काठमाडौं। अर्थ मन्त्रालयले देशको आर्थिक अवस्था सन्तोष गर्ने अवस्थामा नरहेको बताएको छ।
मन्त्रालयका दुई सचिवले संसदीय समितिमा मन्त्री विष्णु पौडेलकै सामुन्ने राजस्व संकलनदेखि लगानी विस्तारका दृष्टिले अर्थतन्त्र कमजोर अवस्थामा रहेको बताएका हुन्।
अर्थ समितिले मुलुकको आर्थिक अवस्था र विचाराधीन विधेयक अगाडि बढाउने विषयमा छलफलका लागि बुधबार राखेको बैठकमा अर्थसचिव डा. रामप्रसाद घिमिरेले बाह्य क्षेत्रका सूचक सकारात्मक रहेपनि आन्तरिक अर्थतन्त्र चलायमान बनाउने चुनाैती रहेको बताए।
उनले अहिलेसम्म पुँजीगत खर्च ११.२ प्रतिशत भएको तर त्यसलाई सन्ताेषजनक मान्न नमिल्ने बताए।
‘पुँजीगत खर्च ११.२ प्रतिशत भएकाे छ। तर याे सन्ताेषजनक हाेइन। गत वर्षकाे दायित्व भुक्तानी गर्दा विगतभन्दा सुधार आएकाे हाे,’ उनले भने, ‘बैंकिङ क्षेत्रकाे कर्जा अपेक्षा अनुसार बढ्न सकेन। बैंककाे ब्याजदर एकल अंकमा आउँदा पनि लगानी विस्तार भएन। आन्तरिक अर्थतन्त्र चलायमान बनाउने चुनाैती छ।’
चालु आर्थिक वर्ष पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएकामा अहिलेसम्म ३९ अर्ब ७५ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ। यस्तै नेपाल राष्ट्र बैंकले ऋण १२.५ प्रतिशतले विस्तार हुने लक्ष्य लिएकामा २ प्रतिशत माथि जान सकेको छैन।
सचिव घिमिरेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक छिटाे टुंग्याउन आग्रह गरे।
बैठकमा राजस्व सचिव दिनेश घिमिरेले लक्ष्य अनुसार राजस्व संकलन गर्न निक्कै मिहेनत गर्नुपर्ने अवस्था रहेको बताए। उनका अनुसार लक्ष्यकाे तुलनामा ७६.२४ प्रतिशतभन्दा राजस्व संकलन हुन सकेको छैन।
उनले घुमाउरो पारामा तस्करीका कारण राजस्व प्रभावित भएको बताए। ‘खुला सिमानाका कारण चुनाैती बेहोरिरहेको अवस्था छ,’ उनले भने।
राजस्व सचिव घिमिरेले वैदेशिक सहयाेगका आयाेजनामा भन्सार छुट दिएका कारण पनि राजस्वमा असर गरेको बताए।
‘राजस्वमा दिएको छुटका कारण समस्या देखिएकाे छ। दूरसंचार क्षेत्रबाट जुन राजस्व प्राप्त हुन्थ्याे, त्याे घट्दै गएकाे छ। बैंकिङ क्षेत्रकाे ऋण परिचालन नहुँदा उनीहरूकाे नाफा घटेर राजस्वमा असर देखियाे,’ उनले भने, ‘सरकारले लगानी गरेका ठूला पूर्वाधारबाट प्रतिफल आएन। पछिल्लो समय बाढीपहिराेले पनि राजस्वमा असर गर्यो।’
सरकारले चालु वर्ष १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा ५ महिना वित्न लाग्दा जम्मा ३ खर्ब ८९ अर्ब रुपैयाँ उठाएको छ।
राजस्वको लक्ष्यमा धक्का लागेपछि मन्त्रालयले नक्कली बिल बीजकमाथिको छानबिन अगाडि बढाएको छ। ‘हामी नक्कली बिल बीजकमा छानबिन गर्दै छौं। अन्तशुल्क स्टिकरकाे पनि समस्या छ,’ राजस्व सचिव घिमिरेले भने।
बैठकमा अर्थमन्त्री पौडेलको दल एमाले सांसद पदम गिरीले राजस्वकाे लक्ष्य र वास्तविकतामा किन यति धेरै अन्तर छ? भनी प्रश्न गरे।
उनले राजस्व लक्ष्य अनुसार संकलन नहुनुमा भन्सार कार्यालयमा हुने चलखेल मुख्य कारण भन्दै मन्त्री पौडेलसँग सोधे, ‘भन्सारका कुनै मेसिनले किन काम गर्दैनन्? भन्सारमा भइरहेको चुहावटलाई सरकारले किन अन्देखा गरिरहेकाे छ? कसकाे स्वार्थ लुकेकाे छ?’
सांसद गिरीले बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तार गर्न नसकेको विषयलाई गम्भीरतापूर्क लिन आग्रह गरे। ‘ऋण विस्तार नभए उद्याेग व्यवसाय धरासायी हुन्छ। अर्थतन्त्रमा ठूलाे समस्या आउँछ,’ गिरीले भने।