काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार पहिलो खेलमा लुम्बिनी लायन्सलाई हराएसँगै सुदूरपश्चिम रोयल्सले एनपीएलका ब्याकटूब्याक तीन खेलमा जित निकाल्यो। अर्कोतर्फ एनपीएलमा जित निकाल्न नसकेको एकमात्र टोली हो लुम्बिनी लायन्स।
लुम्बिनीले पहिलो खेलमा विराटनगर, दोस्रो खेलमा पोखरा एभेन्जर्स र तेस्रो खेलमा आज सुदूरपश्चिम रोयल्ससँग पराजय ब्यहोर्यो।
‘हाम्रीले पक्कै राम्रो प्रदर्शन गरेका छैनौँ पछिल्ला तीन खेलमा। पहिलो खेल धेरै क्लोज थियो, हामीले त्यो जित्नुपर्थ्यो,’ लुम्बिनी लायन्सका प्रशिक्षक नन्दन फडनिसले भने, ‘हिजो पनि राम्रो भएन। आज पनि राम्रो भएन। केही फेजमा हाम्रो मोमेन्टम थियो तर हामीले पावरप्ले भित्रै पाँचविकेट गुमायौँ।’
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमसँगको पराजयपछि लुम्बिनीका भारतीय प्रशिक्षक नन्दन फडनिसले फरक प्रसङ्गमा दीपेन्द्रसिंह ऐरीले आईपीएल खेलिसकेको हुनुपर्ने बताए।
कुन खेलाडी आईपीएलमा देख्न सकिएला? भन्ने प्रश्नमा उनले दुई नेपाली खेलाडीको नाम लिए।
‘धेरै जना खेलाडी छन्। यसमध्ये सबैभन्दा माथि दीपेन्द्र छन्। मेरो हिसाबले उनले आईपीएल खेलिसकेको हुनुपर्ने हो,’ उनले भने, ‘त्यसबाहेक रोहित छन्, गुल्सन छन्। मैले दुईतीन जनाको नाम लिएँ तर धेरै खेलाडीहरु छन्।’
उनले एक वर्ष नेपालको राष्ट्रिय टोलीसँग रहेको बताउँदै यहाँ धेरै ट्यालेन्ट खेलाडीहरु भएको बताए।
‘उनीहरुले जति एक्सपोजर पाउँछन् उनीहरुलाई त्यतिनै आत्मविश्वास आउनेछ। एनपीएल उनीहरुको लागि राम्रो प्लाटफर्म हुनेछ। राम्रा विदेशी खेलाडीसँग खेल्न पाउनेछन्। यसले धेरै ग्रोथ हुनेछ।’ उनले भने।
लुम्बिनीको खासगरी बलरको प्रदर्शनबाट उनी खुशी छैनन्।
‘हामी हाम्रो योजनालाई कार्यान्वयनमै लैजान सकिरहेका छैनौँ। युवा बलरहरु छन्, युवा घरेलु खेलाडीहरु छन्। उनीहरुलाई एकैपटक ठूलो प्रदर्शन गर्न कठिन हुन्छ। मेरो काम उनीहरुले राम्रो पर्फम गरुन भनेर इन्योर गर्ने हो।’ उनले भने।
लुम्बिनीले चौथो खेल जनकपुरसँग खेल्दैछ। टोलीको हालसम्मको सकारात्मक पक्ष उनी रोहित पौडेल र विवेक यादवको ब्याटिङलाई मान्छन्। तर, लगातार तीनखेलमा सहज जित निकालेको जनकपुरको टोलीबारे पनि उनी सजग छन्।
‘भोली जनकपुरसँग खेल्दैछौं। यो टोली बलिङ र ब्याटिङ दुबैमा बलियो टोली छ। खेलमा जित निकाल्नेमा विश्वस्त रहँदै प्रतियोगितामा कायम रहनेमा आशावादी छौँ,’ उनले भने, ‘हामीले एकपटकमा एउटा खेललाई मात्र सोचिरहेका छौँ। यो खेल सकियो। हामी बसेर के कमजोरी भयो भन्ने छलफल गर्नेछौँ। र, भोलिको खेलमा केन्द्रित हुनेछौँ।’
लगातार हरेक दिन खेलपर्दा योजना बनाउन समस्या भइरहेको उनले बताए। आजको खेलमा भने चाँडो विकेट गुमाउँदा खेलमा फर्कन नसकेको बताए। ‘हामीले चाँडो विकेट गुमायौँ। उनीहरुले बल पनि राम्रो गरे। कसैलाई ब्लेम गर्न सजिलो हुन्छ। हरेक खेलमा स्कोर हुन्छ भन्ने पनि हुँदैन,’ उनले भने, ‘बलिङबाट सन्तुष्ट छैन। हामीले उनीहरुलाई १५० रनभित्र रोक्नु पर्थ्यो।’
सम्बन्धित समाचार: सुदूरपश्चिमका सैफको सानदार अर्धशतक, लुम्बिनीलाई १ सय ८८ रनको लक्ष्य
सम्बन्धित समाचार: सुदूरपश्चिम रोयल्स टस हारेर ब्याटिङ गर्दै, दुई हारले दवाबमा छ लुम्बिनी लायन्स
सम्बन्धित समाचार: विवेकको विस्फोटक ब्याटिङले टारेन लुम्बिनीको तेस्रो हार, सुदूरपश्चिमको अपराजित यात्रा कायमै