बीमा प्राधिकरणको कामप्रति दाहालको असन्तुष्टि, भने- नियामकजस्तो बनाऔं

बिजमाण्डू
२०८१ मंसिर २८ गते १६:०० | Dec 13, 2024
बीमा प्राधिकरणको कामप्रति दाहालको असन्तुष्टि, भने- नियामकजस्तो बनाऔं

काठमाडौं। नेपाल बीमा प्राधिकरणमा अध्यक्षको कामकाज गर्ने जिम्मेवारी पाएका अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

Tata
GBIME

उनले शुक्रबार अध्यक्षको जिम्मेवारी सम्हाल्ने क्रममा प्राधिकरणले नियामक निकायको रुपमा काम गर्न नसकेको बताए। उनले प्राधिकरणलाई नियामक जस्तो बनाउनुपर्ने आवश्यकता औंल्याए।

‘प्राधिकरणलाई नियामक जस्ताे बनाऔं। दुईजना कार्यकारी निर्देशक दुईतिर फर्केकाे मेराे कानले सुन्न नपराेस्,’ उनले भने। अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि दाहाल दुई महिनादेखि प्राधिकरणको सञ्चालक थिए। उनले सञ्चालक रहँदा प्राधिकरणले गरेको कामप्रति आफ्नो चित्त नबुझेको आशय शुक्रबार व्यक्त गरे।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल नागरिकता किर्तेमा मुद्दा दायर भएका कारण स्वत: निलम्बनमा परेपछि अर्थमन्त्री विष्णु पौडेलले दाहाललाई बिहिबार अध्यक्षको कामकाज गर्ने जिम्मेवारी तोकेका थिए।

सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

दाहालले बीमा क्षेत्रकाे विकासका लागि सरोकारवाला सबैपक्षको साथ लिएर काम गर्नुपर्नेमा जोड दिए। उनले काम गर्न अप्ठेराे हुने खालका कानून संशाेधन गर्न सरकार तयार रहेको तर कर्मचारीले समस्या सुनाउनेभन्दा नियमनमा प्रश्न नउठंने गरी काम गर्नुपर्ने बताए।