काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ प्रवर्धन गर्ने वार्षिक अभियानको छैठौं संस्करण सुरु भएको छ। ‘सहजता को नयाँ परिभाषा उपहार सँगै’ नाराको साथ यो वर्षको अभियान सुरु गरिएको हो।
अभियानमा बैंकका ग्राहकलाई डिसेम्बर महिनाभरी डिजिटल बैँकिङ अपनाउन प्रोत्साहन गर्न कार्यक्रमहरु संचालन गरिनेछ। यस अवसरमा विभिन्न अफरहरु प्रदान गरिनुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरु पनि गरिने बैंकले जनाएको छ।
यस अभियानमा ग्राहकहरुलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरुको बैँकिङ अनुभव सरल बनाउनका विभिन्न योजनाहरु सार्वजनिक गरिएको छ।
सरलीकृत कर दाखिला अन्तर्गत डिसेम्बर महिनाभरी मोबाईल मनी मार्फत आफ्नो स्थायी लेखा नम्बर वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरि १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरुले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्ने योजना ल्याइएको छ। आफ्नो खातामा यसरी स्थायी लेखा नम्बर वा राष्ट्रिय परिचयपत्र अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरु पनि हुने बैंकले जनाएको छ।
सहज बिजुली बिल भुक्तानी अन्तर्गत मोबाईल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिस-कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्ने बैंकले जनाएको छ। मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरुले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन्।
यस्तै, क्रेडिट कार्डमा विशेष अफर अन्तर्गत तोएको योग्यता पुगेका ग्राहकहरुले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउने बैंकले जनाएको छ।
यससँगै क्रेडिट कार्ड ग्राहकहरुले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढिको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दिहरुमा विभाजन गर्न सक्ने भएका छन्।
यस्तै, अन्तर-बोर्डर भुक्तानी सेवा अन्तर्गत लक्ष्मी सनराइज बैंकका क्यूआर सेवाग्राही व्यवसायीहरुले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन्।
बैंकले यस अभियानको एक मुख्य भाग ‘डिजिटल संवाद’ पनि रहेको उल्लेख गरेको छ। जस अन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरु सँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्नेछ। यी कार्यक्रमहरु वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा र नविनतम डिजिटल बैंकिङ सुविधाहरू लगायतका विषयहरुमा केन्द्रित हुनेछन्।
यस्तै चेतनामूलक पहलहरूसँग विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरुको माध्यमबाट यस अभियानले डिजिटल बैंकिङलाई सबैका लागि थप सुलभ, सुविधाजनक र सुरक्षित बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ।