काठमाडौं। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हिरासत बसाइ लम्बिने भएको छ। साइबर अपराधमा पक्राउ परेका प्रसाईंमाथि एकपछि अर्को मुद्दामा अनुसन्धान अगाडि बढेपछि हिरासत बसाइँ लम्बिने भएको हो। उनीमाथि साइबर अपराध र आपराधिक लाभसँगै संगठित अपराधमा समेत अनुसन्धान अगाडि बढेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान सकेर सोमबार नै रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। प्रहरीको प्रतिवेदनमा प्रसाईंको कसुर प्रमाणित भएको भन्दै प्रतिवादी बनाउन सिफारिस गरिएको छ। अब सरकारी वकिल कार्यालयले थप अध्ययन गरेर निर्णय लिनेछ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले प्रसाईंसँग सोमबारदेखि बयान लिन थालेको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट संगठित अपराधमा पक्राउ पुर्जी र म्याद लिएर अनुसन्धान थालेको हो। संगठित अपराधमा प्रहरीले उनलाई ६० दिनसम्म हिरासतमा राख्न पाउँछ।
‘सोमबारबाट हामीले संगठित अपराधमा अनुसन्धान थालेका छौं। केही आपराधिक समूहसँग सम्पर्क देखिएपछि संगठितमा पनि अनुसन्धान सुरु गरिएको हो,’ सीइआबीका एसपी होविन्द्र बोगटीले भने।
प्रसाईं समूहले विभिन्न व्यापारीदेखि नेपाल राष्ट्र बैंकका कर्मचारीलाई समेत धम्क्याएको खुलेको छ। सामाजिक सद्भाव भड्काउने उद्देश्यसहित निश्चित समूहलाई निसाना बनाउँदै आएका प्रसाईंले व्यापारीलाई टेलिफोनमार्फत धम्की दिएको पाइएको हो।
आपराधिक समूहको नाम लिएर व्यवसायीलाई धम्काएको देखिएपछि उनीसँग जोडिएका झापा मेचीनगरका नवीन प्रधान भन्ने हरिशचन्द्र फुयाँललाई पक्राउ गरेर सीआइबीले अनुसन्धान थालेको थियो।
पक्राउ पर्नुअघि फुयाँलले भारतीय नम्बरबाट नेपालका व्यापारीदेखि अन्य व्यक्तिलाई एक सयभन्दा बढी पटक फोन गरेर धम्क्याएको देखिएको छ। उनले भारतीय आपराधिक समूह लरेन्स विश्नोइको नाम लिएर धम्काउने गरेका थिए।
उनले प्रसाईंलाई गालीगलौज गर्ने व्यक्तिलाई माफी माग्न लगाउनेदेखि ऋणको विषयमा धम्काउने गरेको सीआइबीको दाबी छ। फुयाँलले यसबापत प्रसाईंसँग ५ लाख रुपैयाँ लिएको अनुसन्धानमा खुलेको छ।
‘प्रसाईंले पाँच लाख रुपैयाँ दिएको देखिन्छ। अहिले यी विषयमा हामीले अनुसन्धान गरिरहेका छौं,’ एसपी बोगटीले भने।
प्रहरीले आपराधिक लाभको कसुरमा पनि अनुसन्धान गरेको छ। सीआइबी र साइबर ब्युरोले मात्र नभएर राष्ट्र बैंकले पनि उनीमाथि अनुसन्धान गरिरहेको छ।
राष्ट्र बैंक स्रोतका अनुसार प्रसाईंमाथि खराब कर्जा, शंकास्पद कारोबार र कर्जा नवीकरणलगायतको विषयमा अनुसन्धान भइरहेको छ।
‘राष्ट्र बैंकले पनि उनको शंकास्पद कारोबारमा अनुसन्धान गरिरहेको छ,’ स्रोतले भन्यो, ‘राष्ट्र बैंकको अनुसन्धानपछि प्रहरीले उनीमाथि थप अर्को मुद्दामा समेत अनुसन्धान गर्ने देखिन्छ।’
शंकास्पद कारोबार देखिएमा उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान हुनेछ। यदि प्रहरीले यो मुद्दामा अनुसन्धान थालेको खण्डमा प्रसाईँको हिरासत बसाइ थप एक महिना लम्बिनेछ। सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले आरोपीलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा ३२ अर्ब लगानी गरेको ‘फेक’ कागज सार्वजनिक गरेको भन्दै प्रहरीले प्रसाईंलाई मंसिर ४ गते भक्तपुरबाट पक्राउ गरेको थियो। प्रसाईं गत असोजमा पनि साइबर अपराधको मुद्दामा समातिएका थिए। अदालतको धरौटीमा उनी रिहा भएका थिए।