सात किलोमिटर हिँडेर गढीमाईको यात्रा, भाकल पूरा गर्न मन्दिरमा पशुपन्छी लिएर पुग्नेको भिड

प्रवीण रानाभाट
२०८१ मंसिर २४ गते १९:१९ | Dec 9, 2024
सात किलोमिटर हिँडेर गढीमाईको यात्रा, भाकल पूरा गर्न मन्दिरमा पशुपन्छी लिएर पुग्नेको भिड

बारा । आइतबार बिहानैदेखि बारामा निकै हुस्सु लागेको थियो। चिसो बीच पनि अत्याधिक संख्यामा मानिसहरु बारा पुगिरहेका थिए। उनीहरुको अन्तिम गन्तव्य थियो : बाराको बरियापुरकै गढीमाई मन्दिर। घण्टौं हिँडेर मानिसहर आआफ्नो भाकल पुरा गर्न त्यहाँ पुगिरहेका थिए। अधिकांश परिवार सहित नै मन्दिरतर्फको यात्रामा थिए। धेरैको साथमा थियो मन्दिरमा बलि चढाउन पशुपन्छी।

Tata
GBIME
NLIC

मानिसहरु करिब ७ किलोमिटर यात्रा गर्दै मन्दिर पुग्ने प्रयासमा रहँदा हामी पनि उनीहरुकै साथमा थियौं। भिड सँगसँगै मन्दिर क्षेत्रमा पुग्दा भने दृश्य फरक पायौं।

पूजा सकिएपछि पशु बलि दिनका लागि युवादेखि वृद्धहरु खुकुरी र तरबारलाई धार लगाउन त्यहाँ व्यस्त देखिन्थे। यसपटक करिब ३०० जना व्यक्तिले यसरी पशु बध गर्न लाइसेन्स पाएका थिए। हतियार पूजा गरिसकेपछि लाइसेन्स प्राप्त व्यक्तिहरुलाई मन्दिर परिसरमा रहेको बधस्थलमा प्रवेश गर्न दिइएको थियो।

बलिका लागि खुकुरीमा धार लगाउँदै

बध हेर्न प्रत्यक्ष रुपमा रोक्न १० फिट अग्लो पर्खाल बनाइएको थियो। प्रहरीहरु पनि अत्याधिक संख्यामा परिचालन गरिएको थियो। त्यसबीच पनि हजारौं संख्यामा मानिसहरु मन्दिर परिसरमा भित्रिन तछाडमछाड गरिरहेका थिए।

पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार यस वर्ष करिब १० हजारभन्दा राँगाको बढी दिइसकेको छ।

पञ्चबलि दिने स्थान

यो मेला भर्न एक सातादेखि नै मानिसहरु मन्दिर वरिपरि टेन्ट नै लगाएर बस्न पुगेका थिए। कोही खुला आकाश मुनि खाना पकाउन व्यस्त देखिन्थे। यो सिलसिला मंगलबारसम्म जारी नै रहन्छ।

खुकुरीसहित बधशालातर्फ जाँदै युवकहरु

+++

हरेक पाँच वर्षमा बाराको बरियारपुरमा गढीमाई मेला लाग्ने गर्छ। यो वर्ष पनि गढीमाई मेला भर्न लाखौं संख्यामा मानिस बारा पुगिरहेका छन्। गढीमाई मेलामा सहभागी हुन नेपालबाट मात्र नभइ भारतबाट उल्लेख्य संख्यामा भक्तजन बारा पुगिरहेका छन्। सीमावर्ती सहरहरु रक्सौल, आदापुर,घोडासहन तथा पर्साको सीमानाका भिस्वा, जानकी टोल, प्रसौनी भाठालगायत नाकाबाट पनि श्रद्धालुहरू मेला बारामा ओइरिएका छन्।

मन्दिर बाहिर कुरिरहेका भक्तजन

कलैयादेखि बरियापुरमा दुई पांग्रे मोटरसाइकल, तीन पांग्रे अटोरिक्सा, ई–रिक्सा, जीप, कार, भ्यान, बस, मिनीबस, ट्रकलगायतका सवारीसाधनमा चढेर मन्दिरको दर्शन गर्न आउनेको घुइँचो छ। आर्थिक रुपमा पनि यो ठाउँ अहिले चलायमान देखिन्छ।

ग्रामीण भेगका दर्शनार्थीहरु त ट्र्याक्टर रिजर्भ गरेर आउने गरेका छन्।

पाँच वर्ष अघि करिब ५० लाख मानिस गढीमाई मेला हेर्न आएको बताइन्छ। यो वर्ष संख्या थप बढ्ने अनुमान छ।

यो मेलाको मुख्य आकर्षण भनेकै पशुबलि हो। आइतबार बिहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो। आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो।

बलिका लागि छुट्याइएको मैदान

आज पनि बिहानैदेखि बोका बलि चढाउने काम भयो। मेलामा राँगा र बोकासहित परेवा, मुसा, हाँस र कुखुराको बलि पनि दिइन्छ। यो मेलामा पशुबलि घट्ने क्रम बढ्दो छ। सीमावर्ती भारतीय सहरबाट भाकल पुरा गर्न पशुसहित पुग्नेहरुलाई रोक लगाइएको छ।

तर पनि खुला सीमा हुँदै धेरै मानिस पशुसहित बारा पुगिरहेका छन्।

‌‌‌+++

आइतबार गढीमाई मेलाको मुख्य दिन थियो। आज पनि हजारौं संख्यामा मानिस त्यहाँ पुगे। भोलिसम्म पनि यसरी नै मानिसहरुको लामो यात्रा जारी नै रहन्छ।

१० फिट अग्लो पर्खालमा चढेर भिड व्यवस्थापनमा प्रहरी
बधस्थलको ड्रोन तस्विर
मन्दिर बाहिर कुरिरहेका भक्तजन

यात्रा चलिरहँदा ठाउँ ठाउँमा राखिएका स्पिकरहरुबाट ‘सूचना’ आइरहेको थियो। जसमा मानिसहरुले बाटो बिराएको भन्दै आफन्तहरुलाई सम्पर्कमा आउन भनिएको थियो।

हामी हिँड्दै फर्किने क्रम पनि यस्तै सूचना स्पिकरबाट बज्ने क्रम रोकिएको थिएन।

मन्दिरबाट करिब डेढ घण्टा हिँडेर हाइवे पुगिए पनि त्यहाँबाट गाडी पाउन हम्मे हम्मे थियो। ट्राफिक व्यवस्थापनका लागि धेरै ट्राफिक प्रहरी खट्याइए पनि त्यहाँ व्यवस्थापन गर्ने निकै गाह्रो थियो। जाँदा सात किलो मिटर हिँडेरै मन्दिर पुगिएको थियो। फर्कँदा बीचबाटोमै जसोतसो गाडी पाइए पनि हामीलाई पनि करिब ७ किलोमिटरको बाटो छिचोलेर कलैया पुग्न ३ घण्टाभन्दा बढी समय लाग्यो।

जब जब गढीमाई मेला लाग्छ तब तब पशु अधिकारको कुरा उठ्ने गर्छ। यो वर्ष पनि त्यसबारे बहस भने जारी नै छ। हामी फर्किँदा सम्म पनि धेरै संख्यामा मानिसहरु पशुसहित मन्दिर गइरहेका थिए। यद्यपि, स्थानीयहरु भने पछिल्लो एक दशकदेखि बलि दिने आउनेको संख्या घट्दै गएको बताउँछन्।

गढीमाई मन्दिर
मन्दिरमा दर्शन गर्नेको भिड
ड्रोनबाट देखिएको मन्दिर परिसर