धेरै जग्गा लिएर आवास विकास गर्ने ‘ट्रेन्ड’ फेरियो, व्यवसायी अब साना कोलोनीतिर

नेत्र तामाङ
२०८१ मंसिर २७ गते ०९:१४ | Dec 12, 2024
धेरै जग्गा लिएर आवास विकास गर्ने ‘ट्रेन्ड’ फेरियो, व्यवसायी अब साना कोलोनीतिर
टोखाको फूलबारीबाट देखिएको पञ्चेटारमा निर्माणाधीन आवास कोलोनी

काठमाडौं। काठमाडौंको टोखास्थित पञ्चेटारमा अहिले एउटा कम्पाउन्डमा घरहरू बन्दैछन्। झोर पुग्ने सडकको ठिक अगाडि घरको फिनिसिङ भइरहेको छ। आवास कोलोनी नामको कम्पाउन्डमा बङ्लो शैलीका १२ वटा घर तयार गरिंदैछ।

Tata
GBIME
NLIC

आवास कोलोनी पारी त्यस्तै खाले ९ वटा घर धमाधम बनाइँदैछ।

तारकेश्वरको सानो बाइपासमा यसखाले भर्खरै बनेका घरको बुकिङ खुला गरिएको छ। साढे दुई तलाको घरको मूल्य १ करोड ६५ लाख तोकिएको छ। आवास विकासकर्ताले ६ वटा घर तयार गरेका छन्।

बुढानिलकण्ठ भंगालस्थित सुन्दरबस्तीमा नमस्ते कोलोनीमा ५.५ आनामा बनेका १० वटा घर बिक्रीमा छन्। मूल्य ४ करोडमाथि छ।

नागार्जुना कोलोनीले बालाजुबाट करिब ५ किलोमिटरमा पर्ने गोलढुंगामा ४ देखि ६ आनामा बनेका घरको मूल्य ३ करोडदेखि ४ करोड राखेर बुकिङ खुला गरेको छ। कोलोनीमा ९ वटा घर छन्।

टोखामा रहेको मिनी कोलोनी

भक्तपुरको दुवाकोट-२ मा ६ वटा घर बनाएर बिक्री गरेका विष्णु कार्की यही क्षेत्रमा थप घर बनाउने तयारीमा छन्।

‘केही दिनमा घर बनाउन सुरु गर्छु,’ रियल इस्टेट व्यवसायी कार्कीले भने, ‘अहिले ठूलो कोलोनी बनाएर बेच्न सक्ने अवस्था छैन। किनबेच निक्कै घटेकाले जोखिम लिएर लगानी गर्न सकिंदैन। त्यसैले साना-साना कोलोनीको योजना बनाएर काम गरिरहेको छु।’

बुढानीलकण्ठमा रोजभिल्ला हाउसमा १० वटा घर छन्। दुई वर्षअघि बनेका घर अझै बिक्री भएका छैनन्।

इमाडोल क्षेत्रमा पनि ५/६ वटा घर बनाउँदै बिक्री गर्ने क्रम बढ्दो छ। साढे तीनदेखि चार तले घरको मूल्य व्यवसायीले ३ देखि ४ करोडसम्म राखेका छन्। हवाई मार्गका कारण ध्वनि प्रदूषण हुने भन्दै ग्राहकले मूल्य घटाउन खोज्ने व्यवसायीहरूको भनाइ छ।

हलचोक

ललितपुरको भैंसीपाटी क्षेत्रमा ३ देखि ४ आनामा बनेका १५ घर बिक्रीमा छन्। यहाँ अरु क्षेत्रको तुलनामा घर केही महँगो छन्। भैंसीपाटीमा बिक्रीमा राखिएका घर ५ करोड हाराहारीका हुन्।

केही रिजनेबल प्राइसको घर खोज्न भने सहरबाट केही पर जानुपर्ने व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार ललितपुरको लुभु, लामाटार, सानागाउँ क्षेत्रमा डेढ देखि २ करोडसम्ममा घर पाइन्छ।

धेरै जग्गा लिएर आवास विकास गर्ने ट्रेन्ड फेरिएको देखिएको छ। घरजग्गा व्यवसायीहरू अब साना कोलोनीतिर लागेका छन्।बुढानीलकण्ठ, गोलढुंगा, रामकोट, स्युचाटार, बालकोट, ठिमी हाइट लगायत क्षेत्रमा साना कोलोनी विकास गर्ने क्रम बढेको देखिएको छ।

घरजग्गा व्यवसायीहरू एकातिर ठूलो प्लटको जग्गा पाउनै मुस्किल रहेको र पाए पनि अहिले कारोबार निक्कै सुस्ताएकाले धेरै घरको कोलोनी विकास गर्ने अवस्था नरहेको बताउँछन्।

स्युचाटार

घरजग्गा व्यवसायी सञ्जय थिङले थोरै संख्यामा घर बनाउनका लागि जग्गा पाइने र लगानी पर्ने धेरै नपर्ने भएकाले सानो कोलोनीतिर लागेको बताए।

‘अहिले उपत्यकाभित्र ठूलो हाउजिङका लागि जग्गा पाउनै मुस्किल छ। कि त अलिक टाढै जानुपर्छ। अर्को कुरा धेरै जग्गा लिएर घर बनाउन लगानी धेरै चाहिन्छ,’ थिङले भने, ‘बैंकबाट ऋण लिएर लगानी गर्न अहिले ब्याजदर सस्तो छ। तर घर बेच्न निक्कै गाह्रो छ अहिले। त्यसैले एक ठाउँमा ५/६ वटादेखि ८/१० वटा घर बनाउने काम गरिरहेको छु।’