काठमाडौं। उद्योगीहरुले सिमेन्टको भाउ फेरि बढाएका छन्। १० दिनअघि मात्रै महिना दिनको अन्तरालमा झण्डै १२५ रुपैयाँसम्मले बढेको सिमेन्टको मूल्य आइतबार फेरि बढाइएको हो।
विभिन्न ब्राण्डका सिमेन्ट उत्पादन गर्ने उद्योगीहरुले पीपीसीमा प्रति बोरा ५० रुपैयाँ र ओपीसीमा प्रति बोरा ३० रुपैयाँसम्म वृद्धि गरेका छन्। निर्माणको पिक सिजनमै उद्योगीहरुले सिमेन्टको मूल्य लगातार बढाउँदै लगेका छन्। निर्माणको सिजनमै सिमेन्टको मूल्य आकासिंदै गएपछि संरचना निर्माणको लागत पनि बढ्दै गएको छ।
निर्माण व्यवसायीहरुले सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरेर मूल्य बढाइरहेको आरोप लगाइरहँदा सम्राट सिमेन्टका अध्यक्ष अनिलकुमार रुगटाले भने निर्माणको सिजनसँगै सिमेन्टको डिमान्ड बढ्दै गएकाले भाउ बढेको जिकिर गरेका छन्। सिमेन्ट बिक्री नभएर स्टकमा बसेपछि उद्योगीहरुले उद्योग चलाउने समय घटाएकामा अहिले भने अधिकांश उद्योगीले भाउ बढाउँदै लगेका छन्।
‘यो त निर्माणको सिजन नै हो। माग बढेपछि भाउ बढिहाल्छ नि। विकास निर्माणका गतिविधि बढेपछि भाउ बढेको हो। अरु कारण छैन,’ रुगटाले भने।
सिमेन्टको मूल्य बढेसँगै बजारमा विभिन्न ब्राण्डका पीपीसी सिमेन्टको भाउ ७ सय रुपैयाँ हाराहारी पुग्दा ओपीसी सिमेन्टको ८ सय रुपैयाँ नाघेको छ। दसैंअघिसम्म विभिन्न ब्राण्डका पीपीसी सिमेन्टको भाउ ५१०-५१५ रुपैयाँ हाराहारी रहेकामा ओपीसी ६०० देखि ६१० हाराहारी थियो। तर, निर्माण सिजन भन्दै उद्योगीहरुले भाउ बढाउँदै लगेका छन्।
निर्माणमा शिथिलताले उद्योगहरुले ३०-४० प्रतिशत हाराहारीमा चलिरहेको बताउँदै आएका उद्योगीहरुले निर्माण सिजनमा गतिविधि बढेर सिमेन्टको माग बढेको भन्दै भाउ बढाएका छन्। तर, सरकारी तथ्यांक हेर्ने हो भने शनिबारसम्म पुँजीगत खर्च जम्मा ३९ अर्ब रुपैयाँ भएको छ। अर्थ मन्त्रालयको महालेखा नियन्त्रक कार्यालयका अनुसार यो कुल लक्ष्यको जम्मा ११.१२ प्रतिशत मात्रै हो।
चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ। तर, झण्डै ५ महिना बित्न लाग्दा पनि सरकारको पुँजीगत खर्च निकै निराशाजनक अवस्थामा देखिन्छ।
सिमेन्ट सबैभन्दा बढी खपत हुने क्षेत्र निर्माण क्षेत्र सुस्त छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आर्थिक गतिविधि सुस्त हुँदा निर्माण क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले मात्रै बढेको छ। यस्तो अवस्थामा सिमेन्टको माग बढ्यो भनेर भाउ बढाउन त्यति उपयुक्त देखिंदैन।
त्यसैगरी, वाणिज्य बैंकहरुले आवासीय घर निर्माणलाई भनेर अवसरै अवसरसहित ‘होम लोन’का स्किम ल्याएका छन्। आवासीय घर निर्माण सिमेन्ट खपत हुनेमध्येको ठूलो क्षेत्रमा पर्छ। तर, बैंकरहरुले भने घरजग्गाको कारोबार नै सुस्त रहेको भन्दै विभिन्न आकर्षक स्किम ल्याए पनि ऋण प्रवाह हुन गाह्रो भइरहेको बताइरहेका छन्। राष्ट्र बैंकले घरजग्गामा लिएको लचक नीतिसँगै सस्तो ब्याजदरमा ऋण लिएर पनि घर निर्माण सुस्त रहेको स्थितिमा सिमेन्टको माग बढ्यो भन्नु त्यति जायज देखिंदैन।
त्यसमाथि निर्माणको सिजनमा समेत घरजग्गा कारोबारमा सुधार देखिएको छैन। मालपोतका कर्मचारी नै बेकामे भइरहेको स्थितिमा सिमेन्ट उद्योगको मुख्य बजार रियल इस्टेट नै ग्रस्त छ।