एफएनसीसीआई ८ वर्षपछि पुरानै व्यवस्थामा, अब अध्यक्षमा प्रत्यक्ष निर्वाचन, अन्जनपछि कार्यान्वयनमा आउने

बिजमाण्डू
२०८१ मंसिर २५ गते १८:३८ | Dec 10, 2024
एफएनसीसीआई ८ वर्षपछि पुरानै व्यवस्थामा, अब अध्यक्षमा प्रत्यक्ष निर्वाचन, अन्जनपछि कार्यान्वयनमा आउने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा एक कार्यकालपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने भएको छ।

Tata
GBIME
NLIC

महासंघको मंगलबार भएको विशेष साधारण सभाले वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठपछि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छान्ने गरी विधान संशोधन गरेको छ। विशेष साधारण सभाले विधान सर्वसम्मत रुपमा संशोधन गरेको हो।

एफएनसीसीआई ८ वर्षपछि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छान्ने प्रणालीमा फर्किएको छ।

एफएनसीसीआईको स्थायी समिति र कार्यसमितिले दुई कार्यकालपछि मात्रै अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्ने गरी विधान संशोधनको निर्णय गरेको थियो।

तर साधारण सभामा अधिकांश सदस्यले श्रेष्ठपछि नै अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने धारणा राखे। वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले दुई कार्यकालपछि मात्रै अध्यक्षमा प्रत्यक्ष निर्वाचन प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने आवाज उठाएका थिए।

अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश सदस्यहरुको धारणाका आधारमा विधान संशोधनको प्रस्ताव राखे। श्रेष्ठपछि अध्यक्ष प्रत्यक्ष निर्वाचबाट चुन्ने गरी ढकालले राखेको विधान संशोधनको प्रस्ताव विशेष साधारण सभाले सर्वसम्मत रुपमा पारित गरेको हो।

अब वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान हटेको छ।

अध्यक्षमा प्रत्यक्ष निर्वाचन धेरै खर्चिलो र भड्किलो बनेको भन्दै वरिष्ठ उपाध्यक्षबाट स्वत: अध्यक्ष हुने प्रावधान राखिएको थियो। २०७३ सालमा एफएनसीसीआईको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान राखिएको थियो। विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत: अध्यक्ष बनेकी थिइन्।

यो प्रावधानले अध्यक्षमा निर्वाचन नभए पनि वरिष्ठ उपाध्यक्षमा त्यस्तै भड्किलो रुपमा खर्च गर्ने प्रवृति देखिएपछि एफएनसीसीआई पुरानै व्यवस्थामा फर्किएको हो।

अध्यक्ष ढकालले साधारण सभाअघि पूर्वअध्यक्षहरुसँग पनि राय लिएका थिए। र्‍याडिसन होटलमा दुई साताअघि भएको छलफलमा पूर्वअध्यक्षहरु पनि एक कार्यकाल र दुई कार्यकालका विषयमा विभाजित थिए।

विशेष साधारण सभाले कार्यसमितिको कार्यकाल दुई वर्ष मात्रै हुने प्रस्ताव पनि पारित गरेको छ। स्थायी समिति र कार्यसमितिले कार्यकाल तीन वर्ष बनाउने निर्णय गरेको थियो।

साधारण सभामा बोल्नेहरुले तीन वर्षे कार्यकाल लामो हुने भन्दै दुई वर्ष नै उपयुक्त हुने धारणा राखेका थिए। साधारण सभाले जिल्ला नगरमा दुई जना उपाध्यक्ष हुने व्यवस्थासहित विधान संशोधन गरेको छ।

एफएनसीसीआईमा ५० प्रतिशतभन्दा बढी मतभार रहेको जिल्ला नगरबाट यसअघि एक कजना उपाध्यक्ष चुनिन्थे। मतभार धेरै रहेका कारण जिल्ला नगरतर्फ दुईजनालाई उपाध्यक्ष बनाउनुपर्ने दबाब थियो। त्यही दबाबका कारण विधान संशोधन भएको हो।

एफएनसीसीआईमा दुई जना वरिष्ठ उपाध्यक्ष बनाउने प्रस्ताव भने अस्वीकृत भएको छ। जिल्लानगर र वस्तुगत तथा एसोसिएटबाट दुईजनालाई वरिष्ठ उपाध्यक्ष बनाउने प्रस्ताव साधारण सभाबाट अस्वीकृत भएको हो।