भन्सार घटेपछि आयात गरिएको ५० किलो सुन एक सातादेखि बैंकमै होल्ड, यस्तो छ कारण

बिजमाण्डू
२०८१ मंसिर २४ गते १४:५५ | Dec 9, 2024
भन्सार घटेपछि आयात गरिएको ५० किलो सुन एक सातादेखि बैंकमै होल्ड, यस्तो छ कारण

काठमाडौं। भन्सार घटेपछि आयात गरिएको ५० किलो सुन एक सातादेखि बैंकमा होल्ड भएको छ। नेपाल बैंकर्स संघको सिफारिसमा आयात गरिएको सुन एक सातादेखि बैंकमा नै होल्ड भएको हो।

Tata
GBIME
NLIC

बैंकले उपत्यकाका लागि भनेर आयात गरेको सुन सर्वोच्च अदालतको आदेश अनुसार राष्ट्र बैंकले नयाँ निर्णय नगरेका कारण वितरण नभएको बैंकर्स संघले जनाएको छ।

सर्वोच्चले सिफारिस विना व्यवसायीले बैंकबाट सिधै सुन खरिद गर्न पाउने आदेश दिएको तर राष्ट्र बैंकले नयाँ सर्कुलर जारी नगरेका कारण बैंकले सुन बिक्री गर्न नसकेको बैंकर्स संघका एक कर्मचारीले बताए।

‘बैंकले व्यवसायीलाई बेच्न पाउने सुनको परिमाणबारे कुनै निकायले पनि निर्णय गरेका छैनन्। यसले गर्दा होल्ड हुन पुगेको हो,’ ती कर्मचारीले भने।

बैंकले यसअघि नेपाल सुनचाँदी व्यवसायीको सिफारिसमा मात्र सुन बेच्दै आएका थिए। नेपाल सुनचाँदी व्यवसायी महासंघले भने उपत्यकाका लागि ल्याएको सुन बिक्री नगरी राख्नु पर्ने कारण नरहेको बताएको छ।

सरकारले दुई साताअघि सुनको भन्सार २० बाट १० प्रतिशतमा झारेपछि प्रति तोला भाउ १६ हजार रुपैयाँ घटेको थियो। त्यसपछि बैंकले पहिलो चरणमा ५० किलो आयात गरेका हुन्।

भन्सार घटाउनुअघि करिब ५ महिना भारतबाट अवैधरुपमा आयात गरिएको सुनले बजारको माग धानेको थियो।