रवि लामिछानेलाई चितवनबाट पोखरा पुर्‍याइयो, राति लगेकोमा रास्वपाको आपत्ति

बिजमाण्डू
२०८१ मंसिर २० गते ११:०२ | Dec 5, 2024
रवि लामिछानेलाई चितवनबाट पोखरा पुर्‍याइयो, राति लगेकोमा रास्वपाको आपत्ति


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बिहानै पोखरा पुर्‍याइएको छ।

Tata
GBIME
NLIC

बुधबार राति ९ बजेसम्म चितवन जिल्ला सरकारी वकिल कार्यालयमा बयान गरिएको थियो। त्यसपछि बयान सकिएको भन्दै राति नै गाडीमा पोखरा लगिएको हो। रास्वपा नेताले भने राति-राति पोखरा ल्याएको विषयमा आपत्ति जनाएका छन्।

उनलाई मंगलबार बिहान काठमाडौंबाट बयानका लागि चितवन लगिएको थियो। सोही दिन साढे १२ बजेबाट बयान लिएको थियो।

बुधबार पनि रातिसम्म बयान लिएको हो। चितवनको साहारा सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएपछि प्रहरीले अनुसन्धानका लागि उनलाई चितवन लगेको हो।

रवि लामिछानेलाई कात्तिक २ गते सहकारी ठगीमा पक्राउ गरिएको हो। कास्कीको सूर्यदर्शन सहकारीदेखि हालसम्म वीरगंजको सानो पाइला सहकारीसम्म लामिछानेमाथि अनुसन्धान भइरहेको छ। हालसम्म रुपन्देही, चितवन, कास्की र काठमाडौंमा बयान भइसकेको छ।

बुधबार नै जिल्ला प्रहरी कार्यालय पर्साबाट पनि पक्राउपुर्जी जारी भएको छ। अब प्रहरीले उनलाई बयानका लागि पर्सा पुर्‍याउने छ। लामिछानेमाथि संगठित र सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान भइरहेको छ।