जनकपुर बन्यो एनपीएलको प्लेअफ पुग्ने पहिलो टोली, काठमाडौं ५ विकेटले पराजित

बिजमाण्डू
२०८१ मंसिर २७ गते १६:०७ | Dec 12, 2024
जनकपुर बन्यो एनपीएलको प्लेअफ पुग्ने पहिलो टोली, काठमाडौं ५ विकेटले पराजित

काठमाडौं। जनकपुर बोल्टस नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। बिहीबार सम्पन्न दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो।

Tata
GBIME
NLIC

जारी प्रतियोगितामा ६ खेल खेल्दा जनकपुरले पाँचवटा जित निकालेको छ। काठमाडौंसहित लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र विराटनगर किंग्सलाई हराएको जनकपुर सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। १० अंकसहित जनकपुर तालिकाको शीर्षस्थानमा छ।

आज काठमाडौंले दिएको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

जनकपुरका लाहिरु मिलन्था पहिलो विकेटका रुपमा ४.३ ओभरमा १६ रन बनाएर करण केसीको बलमा आउट भएका थिए। दोस्रो विकेट आशिफ शेखको गुम्यो। २ रन बनाएका उनी करण केसीकै बलमा गेहर्राड इरास्मसबाट क्याचआउट भए। तेस्रो नम्बरमा आएका कप्तान अनिलकुमार साह १० बलमा ११ रन बनाउँदै दीपेश कँडेलको बलमा एलबीडब्लु आउट भए।

काठमाडौंलाई चौथो सफलता साहब आलमले हात पारे। मध्यक्रमका ब्याटर शुभम कंशाकारले ५ रन बनाउँदै दीपेश कँडेलबाट क्याचआउट हुन पुगे। ९.४ ओभरमा ४४-४ को अवस्थामा क्रिजमा गएका जिम्मी निशमले खेलको गति बढाउने काम गरे। उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २७ रन बनाए। उनलाई गेहर्राड इरास्मसले एलबीडब्लु आउट गराए।

जनकपुरका हर्ष ठाकर २५ र मोहम्मद मोसिन १३ रनमा अविजित रहे।

काठमाडौंका करण केसीले २ विकेट लिँदा शहाब आलम, गेहर्राड इरास्मस र दीपेश कँडेलले समान १ विकेट लिए।

काठमाडौंको इनिङ्स

टस जितेर ब्याटिङमा उत्रिएको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भएको थियो।

इनिङ्सको तेस्रो ओभरबाट जनकपुरले सफलता हात पारेको थियो। २.३ ओभरमा ८ रन बनाएका माइकल लेभिटलाई किशोर महतोले मोहम्मद मोसिनबाट क्याचआउट गराउँदै पहिलो सफलता दिलाएका थिए।

दोस्रो विकेट मोहम्मद मोसिनले लिए। उनले ५.५ ओभरमा ४ रन बनाएका भीम सार्कीलाई अनिल कुमार साहबाट क्याचआउट गराए।

तेस्रो विकेटका रुपमा १७ रन बनाएका ओपनर स्टेफेन एसकिनाजीलाई ललितपुर एलबीडब्लु आउट गराएका थिए।

चौथो नम्बरमा ब्याटिङमा आएका नामिबियन कप्तान गेहर्राड इरासम्सले इनिङ्स उकास्न संघर्ष गरिरहँदा सुमित महर्जन शून्य, राशिद खान ७, डन डाउटवेथ १ र प्रतीक श्रेष्ठ ६ रन बनाएर आउट भए।

१५.३ ओभरमा सर्वाधिक २० रन बनाएर इरास्मस आउट हुँदा काठमाडौं ७४-८ को अफ्ठ्यारो अवस्थामा पुगिसकेको थियो।

काठमाडौंको स्कोर माथि लैजान दोस्रो ठूलो योगदान करण केसीको रह्यो। उनले १३ बलमा १९ रन बनाउँदै शेर मल्लको बलमा आउट भए। त्यस्तै शहाब आलम ८ रनमा अविजित रहे।

बलिङतर्फ ३ विकेट लिँदै जनकपुरमा ललितनारायण राजवंशी सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा उक्लिएका छन्। उनले काठमाडौंसहित पोखरा एभेन्जर्स र विराटनगर किंग्सविरुद्ध समान ३ विकेट लिँदा लुम्बिनी लायन्स र कर्णाली याक्सविरुद्ध सामान १ विकेट लिएका थिए।

राजवंशीले सर्वाधिक ३ विकेट लिँदा शेर मल्लले पनि ३ विकेट लिए।

त्यस्तै मोहम्मद मोसिनले २ तथा अरनिको यादव र किशोर महतोले समान १ विकेट लिए।