‘कुनै क्षेत्रमा पैसा कमाउने बित्तिकै होटल खोल्ने प्रवृति देखियो,’ सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंको अन्तर्वार्ता

बिजमाण्डू
२०८१ पुष १ गते ०९:४८ | Dec 16, 2024
‘कुनै क्षेत्रमा पैसा कमाउने बित्तिकै होटल खोल्ने प्रवृति देखियो,’ सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंको अन्तर्वार्ता


भारतको ओभरोय, बेलायतको आइएचजी जस्ता चर्चित होटल व्यवस्थापन ब्राण्डसँग सहकार्य गर्दै आएको सोल्टी होटल अहिले आफ्नै ब्राण्ड विस्तारमा आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको छ। कम्पनीले अहिले मुलुकभित्रै १२ वटा होटलमा आफ्नो ब्राण्ड व्यवस्थापनका लागि सम्झौता गरिसकेको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि ब्राण्ड विस्तारका लागि कम्पनीले गृहकार्य थालिसकेको छ। कोभिडको संकटलाई पन्छाउँदै व्यावसायिक रुपमा सफल बनिरहेको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंलाई बिजमाण्डूका विज्ञान अधिकारी र वसन्तराज उप्रेतीले सोधे :

Tata
GBIME
NLIC

कोभिडकालमा सोल्टी होटलले २५० कर्मचारीलाई गोल्डेन ह्याण्डसेक गरेर विदाइ गर्‍यो। केहि पाँच तारे होटल बन्द पनि भए त अधिकांश पाँच तारे होटल आर्थिक संकटमा परेका थिए। तर सोल्टीले त्यही समयलाई उपयोग गरेर आक्रामक रुपमा व्यवसाय विस्तार गर्‍यो। यो कसरी सम्भव भयो ?

कोभिड-१९ को बेलामा अन्योल थियो। भोलि के हुन्छ भन्ने अनुमानै थिएन। योजनावद्ध रुपमा अगाडि जाने सम्भवना कम थियो। तर, सौभाग्यवस हामीले गरेको निर्णय सही भएको पछि रियलाइज गरेका थियौं।

कर्मचारीलाई गोल्डेन ह्याण्डसेक गरेर पठाउनुको मुख्य उद्देश्य हामीसँग एउटा फण्ड थियो। थोरै फण्ड बाँकी थियो। त्यो फण्डले कति टाइम जान्छ भन्ने थाहा थिएन। त्यो फण्डले नियमित रुपमा तलब दिने कि बीउ पुँजी दिने सुझाब लियौं। कर्मचारीको सुझाव अनुसार एकमुष्ठ पैसा दिने निर्णय भयो। जुन समय अधिकांश होटललाई पैसा कसरी जम्मा गर्ने भन्ने अवस्था थियो।

कर्मचारीलाई पनि भोलिको अवस्था अन्योलनै थियो। हस्पिटालिटी उद्योग ४ वर्षसम्मै अस्तव्यस्त भयो भने कसरी सर्भाइभ हुने चुनौतीको विषय थियो। कम्पनीले पैसा भए मात्रै तलब दिन्छ भन्ने कुरा पनि आयो। त्यही भएर उहाँहरूले केही पैसा लिएर जागीरबाट निस्किनेमा जोड दिनुभयो। त्यही आधारमा धेरै गोल्डेन ह्यान्डसेकमा जानुभयो।

बिस्तारै विजनेश रिभाइभ हुँदै गयो। हाम्रो संचालन खर्च घट्यो। हामीले नियोजित ढंगले कर्मचारी घटाउने निर्णय गरेका थिएनौँ। एउटा हिसाबले संचालक समितिबाट पनि सहयोग भयो। ‘कन्स्ट्रक्टिभ ब्रेन स्ट्रोमिङ’ भएको थियो। बोर्डले ‘रिस्क’ लिएको हो। अरु कम्पनी त पैसा जोगाउन लागेका थिए।

हामीले त्यसबेला दुई ठाउँमा पैसा खर्च गर्‍यौं। एउटा भविष्यमा दायित्व कम गर्ने उद्देश्यले स्टाफलाई गोल्डेन ह्याण्डसेक गर्‍यौं। अर्को होटलको रेनोभेशन गर्‍यौं। पैसा हामीले राखेनौँ। पैसा जति छ होटल रेनोभेशनमै लगायौँ। किनभने रेनोभेसनका लागि त्यही समय सही थियो। होटल संचालनमा हुँदा होटल रेनोभेसन सम्भव थिएन। एउटा रुम रेनोभेशन गर्न ३ महिना समय लागिरहेको छ।

त्यो बेलामा त हामीलाई पर्याप्त समय थियो। त्यही बेलामा हामीले होटलको लबी रेनोभेट गरेका हौं। यदि आजको दिन थियो भने त्यो असम्भव थियो। अर्को लबी बनाउनुपर्ने थियो। ब्यांक्वेट र लबी हामीले त्यो बेला रेनोभेट गरेका हौं। यी हाम्रा आम्दानीका प्रमुख स्रोतहरू हुन्। यी सबै कारणले हाम्रो संचालन खर्च कम भएर नाफा उत्साहजनक भयो।

हाम्रो अध्यक्ष र सिनियर म्यानेजमेन्टको आइडियाले हामी यो स्थानमा आइपुगेका हौं। हामीले गत वर्ष ६१ करोड रुपैयाँ खुद नाफा गरेको पनि सही निर्णयकै कारण हो।

कोभिडकालमा तपाईंहरूले लिनुभएको कदमले सोल्टीलाई अझ माथि पुर्‍यायो। गोल्डेन ह्यान्डसेक र रेनोभेसन गर्ने निर्णय कसरी आयो ?

कोभिड-१९ सुरु भएपछि होटलको संंचालक समिति र सिनियर म्यानेजमेन्ट संयुक्त रुपमा बस्यौं। संयुक्त रुपमा भएको छलफलबाटै यो योजना आएको हो। हाम्रो अध्यक्ष र सिनियर म्यानेजमेन्टको आइडियाले हामी यो स्थानमा आइपुगेका हौं। हामीले गत वर्ष ६१ करोड रुपैयाँ खुद नाफा गरेको पनि सही निर्णयकै कारण हो।

कुनै पनि उद्योग व्यवसायलाई इनोभेसनले जीवन्त राख्छ। तपाईंहरू होटलको कुन क्षेत्रमा बढी फोकस हुनुभयो जसका कारण नाफामा छलाङ मार्न सफल भयो ?

हामीले संचालन खर्चलाई घटाउनेतर्फ बढी केन्द्रित भयौं। कोभिड-१९ अघि र पछि संचालन खर्च र आम्दानीलाई अध्ययन गर्न थाल्यौं। त्यहाँ खर्च र आम्दानीमा मिसम्याच रहेको पायौं। फरक यति थियो कि १० रुपैयाँको रेभिन्यु हामी र हाम्रा प्रतिस्पर्धीले कमाइरहेको छ भने हामी चाहिँ त्यो १० रुपैयाँ कमाउन ८ रुपैयाँ खर्च गरिरहेका थियौं। हाम्रा प्रतिस्पर्धीले १० रुपैयाँ कमाउन ५ रुपैयाँ खर्च गरेका थिए। किनभने हाम्रो संरचना यति पुरानो भइसकेको थियो कि १० रुपैयाँ खर्च नगरी संचालन हुनै सक्दैन्थ्यो।

त्यसले गर्दा हाम्रो ‘प्रोफिट स्रिङ्क’ भइरहेको थियो। नाफाका पछाडि बीचमा जुन रेनोभेशन गर्‍यौँ, कर्मचारीको गोल्डेन ह्याण्डसेक गर्‍यौँ यी दुईवटा नै मेजर फ्याक्टर हुन्। रेनोभेशनसँगै डिजिटाइजेशन, अटोमेशन, पुरानो स्ट्रकचरलाई चेन्ज गरेपछि युटिलिटी कस्ट, इलेक्ट्रिसिटी कस्ट कम हुन गयो।

जस्तै, पुरानो पाइप छ नयाँ पाइप ल्याएपछि फ्लो कम हुने, पुरानो बत्ति थियो, ५ वाटको पछि २ वाटको बत्ति जडान गर्दा लागत घट्यो। सुक्ष्म रुपमा हेरेर हामीले लागत कम गर्न सफल भयौं। हामीले संचालन खर्चलाई हाम्रो अनुकूल ल्याउन सफल भयौं। यो गर्न हामीलाई केही खर्च लाग्यो। तर यसको प्रतिफल राम्रो देखियो।

भनेपछि संचालन खर्चका हिसाबले नयाँ होटल र तपाईंहरूको होटलको अवस्था एउटै भयो?

लगभग एउटै स्तरमा आयो। त्यही भएर हाम्रो आम्दानी अरु होटलको भन्दा राम्रो छ। त्यही भएर हामी नाफामा जम्प गर्न सफल भयौं।

सेवा र इन्फ्रास्ट्रक्चर एउटा हार्डवेयर र अर्को सफ्टवेयर भयो। प्रोपोर्टी धेरै राम्रो बन्यो। लबी, रुम, एमिनिटिज लगायत राम्रो बन्यो। तर त्यसले पुग्दो रहेनछ। ५० प्रतिशत भन्दा बढी भूमिका सेवाले खेल्छ।

अर्को मुख्यतः हामीले दुई/तीन वटा कुरामा काम गरिरहेका छौं। कर्मचारीको तालिम र कर्मचारीको इफिसियन्सी। जस्तै, एउटा डिपार्टमेन्टमा ५० जना जनशक्ति कार्यरत थिए। हामीले अटोमेसन गर्‍यौँ। कम्प्युटर दिनुपर्ने ठाउँमा कम्प्युटर, स्किल दिनुपर्ने ठाउँमा स्किल दिएर हामीले इक्विप्ड बनायौं। ट्याबलेट दिएर हुन्छ कि एप्स दिएर हुन्छ त्यसमा लगानी गर्‍यौं। अनलाइनमा भिजिबिलिटी, वेबसाइटको भिजिबिलिटी लगायतका कारण ५ जना लाग्ने काममा ३ जना भए पुग्ने भयो।

त्यही समयमा कर्मचारीको इफिसियन्सी पनि बढ्यो। जनशक्तिलाई तालिम गरायौं। हाम्रो छुट्टै ट्रेनिङ डिपार्टमेन्ट छ। अष्ट्रेलियाको इन्टरनेश्नल ट्रेनिङ टुल छ। हरेक कर्मचारीले यो तालिम गर्नैपर्छ। त्यसले गर्दा कर्मचारीको दक्षता बढ्यो। पहिला उहाँहरूको स्किल १० अंकमा पाँच थियो भने अहिले सात पुगेको छ। त्यसले कर्मचारी कम भयो भने इफिसियन्सी पनि बढ्यो।

सोल्टी यस्तो ब्राण्ड बन्यो की यहाँबाट गोल्डेन ह्याण्डसेक गरेर गएका जनशक्ति हस्पिटालिटी सेक्टरकै हटकेक भए। अधिकांश जनशक्ति अरु राम्रा होटलमा जोडिसकेका छन्। यसरी हेर्दा सोल्टी एउटा ठूलो ब्राण्ड बनेको छ। यो कसरी सम्भव हुने रहेछ ?

हामी भनेको सेवासँग जोडिएका कम्पनी हौं। हामीले ग्राहकलाई सेवा दिन्छौँ। होटलमा आउने ग्राहकलाई राम्रो सेवा दिने विश्वास दिलाउनसक्नुपर्छ। होटल उद्योगको सबैभन्दा कोर चिज भनेको ‘गिभिङ द कन्फिडेन्स टु द गेस्ट’।

सेवा र इन्फ्रास्ट्रक्चर एउटा हार्डवेयर र अर्को सफ्टवेयर भयो। प्रोपोर्टी धेरै राम्रो बन्यो। लबी, रुम, एमिनिटिज लगायत राम्रो बन्यो। तर त्यसले पुग्दो रहेनछ। ५० प्रतिशतभन्दा बढी भूमिका सेवाले खेल्छ।

३० स्क्वायरमिटरको रुम र २५ स्क्वायरमिटरको रुम हुँदा खासै भिन्नता हुँदैन। तर सेवा चाहिँ १० अंकमा तीन र आठले धेरै फरक पार्छ। सेवा भनेको मान्छेसँग जोडिएको विषय हो। जतिसुकै डिजिटाइज गरौँ अटोमेट गरौँ होटल उद्योगमा ‘ह्युमन टच’को भूमिका ठूलो हुन्छ।

कुनै कार्यक्रम हुँदा हाम्रो टिमले धेरै पटक आउने ग्राहकलाई नजिकबाट हेरिरहेको हुन्छ। त्यो ग्राहकले कुन ड्रिक्स गर्छन् भन्ने याद गरेर सर्भ गरिरहेका हुन्छन्। त्यसरी सेवा दिँदा ग्राहक खुशी हुन्छन् र कन्फिडेन्स पनि बढ्छ।

अहिले ब्राण्ड लिएर सञ्चालन भइरहेका अधिकांश होटलको कम्पनीको नाम थाहा छैन। लिस्टेडमै भएकै कम्पनीको नाम नै ब्राण्डको नामले लिन्छन्। हाम्रो पुर्वजको जुन लेगेसी र अवधारणानै सोल्टीको आफ्नै ब्राण्ड बनाउने भन्ने हो।

यी सबै जोड्नुको पछाडि सोल्टी कसरी स्थापित ब्राण्ड बन्यो भन्ने हो। अब तपाईंहरू इन्टरनेशनल ब्राण्डसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। सुरुमा ओभरोय, आइएचजी लगायत ब्राण्डले हेर्ने सोल्टी अहिले आफैंले व्यवस्थापन गर्न थाल्नुभएको छ। आफ्नै ब्राण्ड ल्याउने सोच कसरी आयो?

आफ्नै ब्राण्ड बनाउने सोच हामीले अहिले आएर बनाएको होइन। हाम्रा अग्रज र अहिलेको अध्यक्षको सोचका कारण बनेको आइडिया हो। ओभरोय र आइएचजीले व्यवस्थापन गरेपनि सबैले सोल्टी होटल भनेरै चिन्थे। सोल्टीको नाम ओभरोय र क्राउन प्लाजाभन्दा अगाडि आउँथ्यो।

अहिले ब्राण्ड लिएर संचालन भइरहेका अधिकांश होटलको कम्पनीको नाम थाहा छैन। लिस्टेडमै भएकै कम्पनीको नाम नै ब्राण्डको नामले लिन्छन्। हाम्रो पूर्वजको जुन लेगेसी र अवधारणा नै सोल्टीको आफ्नै ब्राण्ड बनाउने भन्ने हो।

पहिला पनि काम नभएको होइन। तर विविध कारणले सम्भव भएको थिएन। द्वन्द्वका बेलामा पनि प्रयास भएको थियो। धेरै ठाउँमा जग्गा पनि खरिद गरिएको थियो। तर गर्न सकिरहेको अवस्था थिएन। होटलमै पनि केही समस्याहरू थिए।

हामीमा आत्मविश्वास पहिलादेखि नै थियो। तर उपयुक्त समय आइरहेको थिएन। कोभिडपछि सन् २०१८ मा नेपालगञ्जको होटल आफैं संचालनमा ल्यायौं। कोभिडसँगै होटलहरू भटाभट आउन थाले। उहाँहरूले अनौपचारिक रुपमा होटल संचालनको बारेमा सोधिखोजी गर्न थाल्नुभयो। त्यसपछि हामीले व्यवस्थापन किन नलिने भन्नेबारेमा छलफल भयो।

जस्तै, ओभरोय जब यो होटलमा आएको थियो। ओभरोयको पहिलो अन्तर्राष्ट्रिय होटल सोल्टी थियो। ५० वर्ष अगाडि उनीहरूले गरेको चरणमा हामी छौं। तर हामीमा धेरै ठूलो आत्मविश्वास छ। हाम्रो ५५ वर्षको अनुभवले पनि आत्मविश्वास बढाएको हो। कोभिडपछि त्यही अनुभवलाई लिएर होटल व्यवस्थापन गरेका हौं। हामीले कुनै होटल लिँदा असफल भयो भने ठूलो जोखिम हुन्छ भन्ने पनि बुझेका थियौं। त्यसकै आधारमा हामीले जोखिम मोलेर होटलको व्यवस्थापन गरेका हौं। त्यही भएर तीन वर्षमा १२ वटा होटलको व्यवस्थापन लिने सम्झौता गरिसकेका छौं।

अहिले चाहिँ के छ भने जब कुनै होटलको प्रोपोर्टी बन्यो तर चलाउन सकिएन। सोल्टीलाई बोलाइहालौँ न भन्ने कुरा पनि सुनिन्छ। यस्तो सुन्दा कस्तो लाग्छ?

एकदम खुसी लाग्छ। अहिले चाहिँ कस्तो स्टेजमा पुगेका छौँ भने हामी इन्टरनेशनल ब्राण्ड हौं। हामी सस्तो छैनौं। हाम्रो व्यवस्थापन शुल्क अन्तर्राष्ट्रिय स्तरकै छ। कुनै होटल संचालकले अन्तर्राष्ट्रिय ब्राण्डसँग कुरा गर्दागर्दै हामीसँग सम्झौता पनि गर्नुभएको छ। हामी प्राथमिकतामा परिरहेका पनि छौं।

हाम्रो कम्पनीको गुड गर्भर्नेन्सका कारण कर लगायतका विषयमा पनि उहाँहरुलाई सहयोग दिन्छौं। मुलुकभित्रकै ब्राण्ड भएपछि होटल संचालकको आत्मविश्वास पनि बढी हुन्छ।

नेपाली ब्राण्ड भएपछि दुई/तीनवटा फ्याक्टरले काम गर्दो रहेछ। अन्तर्राष्ट्रिय ब्राण्डमा सिनियर म्यानेजमेन्ट टिमलाई भेट्न जान गाह्रो रहेछ। उहाँहरूले एउटा महाप्रबन्धक पठाउने र सिस्टम दिने अटोमोडमा चलाउने गर्नुहुन्छ। तर हामी अप्रोचेबल पनि भयौं। हरेक दिन उच्च व्यवस्थापक वा अध्यक्षसँग कुरा गर्नुहुन्छ। हाम्रो टिम सधै सीधा सम्पर्क गर्न सकिने र कुनै समस्या भएमा एकै दिनमा मिटिङ राख्न सकिने भयो। त्यो वाहेक हामीले उहाँहरूले होटल बनाउँदाको टार्गेट सेग्मेन्टलाई पनि हेर्छौं।

उहाँहरूको बजारलाई पनि सहयोग गर्छौं। कुनै बैंकबाट ऋण लिएर बनाउनु भएको छ भने कुनै समस्या भएमा बैंकसँग छलफल पनि गरिदिन्छौँ। कुनै कानुनी झमेला आएमा पनि सहयोग गरिदिन्छौं। हाम्रो कम्पनीको गुड गर्भर्नेन्सका कारण कर लगायतका विषयमा पनि उहाँहरूलाई सहयोग दिन्छौं। मुलुकभित्रकै ब्राण्ड भएपछि होटल संचालकको आत्मविश्वास पनि बढी हुन्छ।

यहाँ अहिले इन्टरनेशनल ब्राण्ड ल्याउने होड चलेको छ। त्यसमा प्रतिस्पर्धा गर्नका लागि के कस्तो चुनौती देख्नुहुन्छ?

नेपालमा भएको भएर कम्प्लायन्स, गभर्नेन्स, कर लगायत सबै चिजमा हामी अब्बल छौं। बरु यसमा अरु ब्राण्डले हामीलाई प्रतिस्पर्धीको रुपमा हेर्दै आएका छन्। नेपालमा नाम चलेका इन्टरनेशनल ब्राण्ड र सोल्टी गर्दा मिडल लेवलबाट माथि जुन डेमोग्राफी छ त्यसले सोल्टीलाई माथि राखेको देखेँ।

विदेशमा देखेर आएकाले सोल्टीको तुलना गरेर अन्तर्राष्ट्रिय स्तरको सेवा दिने रहेछ भनेर भावना जागृत गराउनुभएको पनि छ। सोल्टी ५४ वर्ष पुरानो भएको कारण भारतमा जुन ब्राण्डको दबदबा छ त्यहि लेवलमा हाम्रोमा पनि छ। त्यो भन्दा बाहिरको मुलुकमा भेरिएसन छ। त्यसमा हामीले सचेत गराउँदै आएका छौं।

सुरुमा बुझाउन केही कठिन भएपनि अहिले उहाँहरूले तुलना गरेर सोल्टी खोज्न थाल्नुभएको छ। बुकिङ प्लेटफर्मका केही विषय होलान्। अमेरिकाबाट कसैले बुक गर्छ भने अमेरिकामा रहेको इन्टरनेशनल ब्राण्डमै उ भिजीबल हुन्छ। त्यहाँ भिजबल गराउन मार्केटिङ नै गर्नुपर्ने रहेछ। हामीले पनि त्यो किसिमको मार्केटिङमा खर्च गरिरहेका छौँ। हामी फेयरहरूमा सहभागी भइरहेका छौं। त्यो पनि छुट्टै स्टल बनाएर गरिरहेका छौं। मार्केटिङमा खर्च नगरी नहुँदो रहेछ। अब अर्को ६ वर्षसम्म हामी इन्टरनेशनल मार्केटिङमा खर्च गर्नेछौँ।

कतिपय ठाउँमा जाँदा मुलुकको पैसा जोगाइरहनुभएको छ भन्ने प्रतिक्रिया आइरहेको छ। त्यहिँबाट मोटिभेशन हुँदै आएका छौँ।

स्थानीय बजारमा पनि हामी सकेसम्म भिजिबल हुन खोजिरहेका छौँ। सोल्टी होटलले दिने सेवा अन्यभन्दा फरक रहेको बारेमा अन्तर्राष्ट्रिय बजारमा दिने कोशिस गरिरहेका छौँ। र, सफल पनि भइरहेका छौँ।

सोल्टी र इन्टरनेशनल चेन होटल विचको केही भिन्नता छ। जति पनि सेवा शुल्क सोल्टीले लिन्छ त्यो नेपालमै रहन्छ।यति ठूलो योगदान दिने कम्पनीलाई सरकारी निकायबाट हुनुपर्ने सहजीकरण भइरहेको छ ?

सरकारी निकायमा हामीले यसका बारेमा जानकारी गराइरहेका छौं। यो बुझाउन आवश्यक रहेछ। सरकारी निकायमा थाहा भएपनि मनन अझै भइसकेको छैन। हामीले धेरै रकम सेभिङ गरिरहेका छौं। त्यसकै आधारमा सोल्टीलाई सहजीकरणका लागि आग्रह गरेका छौं।

कतिपय ठाउँमा जाँदा मुलुकको पैसा जोगाइरहनुभएको छ भन्ने प्रतिक्रिया आइरहेको छ। त्यहिँबाट मोटिभेशन हुँदै आएका छौँ।

यो किन जोड्न खोजिएको हो भने तपाईंहरु अब अन्तर्राष्ट्रिय बजारमा पनि जाँदै हुनुहुन्छ। त्यो रेकोग्निसन तब हुन्छ नी जब सोल्टी विदेश गएर इन्टरनेशनल ब्राण्ड बन्न सहज हुन्छ। सरकारी निकायको सहयोग पक्कै होला ?

हामीले यही कुरा उहाँहरूलाई बुझाउने कोशिस गरिरहेका छौँ। सन् २०२५ को पहिलो त्रैमाससम्म विदेशमा दुईवटा अन्तर्राष्ट्रिय होटल आफ्नो व्यवस्थापनमा संचालनमा ल्याउने योजनामा छौं। केही प्रक्रिया बाँकी नै रहेको छ। हामी ३ तारेदेखि ५ तारे होटलको व्यवस्थापन गर्नेछौं।

हामीले विदेशमा होटल व्यवस्थापन गरेको पैसा नेपाल ल्याउँछौं भन्दा उत्साहित हुनुहुन्छ। सुरुमा यो विषय बुझाउन गाह्रो भएको थियो। विदेशमा नेपाल र सोल्टीको झण्डा फहराउँछौं। यो हाम्रो सपना हो। तीन वर्षमै हामीले यति गर्छौं भन्ने थिएन तर छिट्टै यो चरणमा पुग्यौं।

होटल एकै प्रकृतिको बनिरहेको छ। रिसोर्ट बनायो एउटै किसिमको बन्दै आएको छ। लक्जरी, मिडस्केल, लो बजेट, भारतीय, चिनियाँ, बालमैत्री, वेलनेस लगायतलाई हेरिएको छैन। होटल बनाउने भन्यो कपीपेष्ट गर्ने काम धेरै भयो।

सोल्टीले विभिन्न ठाउँमा आफ्नो व्यवस्थापन गर्दै आएको छ। होटल च्याउसरी निर्माण भइरहेका छन्। अहिले जो पनि होटल खोल्ने होडमा छन्। कहाँ-कहाँ कस्ता-कस्ता समस्या रहेछन् जुन कुराले होटल सफल/असफल भइरहेका छन्?

यो हाम्रो मुलुकको यथार्थ हो। मुलुकको अर्थतन्त्र विस्तार गर्न जलविद्युत् र पर्यटन नै मेरुदण्ड हो। तर होसियारी भएर मात्र लगानी गर्नुपर्छ। माग र आपूर्ति नहेरी लगानी गर्नुहुँदैन। माग र आपूर्तिको बीचमा धेरै ठूलो खाडल छ।

होटल संचालकका हिसाबले माग सिर्जना हुन्छ भन्ने पनि होला। तर माग सिर्जना हुन तीन/चार वटा फ्याक्टरको भूमिका हुन्छ। पहिलो देशको मार्केटिङ हुनुपर्‍यो। दोस्रो भनेको पूर्वाधारको विकास हुनुपर्‍यो। तेस्रो भनेको हवाई सेवाको कनेक्टिभिटी आवश्यक छ। यी सबै भएपछि मात्रै माग सिर्जना हुन्छ। पाँच वर्षयता होटलको संख्या र कोठाको संख्या ३ गुणाले बढेको छ। त्यो हिसाबले माग बढेको छैन। पर्यटकको संख्या १० लाखकै वरपरमा छ। अहिलेको मुख्य समस्या भनेको यही हो। काठमाडौं वाहिर आन्तरिक पर्यटक नबढेको होइन तर अन्तर्राष्ट्रिय पर्यटक नआएसम्म हामीले सोचेको ग्रोथ सम्भव छैन। अहिले काठमाडौं आउने हवाई भाडा कति छ?

सिजन र अफसिजनमा श्रीलंका, मालदिभ्स, थाइल्याण्ड र नेपाल आउन हवाई भाडा प्रमुख कारण बनिरहेको छ। ती मुलुकको तुलनामा हाम्रो मार्केटिको स्तर कहाँ छ? हामीसँग मार्केटिङका टुल्स पनि कम भयो। हामीले ट्रेकिङ र पर्वातारोहण मात्रै बेचिरहेका छौंं। हामीले संस्कृति र एडभेन्चर बेच्न सकेका छैनौं। हामी ह्वाइट वाटर राफ्टिङका लागि विशेष गन्तव्य बनाउन सक्छौं। हामीले धार्मिक पर्यटन पनि बेच्न सक्छौं। हामीले यी सबैलाई हेरेर मार्केटिङ नगरी माग बढ्नेवाला छैन।

अर्को भनेको होटल एकै प्रकृतिको बनिरहेको छ। रिसोर्ट बनायो एउटै किसिमको बन्दै आएको छ। लक्जरी, मिडस्केल, लो बजेट, भारतीय, चिनियाँ, बालमैत्री, वेलनेस लगायतलाई हेरिएको छैन। होटल रिसोर्ट बनाउँदा एनलाइसीसको कमी भयो। होटल बनाउने भन्यो कपीपेष्ट गर्ने काम धेरै भयो।

देशलाई पर्यटकीय गन्तव्यमा प्रवर्धन गर्ने, डेस्टिनेशन वेडिङ, लेजर ट्राभल प्याकेज लगायत बिक्री गर्नेतर्फ लाग्नुपर्छ। त्यसका लागि प्रत्येक मुलुकमा गएर आक्रमक रुपमा मार्केटिङ गर्नुपर्छ। र एयर कनेक्टिभीटी बढाउनुपर्छ।

कुनै क्षेत्रमा पैसा कमाउनेवित्तिकै होटल खोल्नेतर्फ लागेको पनि देखियो। जग्गा र भवन सम्पत्ति भएकाले समेत यसमा आकर्षित बनिरहेको देखिन्छ। आजको दिनमा मेरो होटल छ भनेर रेकोग्नाइज हुन सहयोग पुग्ने भएकाले पनि लगानी बढी भइरहेको छ। पर्यटन क्षेत्रमा बैंकहरूले लगानी गर्नुपर्ने व्यवस्थाले पनि होटल निर्माण बढेको होला। त्यसले पनि अहिले खराब कर्जा पनि बढिरहेको छ। अहिले होटलले बैंक ऋणको किस्ता तिर्न नसकेको अवस्था पनि छ। होटल बनाइयो तर बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि छ।

पर्यटक आगमन यही अवस्थामा रहेमा होटल क्षेत्र गार्मेन्ट र पश्मिना उद्योगजस्तै डुब्ने अवस्थामा पुग्लान्?

हामीले माग सिर्जना गर्न सकेनौँ भने होटल उद्योग प्यानिक हुन्छ। त्यति नकारात्मक नबन्ने हो भने सुरुङको अन्त्यपछि उज्यालो पनि हुन्छ भन्ने सोचौं। हामी मागमा केन्द्रित होउँ।

देशलाई पर्यटकीय गन्तव्यमा प्रवर्धन गर्ने, डेस्टिनेशन वेडिङ, लेजर ट्राभल प्याकेज लगायत बिक्री गर्नेतर्फ लाग्नुपर्छ। त्यसका लागि प्रत्येक मुलुकमा गएर आक्रमक रुपमा मार्केटिङ गर्नुपर्छ। र एयर कनेक्टिभिटी बढाउनुपर्छ।

सोल्टी एउटा लिस्टेड कम्पनी पनि हो। स्टक मार्केटमा सर्वसाधरणको धेरै चासो छ। यो आर्थिक वर्षमा कस्तो नाफा होला ?

हामी लिस्टेड कम्पनी भएको नाताले सेयर बजारमा के भइरहेको छ भनेर जानकारी राख्दै आएका छौँ। तर हाम्रो संचालक समिति र व्यवस्थापन टिमलाई सेयर बजार घटबढको कुनै मतलब हुँदैन। हामीले त्यतातिर ध्यान नै दिएका छैनौं। तर हाम्रो व्यवसाय राम्रै भएकाले निश्चय पनि माथि जाने आत्मविश्वास भने छ।

अहिले हामी दुईवटा प्रोपोर्टी तयार गर्नका लागि प्रारम्भिक गृहकार्यमा छौँ। दुवै होटल लक्जरियस बनाउने व्यावसायिक योजना बनाएका छौं।  

अबको पाँच वर्षमा सोल्टीको अवस्था कस्तो हुनेछ?

हामीले अहिले विश्लेषण गर्दा अबको पाँच वर्षमा आन्तरिकतर्फ १५-२० वटा होटलमा आवद्ध हुनेछौँ। त्योभन्दा बढी मार्केट देखेका छैनौँ। अबको फोकस अन्तर्राष्ट्रिय बजारमा विस्तार हुने हो। पाँच वर्षपछि अन्तर्राष्ट्रियतर्फ २५-३० वटा होटलको व्यवस्थापन आफ्नै ब्राण्डमा गर्नेछौं।

आफ्नै ब्राण्डमा आफ्नै होटल संचालनमा ल्याउने योजना के छ?

अहिले हामी दुईवटा प्रोपोर्टी तयार गर्नका लागि प्रारम्भिक गृहकार्यमा छौँ। दुवै होटल लक्जरियस बनाउने व्यावसायिक योजना बनाएका छौं।