झरना

पदयात्री कतै नअलमलियुन्,उनीहरुलाई खान–बस्न पुग्ने ठाउँ तय गर्न सजिलो होस् भनेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हरेक दोबाटा र बिसौनीमा आउने ठाउँको दूरी र त्यहाँ पुग्न लाग्ने समय उल्लेख गरेर संकेत पाटीहरु राखिदिएको छ। सिकलेसबाट बिहान ८ बजे हिँड्दा दिउँसो २ बजे तिर हुगुगोठ अनि त्यहाँ खाना खाएर अगाडि बढ्दा बेलुकी ५ बजेसम्म कापुचे पुगिन्छ। उज्यालैमा पुगिएको छ भने साँझपखको हिमताल हेर्न रमाइलै हुन्छ। नभए, बिहान सबेरैको दृश्य हेरेर रमाउने त छँदैछ।

कापुचे अन्नपूर्ण दोस्रो हिमालबाट उत्पन्न हिमनदीले बनाएको ताल हो। यहाँ तालको छेउमै गएर हिमताल, हिमनदी र अन्नपूर्ण दोस्रोको एक पाखो अनि अलि छेउ तिर लमजुङ हिमालको चुचुरो देख्न पाइन्छ। यही तालबाट कास्कीको उत्तर–पूर्वी भेगमा बग्ने मादी खोला निस्केको छ।

मादी खोला

कापुचे दिउँसै पुगिएको छ भने त्यहाँ नबसी तल एक–डेढ घण्टाको ओरालो बाटो हुगुगोठ आएर बसेमा भोलिपल्ट कोरीको लामो उकालो यात्रा अलि सहज हुन्छ। कापुचेमै रात बसेर भोलिपल्ट कोरी जानेहरु पनि बिहान अलि छिटै निस्किन सके बेलैमा पुग्छन्। बाटोमा न्यौला वा न्ह्योता कहाँ ठीक हुन्छ, पहिल्यै खाना अर्डर गरेर गएमा खान पाइएला–नपाइएला भन्ने चिन्ता पनि हुँदैन।

बाटोभरि अधिकांश ठाउँमा फोन नलाग्ने हुनाले कोरीका लागि पनि गाँसबासको जोहो पहिल्यै गरेर जानु बुद्धिमानी हुन्छ। कोरीमा तीनवटा मात्रै होटेल छन्। पुगिसकेपछि होटेलहरुले जसोतसो व्यवस्था गरेर त राख्लान्, तर ३ हजार ८०० मिटरमाथिको उचाइमा राम्रो खाना एवम् न्यानो र सुविधाजनक बास भएन भने निन्द्रा नपर्ने, श्वास–प्रश्वासमा कठिनाइ हुने, टाउको दुख्ने आदि समस्या हुन सक्छन्, जुन लेक लाग्ने रोगका लक्षण पनि हुन्। आउने ठाउँको खाना र बासको व्यवस्था गर्न यहाँ होटेलहरुबीच राम्रै समन्वय देखिन्छ।

कापुचेबाट कोरी जाने जङ्गलैजङ्गल र बीच–बीचमा खर्कहरु भएको रमाइलो बाटो छ। मौसम सफाभए बाटोको उत्तरपट्टि हिमालहरु हेर्दै जाँदाबेग्लै आनन्दआउँछ। कोरीमा बिहान सबेरै उठेर जाने पहिलो ठाउँ होटेलदेखि पाँच मिनेट माथिको कोरी डाँडा हो, जहाँबाट मर्दी देखि माछापुच्छ्रे, बाह्रशिखर, अन्नपूर्ण तेस्रो र चौथो, लमजुङ, गङ्गापूर्ण र मनास्लु हिमालहरु देखिन्छन्। कोरी डाँडाबाट अलि माथि ४२००–४३०० मिटरसम्मको उचाइका ठूल्लेक र भ्यू प्वाइण्टसम्म पुग्ने हो भने ती हिमालहरु अझै नजिकबाट देखिन्छन्। तर अहिलेसम्म पदयात्रीहरुलाई त्यहाँसम्म पुर्‍याउने व्यवस्थित बाटो नबनि सकेकाले कोरी पुग्ने हरुमध्ये केहीमात्रै त्यहाँ पुग्छन्, धेरैतलकै डाँडाबाट हिमालहरुको मनोरम दृश्य हेरेर अघाउँछन्।

कापुचे–कोरी केही वर्षदेखि मात्र चल्न थालेको नयाँ पदमार्ग हो। अन्नपूर्ण बेस क्याम्प, अन्नपूर्ण सर्किट, लाङटाङ, एभरेष्ट बेस क्याम्पर अरु चल्तीका गन्तव्यमा जस्तो छ्याप्छ्याप्ती विदेशी पदयात्री यहाँ भेटिँदैनन्। अक्टोबर–नोभेम्बरको मध्य सिजनमा चारदिन लगाएर सिकलेस–कापुचे–कोरी–सिकलेसको फन्को मार्दा भेटिएका सयौँ पदयात्री मध्ये बंगलादेश र फ्रान्सका चारजनामात्रै विदेशी थिए।

हामी कापुचे जाँदै र बंगलादेशीहरु सिकलेस फर्किंदै गर्दा भेटिएकाले उनीहरुसँग धेरै कुरा हुन पाएन। तर कापुचेबाट कोरी जाँदा भेटिएका पल र लुसीको स्वीस जोडी भने कोरीबाट पनि अगाडि बढेर केहीदिन बस्ती र मानिस नभेटिने निर्जन बाटो पछ्याउँदै ४८५० मिटरको नामुन–लापास पार गर्ने र मनाङ निस्किने सुरमा थिए। उनीहरु टेण्ट र पकाउने–खाने बन्दोबस्त सहित् २०–२५ केजीको भारी बोकेर हिँडेका थिए। स्वीट्जरल्याण्डका होचा पहाडहरु देखेको यो जोडी यहाँका अग्ला पहाड र तिनको प्राकृतिक सौन्दर्यबाट निकै मोहित देखिन्थ्यो ।

पदयात्रामा स्वदेशीहरु, तिनमा पनि युवाहरुको बढ्दो संख्याले राम्रो सन्देश दिएको छ। पहिले–पहिले यसरी घुम्ने विदेशीहरु मात्रै हुन्थे भने अहिले घुमन्ते सँस्कृतिको विकास हामीमा पनि हुँदैछ।

कापुचे–कोरी पदयात्रामा अनेकन् आकर्षण सँगसँगै केही समस्या पनि रहेछन्, जसमा मुख्यतः पूर्वाधारका कुरा पर्दछन्। पदयात्रामार्गको दूरी एवम् यात्रा गर्दा लाग्ने समयका हिसाबले पर्याप्त होटेल वा टि–हाउसहरु नभएका र कतिपय ठाउँमा व्यवस्थित पदमार्गको विकास भइनसकेको त माथि नै चर्चा भइसक्यो। त्यसबाहेक कोरीमा सबैभन्दा ठूलो समस्या पानी र बिजुलीको रहेछ।

स्थानीय होटेल व्यवसायी धन गुरुङका अनुसार वर्षा सकिएर प्रमुख पर्यटकीय सिजन सुरु भएसँगै नजिकैका पानीका स्रोतहरु सुक्दै जान्छन् र टाढा–टाढा देखि पानी बोकाएर ल्याउनु पर्दछ। फोन नेटवर्क अर्को प्रमुख समस्या हो। कोठा बुक गरेर हिँडेको पदयात्रीले समयमा पुग्न सकिन्छ–सकिँदैन भनेर बीच बाटोबाट सम्पर्क गर्नुपर्‍यो भने आक्कल–झुक्कलमात्र हुने फोन सम्पर्कले गर्दा निकै तनाव झेल्नु पर्दछ।

व्यवसायी धन गुरुङ
कापुचे

जहाँ नेपाली पदयात्रीहरु धेरै आउँछन्,त्यहाँ फोहोर, अत्यधिक मदिरा सेवन, राती अबेरसम्म हो–हल्ला पनि हुने रहेछ। सबै नेपाली यस्तै हुन्छन् र सबैले यसै गर्छन् भन्न खोजिएको होइन, तर केहीले चाहिँ गर्दा रहेछन् भन्ने प्रत्यक्ष देख्न अनुभव गर्न सकिन्थ्यो।

पदयात्रामा स्वदेशीहरु, तिनमा पनि युवाहरुको बढ्दो संख्याले राम्रो सन्देश दिएको छ। पहिले–पहिले यसरी घुम्ने विदेशीहरु मात्रै हुन्थे भने अहिले घुमन्ते सँस्कृतिको विकास हामीमा पनि हुँदैछ। हामी आफ्नै देश हेर्न–बुझ्न पढाइ र कामकाजबाट समय निकालेर यात्रा गरिरहेका हुन्छौं। हाम्रो यात्राले घरेलु पर्यटनलाई प्रवर्धन गरेको, स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्‍याएको छ, विभिन्न समुदायबीच साँस्कृतिक आदान–प्रदान, मेलमिलाप र भाइचारा बढाउने अवसर दिएको छ।

तर, यससँगसँगै हामीले आफ्नो कुनै व्यवहारले त्यो ठाउँको सौन्दर्य नबिथोलियोस्, पछि आउनेले त्यसलाई प्राकृतिक रुपमा जस्तो छ त्यस्तै देख्न पाउन्, सँगै यात्रा गर्ने अरु कसैको शान्ति–सुबिस्ता नखलबलियोस् भन्नेतर्फ पनि सचेत हुनुपर्दछ। आफ्नो घुमघामलाई सभ्य र सुसँस्कृत बनाउनु हाम्रै जिम्मेवारी हो। स्थानीय होटेल व्यवसायी, सम्बद्ध सरकारी निकाय र आयोजनाहरुले पनि यसमा ध्यान दिनुपर्दछ।